इलाम : इलामको दानाबारी र महमाइको बीचमा पर्ने माइखोलामा शुक्रबार दिउँसो यात्रुबाहक डुंगा दुर्घटना भएको छ । चण्डालघाट दोभानमा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परी केही यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।
दुर्घटना स्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको इलाम प्रहरी प्रमुख एसपी सुशील कुमार यादवले जानकारी दिए । उनका अनुसार मृतकमध्ये २ पुरूष, २ महिला र १ बच्चा छन् । त्यस्तै ३० जनाको जीवितै उद्धार गरिएको छ ।
तर, दुर्घटना अझै कति यात्रु हराएका छन् भन्नेबारे एकीन नभएको एसपी यादवले बताए । उद्दारमा सहयोग गर्न एसपी यादव नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै छ ।
दानाबारी ८ पाल्टार, तारेभीरबाट नदी तरेर महमार्इ जाँदै गरेको डुंगा दुर्घटना भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। दशैं मान्न जाने र फर्किनेहरु दुर्घटनामा परेका हुन् ।
दानाबारीबाट सशस्त्र प्रहरी, स्थानीय प्रहरी चाैकीका सुरक्षाकर्मी र स्थानीयकाे टोली घटनास्थलमा उद्धार गरिरहेको इलाम प्रहरीले जनाएको छ । डुंगामा झण्डै ५० देखि ६० जना यात्रु यात्रारत रहेको स्थानीयले बताएका छन् ।
के कारण दुर्घटना भएको हो भन्ने खुलेको छैन ।
प्रशासनको हेलचेक्र्याइँ
यति ठूलो दूर्घटना हुँदा पनि इलामको जिल्ला प्रशासनलाई थाहा छैन । सीडीयो र अन्य कर्मचारीहरु दशैं मनाउनै व्यस्त छन् । घटनाबारे सोध्दा प्रशासनका कर्मचारीहरु यथार्थ विवरण आफूलाई थाहा नएको बताउँछन् ।
इलामको सदरमुकामबाट महमाई वा दानाबारीतिर आउन भौगोलिकरुपमा कठिन छ । त्यो ठाउँमा पुग्न इलाम सदरमुकामभन्दा झापाबाट छिटो र सहज हुन्छ ।
वर्षाले पूर्वी पहाडको जनजीवन अस्तव्यस्त
यसैवीच दशैंका बेलामा परेको झरीले पूर्वी नेपालको जनजिीन अस्तव्यस्त बनेको छ । पहाडका बाटाघाटाहरु भत्किएर सवारी साधन चल्न नसक्ने अवस्थामा पुगेका छन् ।
इलामको दानाबारीबाट झापा आउने बाटोमा मोटरसाइकल समेत चल्न मुस्किल परेको स्थानीय बताउँछन् । एक स्थानीयका अनुसार तीन दिनअघि महामाई एरियामा पहिरो जाँदा यात्रुहरुको मोटरसाइकल समेत पुरिएको थियो ।
मेची अञ्चलको पहाडमा मात्रै नभएर भारतको दार्जीलिङमा पनि वर्षाले बिजोग बनाएको छ । दशैं मनाउन आफन्तका हिँड्ने नेपाली मूलका भारतीय नागरिकहरु पनि अलपत्र परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
-अनलाइनखबरबाट