चिरञ्जिबी घिमिरे
दमक : झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवी जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको २० वर्ष नाघेपनि अहिलेसम्म सडकमा सवारी साधन गुड्न सकेको छैन। सडकको निर्माणका लागि नेपाल सरकारले अहिलेसम्म २० करोड भन्दा बढी रकम खर्च गरेपनि सडकको अवस्थामा जस्ताको तस्तै छ।
सडक निर्माण उपभोक्ता समितिको नेतृत्व चयनका लागि स्थानीय निकायको झल्को दिने गरि निर्वाचन हुने गरेको छ भने सडक निर्माणको काममा कुनै प्रगति हुन सकेको छैन। दमक क्षेत्रसँग भविष्य जोडिएको दमक रवि चिसापानी सडक निर्माण नहुँदा यात्रुवाहक, मालवाहक सवारीसम्म रतुवा खोलाको बाटो भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
राजमार्गबाट कच्ची ट्रयाक खोल्ने काम पुरा भएपनि दमकदेखि इलामको धर्तिदाभानसम्मको १५.३ किलोमिटर सडकको दूरी रतुवा खोला हुँदै तय गर्नुपर्ने बाध्यता रहेको छ। सडकको २०४९ सालमा मसिर ६ गतेदेखी प्रारम्भिक सर्वेक्षण गरिएको थियो। निर्माण सुरु भएको वर्षौ बित्दा पनि निर्माण कार्य सम्पन्न पुरा नभएपछि दमक रवि चिसापानी सडकको लागत ५ गुणाले बढेको सडक निर्माण उपभोत्ता समितिका अध्यक्ष रेवतराज पूरीले बताए।
गत वर्षमात्र नेपाल सरकारले यस सडकलाई १२ वर्षे योजना अन्तर्गत प्राथमिकता नम्बर एकमा राखेर करिब १० करोड बजेट विनियोजन गरेको अध्यक्ष पूरीले बताए। अध्यक्ष रेवतराज पूरीले भने- ‘हामीले गत वर्षमात्र यो सडकलाई बहुबर्षे योजनामा पार्न सफल भएका छौँ, यस अघिसम्म बजेट ढिला आउदा काम हुन सक्दैनथ्यो। अब चाडै यो सडक निर्माण हुन्छ।’ अब बजेटका कारण काममा कुनै ढिला नहुने पनि उनले बताए।
उनले भने- ‘पहाड जाने बाटो हो, यसको ट्रयाक खन्न पनि धेरै गाह्रो छ, हिँउदमा खन्दा वर्षामा बगाउँछ, तर यसपटक हामी बेलैबाट लागेका छौँ त्यसैले अब चाडै सडक निर्माण हुन्छ।’ खोलाको बाटो भएर सवारी सञ्चालन हुँदा बाढीले बगाउने वा गाडी फस्न सक्ने सम्भावना रहेको सवारी चालक खगेन्द्र विश्वकर्माले बताए।
बर्खाको समयमा त्यहाँको प्रत्यक्ष ब्यापारीक केन्द्र दमकसँगको सम्बन्धविच्छेद हुने गरेको छ। वर्खामा यातायात सञ्चालन नभएसँगै त्यहाँका लागि चाहिने दैनिक उपभोग्य सामाग्री नै नपाइने गरेको स्थानीय चिसापानीका ब्यवसायी अर्जुन राइले बताए। ‘बर्खा लागेपछी सामाग्री नै ल्याउन मुस्किल हुन्छ, केही स्टक रहेका सामानहरुले वर्खा भरि नै थाम्दैन’, उनले भने- ‘हिउँदमा त खोलाको बाटो भएर पनि सवारी सञ्चालनमा आउँछ।’
निर्माण सुरु भएको २० वर्षसम्म सडक निर्माण सम्पन्न हुन नसक्नु यहाँका जनताको दुर्भाग्य भएको उनको भनाइ छ। उनले भने- ‘बाटो अनुगमन गर्न भनेर ठुला-ठुला मान्छे आउने जाने धेरै भयो, यहाँका मानिसलाई सपना मात्र देखाएर जान्छन् काम चाँही कसैले गर्दैनन्।’ सडकमा खाल्डा र खोलाको बाटे भएर यात्रा गर्नु पर्दा खोलामा भएको ठूला–ठूला ढुङ्गाका कारण बिचैमा सवारी बिग्रिएर अलपत्र पर्ने गरेको चालक विशाल राईले बताए।
राजमार्ग निर्माणमा रेख–देखको जिम्मेवारी लिएको २ नम्वर सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवका अनुसार हालसम्म २० करोड भन्दा वढी खर्च भइसकेको छ। कच्चि ट्रयाकको जोड्ने काम समेत केही स्थानमा वाँकी रहेकाले यातायात सञ्चालन हुन नसकेको उनले बताए।