इलाम : मानव अधिकार मञ्च नेपाल इलामले किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन गरिरहेको बाल अधिकार शान्ति शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधबार सम्पन्न भएको छ ।
तालिममा ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम र संखुवासभाका २ जनाको दरले सहभागी भएका थिए । तालिममा मानव अधिकार, अधिकार, बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिहरु, बालबालिका सम्बन्धी विद्यमान कानुनहरु, शान्ति शिक्षाको अवधारणा, बालबालिका सम्बन्धी ऐन २०४८, बालमैत्री स्थानीय शासन, सकारात्मक विभेदको अवधारणा, बालबालकाको सर्वोत्तम हित, बाल संरक्षण प्रणाली र स्थानीय निकायमा विनियोजन हुने बजेट र बालबालिकाको भुमिका सम्बन्धी तालिम भएको थियो ।
तालिमको सहजीकरण मानव अधिकार मञ्चका वीरबहादुर खड्का, शिखरनाथ सापकोटा, नवराज शंकर, योगराज सापकोटा, जिल्ला विकास समिति इलामका सामाजिक विकास अधिकृत राम योङहाङ, केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोत ब्यक्ति सुमन अधिकारीले गरेका थिए ।
बालअधिकारको क्षेत्रमा योग्य र सक्षम सहजीकरण गर्न सक्ने सहजकर्ता उत्पादन गर्ने उद्देश्यले सहजकर्ताहरुको लागि तालिमको आयोजना गरिएको मञ्चका सचिव देवेन्द्र विश्वकर्माले जानकारी दिए ।
समापन कार्यक्रमको अवसरमा सहभागीहरुले तालिमले आफुलाई बालअधिकारको बारेमा थप जानकारी पाएको र यसलाई बालअधिकारको क्षेत्रमा भरपुर प्रयोग गर्ने बताए । मानव अधिकार मञ्चका उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षता तथा इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको प्रमुख आत्थ्यितामा समापन कार्यक्रम सम्पन्न भएको थियो ।