मोरङमा बन्ने भो महानगरसहित १३ स्थानीय तह (नक्सासहित)

सात नगरपालिका र पाँच गाउँपालिका प्रस्ताव, केराबारी टुक्रियो

 ध्रुव भट्टराई 

विराटनगर : लामो विवादपछि मोरङमा स्थानीय तहको संख्या र सीमा टुंगो लागेको छ । राजनीतिक दलहरुको विवादका कारण मोरङको प्राविधिक सहयोग समितिले स्थानीय तहको संख्या र सीमा केन्द्रमा सिफारिस गर्न सकेको थिएन ।

प्राविधिक समितिमा भएको सहमतिअनुसार अब मोरङमा एक महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका रहनेछ । प्रस्तावित मस्यौदा तत्काल आयोगलाई सिफारिस गर्ने प्राविधिक सहयोग समितिका सदस्य सचिव डम्वरुवल्भव बरालले जानकारी दिए ।

स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले मोरङलाई मोरङ १३ स्थानीय तहकै सिलिङ दिएको थियो ।

विक्रम संवत २०६८ सालको जनजणना अनुसार १० लाख जनसंख्या रहेको मोरङ जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका ५० गाविस रहेको थियो ।

अब यस्तो हुनेछ स्थानीय तह

Morang_New_Map

जिल्लास्थित प्राविधिक समितिमा भएको सहमतिअनुसार विराटनगर महानगरपालिका बन्नेछ । विराटनगर हाल उपमहानगर छ । यसलाई महानगर बनाउने क्रममा छिमेकी गाविसहरु बुधनगर, भातिगछ, कटहरी, वैजनाथपुर, टंकिसिनुवारीको पुरै भाग तथा लखन्तरी र हातिमुढा गाविसका केही भागहरु समेटिने छन् ।

त्यसको प्राविधिक पक्ष मिलाउन राजनीतिक दलहरुको सहमतिमा जिविसका प्राविधिकसहितको टोली गठन गरिएको एमाले मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले जनाकारी दिए ।

महानगरपालिका बनाउँदा आवश्यक पर्ने जनसंख्या मिलाउँदा भौंडाह र झोराहाटका विराटनगर चक्रपथले समेट्ने क्षेत्रहरु समावेश गर्नसक्ने गरी छलफल टुंगिएको छ । झोराहाट गाविसलाई गाभ्ने विषयमा भने सहमति बनिसकेको छैन । यसबारे केही राजनीतिक दलहरुको असन्तुष्टि रहेकाले थप छलफल आवश्यक रहेको बताइएको छ ।

जिल्लाको पूर्वी सिमाना उर्लावारीलाई केन्द्र बनाएर मधुमल्ला, रमितेखोला, टाँडी मिलाएर नगरपालिका बनाउने सहमति भएको छ । यस्तै लेटाङ, वारंगी, सिंहदेवीको अधिकांश भाग र भोगटेनी मिलाएर नगरपालिका बनाउन सिफारिस भएको छ ।

आठ पहाडी गाविस रहेको मोरङको पाटीगाउँ, याङशिला, केरावारी र सिंहदेवीको केही भाग मिलाएर गाउँपालिका बन्नेछ । राजमार्ग आसपासमा रहेको पथरी शनिश्चरे, हसन्दह र अमरदह गाविस मिलाएर नगरपालिका बनाउन सिफारिस गरिएको छ ।

बेलवारी, डाँगिहाट, कसेनी, बाहुनी र केरावारीको ९ नम्वर वार्डलाई मिलाएर बेलवारी केन्द्र हुनेगरी नगरपालिका प्रस्ताव गरिएको छ । सुन्दर दुलारी र कोशी हरैंचा दुई नगरपालिका गाभेर एउटा र रंगेली, टकुवा, डाइनिया मिलाएर दक्षिणमा अर्को नगरपालिका प्रस्ताव गरिएको छ ।

बवियाविर्ता, दादरवैरिया, सोह्राभाग र थलाहालाई मिलाएर गाउँपालिका प्रस्ताव गरिएको छ । राजघाट, इटहरा, गोविन्दपुर, झुर्किया र महादेवा मिलाएर नगरपालिका वा गाउँपालिका बनाउन प्रस्ताव गर्ने सहमति भएको छ । वयरवन, होक्लावारी, केरौन र दर्वेशाको ८ ओटा वार्ड समेटेर एउटा गाउँपालिका बनाउन सहमति जुटेको छ ।

स्थानीय तह पुनर्संरचना गर्न बनेको समितिमा संघीय समाजवादी फोरमको प्रतिनिधि बाहेकका प्रमुख राजनीतिक दलहरुको सहमति रहेको जिल्ला प्राविधिक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार