चितवन : नेपाल आदिवासी जनजाति महासंघको चितवनमा जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि हुने निर्वाचनका लागि नेकपा एमालेइतरका राजनीतिक पार्टीहरुबीच गठबन्धन भएको छ ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत संघीय समाजबादी पार्टी, माओवादी क्रान्तिकारी र नयाँ शक्ति पार्टीसमेतले आपसी सहमति गरी एमालेबिरुद्ध गठबन्धन तयार गरेका छन् ।
गठबन्धनको छलफलले उम्मेदवारहरुको पनि छिनोफानो गरिसकेको छ । जस अन्तर्गत अध्यक्ष पदका लागि कांग्रेसबाट जगत बारम्बा र महासचिवका लागि संघीय समाजबादीबाट नित्यानन्द ताजपुरियाको उम्मेदवारी निश्चित भएको छ । माओवादी केन्द्रले कोषाध्यक्ष र माओवादी क्रान्तिकारी तथा नयाँ शक्तिले सदस्य पद पाउनेछन् ।
यता एमालेको तर्फबाट सूर्यबहादुर भुजेल अध्यक्षका उम्मेदवार बन्ने भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारहरुको टुंगो लागिनसकेको बताइएको छ ।
महासंघको बिधानमा १३ सदस्यीय सचिवालय सदस्यको व्यवस्था रहेकोमा संशोधन गरी संघीयताको खाकामा १९ सदस्यीय बनाउने तयारी भइरहेको बताइएको छ ।
नारायणगढको नारायणी कलामन्दिरमा जारी महाधिवेशनमा बिभिन्न प्रतिबेदनमाथि छलफल भइरहेको छ र आजै अबेरसम्म भएपनि नेतृत्वको निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको बताइएको छ ।
महाधिवेशनमा २२ बिदेश शाखा, ७१ जिल्ला समन्वय परिषद र ६५ वटा महासंघ आवद्ध जातीय संस्थाबाट गरी ४२२ जना प्रतिनिधि पर्यवेक्षक सहभागी भएको महासंघका महासचिव पेम्बा भोटेले जानकारी दिए ।
-अनलाइनखबरबाट