इलाममा १० स्थानीय तह

ilam-10
यसअघि जिल्लाका राजनैतिक दलहरुको सहमतिमा प्रस्तावित १० क्लस्टरको खाका । अहिले प्रस्ताव गरिएको खाका योसँग मिल्लौजुल्दो छ ।

विप्लव भट्टराई

इलाम : इलाममा स्थानीय निकाय पुर्नसंरचनाका लागि १० खाका प्रस्ताव गरिएको छ । पुर्नसंरचना आयोगले नयाँ मापदण्ड बमोजिम पुनः खाका प्रस्ताव गर्न निर्देशन दिए पछि जिल्लास्थित स्थानीय निकाय पुर्नसंरचना प्राविधिक सहयोग समितिले नयाँ  प्रस्ताव तयार पारेको हो । यसअघि समितिले आठ र १० वटाको क्लष्टरसहितको खाका आयोगमा पठाएको थियो । पछिल्लो पटक तयार पारिएको खाका यसअघि प्रस्तावित दश क्लष्टरसँग मिल्दोजुल्दो छ ।

समितिका अनुसार राजनीतिक दलहरुको सहमतिमा नयाँ खाका तयार पारिएको हो । ४३ गाविस र तीन नगरपालिका रहेको जिल्लामा छ गाउँपालिका र चार नगरपालिका रहने छन् । ‘पछिल्लो खाकामा सवै दलले सहमति जनाएका छन्,’ स्थानीय विकास अधिकारी एवं समितिका संयोजक मदन कोइरालाले भने, ‘यसअघि नै ठूलो गृहकार्यवाट क्लष्टर निर्धारण भएकाले पछिल्लो पटक छिटो सहमति बनेको हो ।’

इलाम नगरपालिका सहित यसअघि घोषित सूर्योदय र देउमाईबाहेक माई नगरपालिका थपिने भएको हो । पुराना तीन वटै नगरपालिकामा भूगोल र जनसंख्या थपिएको छ । अहिले प्रस्तावित गाउँपालिकामा २० हजार आठ सय २० जनसंख्यासहित फाल्गुनन्द, १८ हजार पाँच सय तीनसहित माङ्सेवुङ, २१ हजार छ सय १९ सहित फाकफोकथुम, २१ हजार ४४ जनसंख्यासहित माइजोगमाई, १९ हजार एक सय ३५ सहित रोङ र १६ हजार ६५ जनसंख्यासहित सन्दकपुर छन् ।

इलाम नगरपालिकाको जनसंख्या ४८ हजार पाँच सय ३६, सूर्योदयको ५५ हजार तीन सय २५ र देउमाईको ३२ हजार नौ सय २७ जनसंख्या बनाइएको छ । त्यस्तै माई नगरपालिकाको ३२ हजार पाँच सय ७६ जनसंख्या छ ।

समितिले सवै क्लष्टरको केन्द्र पनि प्रस्ताव गरेको छ । जसअनुसार फाल्गुनन्दको चुलाचुली पेल्टीमारी, माङ्सेवुङको इभाङ चतुरे, फाकफोकथुमको फाकफोक साप्तीन, माईजोगमाईको नयाँबजार, रोङको कोल्वुङ गाविस भवन र सन्दकपुरको देउराली बजार केन्द्र तोकिएको हो । माइ नगरपालिकाको केन्द्रबिन्दु दानाबारीको सितली गोल्टारलाई बनाइएको छ ।

इलाम नगरपालिकाको इलाम बजार, सूर्योदयको फिक्कल र देउमाईको मंगलवारेलाई कायम राखिएको छ ।

यसअघि अयोगले आठ क्लष्टर माग गरेकोमा दलहरुबीच सहमति नजुट्दा १० क्लष्टरसमेत राखेर दुवै सिफारिश भएको थियो । आयोगले यस पटक आठ देखि ११ वटासम्म क्लष्टर बनाउने विकल्पसहित प्रस्ताव माग गरेको हो । आयोगले तोकेको गाउँपालिकालाई २२ हजार र नगरपालिकालाई ३१ हजारको जनसंख्या परिधिमा रहेर पुर्नसंरचना गरिएको प्राविधिक समितिको भनाई छ । १५ प्रतिशत घटी हुनसक्ने प्रावधान बमोजिम सन्दकपुर गाउ“पालिकामा भने केही कम देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको केन्द्रमा सहमति नबनेपछि विकल्पमा आम्चोक र एकतप्पाको रुपाटारलाई राखिएको छ । गाउँपालिकामा ६ देखि ९ र नगरपालिकामा ९ देखि १४ वटासम्म वडा प्रस्ताव गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार