माङसेबुङ गाउँपालिका बनाउन सञ्जाल गठन

kirat-sanjal

काठमाडौं : माङसेबुङ गाउँपालिका नामाकरणका लागि राजधानीमा गत भदौ २५ गते उच्चस्तरीय सञ्जालको निर्माण भएको छ ।

माङसेबुङमा गठित सर्वदलीय समिति संयोजक डिल्लीराम चाम्लिङको आयोजना तथा सभापतित्वमा काठमाण्डौको गौशालामा आयोजित भेलाले किरात धर्म तथा साहित्य उत्थान संघ काठमाण्डौ उपत्यकाका भूतपूर्व अध्यक्ष ज्ञानबहादुर इजमको संयोजकत्वमा सञ्जाल निर्माण गरेको छ । ५ सदस्यीय सो सञ्जालमा सहसंयोजक एनएस फागो तथा सदस्यहरुमा दुर्गाहाङ ओख्राबो, मनमाया वनेम नेम्बाङ र सरिता लाओती चयन भएका छन्।

सञ्जालले किरात धार्मिक क्षेत्र माङसेबुङको नामबाट माङसेबुङ गाउँपालिका नामाकरण गराइ सो गाउँपालिकाको कार्यक्षेत्र समेत सोही स्थानमा कायाम गराउन राजधानीमा सक्रिय भूमिका निर्वाह गर्ने, सबै क्षेत्रमा सम्पर्क समन्वय गर्ने तथा सम्बन्धित निकायमा सोझो सम्पर्क गर्नेछ । साथै केहेरसिं योङहाङको संयोजकत्वमा गठित आन्दोलन समितिलाई थप बल पुग्नेगरी विविध कार्यहरु गर्नेछ।

स्मरणीय रहोस, सर्वदलीय समिति संयोजक डिल्लीराम चाम्लिङको नेतृत्वमा केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री खडगप्रसाद ओली, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगु, पूर्वमन्त्री नेपाली कांग्रेसका केशव थापा र नेका नेता भेषराज आचार्यलाई भेटिसकेको छ। उनीहरुले सकारात्मक प्रतिकृया, आश्वासन र सहयोगको प्रतिवद्धता जनाएका छन् ।

-किरात समाचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार