‘थालाचेप्पा’ हो ‘माङमालुङ’ होइन

nanda
नन्दकुमार नेम्बाङ ‘गाउँलेजी’

अहिले मुलुक संघीय संरचनाको सघन छलफलमा छ। स्थानीय तह, प्रदेश र संघीय चुनाव आगामी २०७४ माघ सम्ममा गर्नैपर्ने संवैधानिक बाध्यताले यो बहसलाई झनै तताएको छ। राज्य पुन: संरचना आयोगले जनसंख्या, भूगोल, पहिचान र सामथ्र्य आदिलाई सिमाङ्कन र संरचनाको आधार तोकेको छ ।

नयाँ सन्दर्भमा अहिले देशभर गाउँपालिका र नगरपालिकाको नयाँ संरचनाको छलफल चलिरहेको छ। यसले इलाम जिल्लालाई पनि पुरै तताएको छ। यसअघि ४९ गाविस र १ नगरपालिका रहेको इलाममा केवल ७ गाउँपालिका र ३ नगरपालिका प्रस्ताव गरिएको छ। यसमा केही राजनीतिक तिगडम, खिचातानी र व्यापक चलखेलहरु भएका छन्।

धेरै अघिदेखि पुनर्संरचनाको लागि बहस र छलफल हुने क्रममा इलामको सुदुर पश्चिममा रहेका गाविसहरुको पुनर्संरचनाका लागि केही विवाद देखिएका छन्। विशेष गरी बाँझो, महमाई, साक्फारा र इभाङको क्लस्टर निर्माण र नामको बारेमा व्यापक बिवाद हुने देखिन्छ र भइरहेको छ।

mangmalung

एकपक्षबाट यो क्लस्टरलाई माङसेबुङ गाउँपालिका भनिनुपर्छ, यी ४ गाविस छुट्टिनु हुन्न भन्ने पक्षमा छ भने अर्को पक्ष महमाईलाई दानाबारीमा मिसाउने, बाँझो २ र साक्फाराको १ र २ लाई चुलाचुलीमा मिसाएर बाँकी रहेका बाँझो, साक्फारा र इभाङलाई मिसाएर माङमालुङ गाउँपालिका बनाउन लागिपरेको छ।

लामो समयदेखि यस बारेमा स्थानीयदेखि जिल्ला तहसम्म सबै दलका प्रतिनिधिसम्म आफ्नो प्रस्ताव लाँदा पनि सुनुवाइ त कुरै छाडौं सामान्य छलफल समेत नगराइएकाले यस क्षेत्रका दलका अगुवा र स्थानीय जनतामा आक्रोश सिर्जना भएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी, संघीय समाजवादी, लिम्बुवान सम्मिलित सर्वदलीय संयन्त्र निर्माण गरेर करिब ४ महिनाअघिदेखि व्यापक बहस र छलफलबाट आएको निष्कर्ष अनुसार स्थानीय विकास अधिकारी इलाममा प्रस्ताव प्रस्तुत हुँदासमेत सामान्य छलफल नगराइएको गुनासो सतहमा आएको छ।

सर्वदलीय निर्णय स्थानीय विकास अधिकारी र संयोजकलाई बुझाए पनि सामान्य छलफल पनि नगरीकन गत भदौ २३ गते बसेको प्राविधिक समितिले यो क्लस्टरलाई माङमालुङ नामाकरण गर्ने र सेवाकेन्द्र पनि माङमालुङ राख्ने प्रस्ताव उठाएको छ। स्थानीय जनताको आवाजलाई पुरै बेवास्ता गरेर अगाडि बढिरहँदा विवाद चर्केर जाने निश्चित छ।

थालाचेप्पा कि माङमालुङ ?
आजभन्दा एकदशक अघिसम्म रक्सेसँग जोडिएको डाँडालाई थालाचेप्पा भनिन्थ्यो। यसलाई थालाचेप्पा भन्नुको पछाडि ऐतिहासिक महत्व बोकेको किंवदन्ती रहेको छ। किंवदन्ती अनुसार शताब्दीऔंअघि अहिले इभाङ ६ मा अवस्थित रक्सेको शीरमा एउटा विशाल पोखरी थियो। पोखरीमा भिमकाय कालीनाग बस्थ्यो। जसले त्यस आसपास आउने घरपालुवा वस्तु, बाटोमा हिँड्ने बटुवा र धेरै स्थानीयहरुलाई खाने गथ्र्यो। लामो कालखण्डमा कालीनागले ठूलो क्षति पुर्‍याएकाले यसलाई कसरी मार्न सकिन्छ भन्ने बिषयमा छलफल हुन थाल्यो। छलफलको क्रममा इलामको केवाबुङ (हाल धुसेनी) की चापेती नामकी येमानी (बिजुवानी) ले मात्र नागलाई ठिक लगाउन सक्छिन् भन्ने स्थानीयले निस्कर्ष निकाले। किनकि उनीसँग अत्यन्तै ठूलो तान्त्रिक शक्ति थियो।

आफ्नो गाउँको समस्या समाधान गर्न विन्ती गर्न स्थानीयहरु चापेतीकोमा पुगे र सबै समस्या बेलिबिस्तार गरे। सबै कुरा सुनिसकेपछि कालिनाग मार्नलाई चपेतीले सहमति जनाइन्। सहमति अनुसार कालिनाग मार्नलाई चापेतीले ठूलो तान्त्रिक शक्ति प्रयोग गरिन्। कालिनाग लुकेर बसेको ढुङ्गामा तन्त्रमन्त्र गरेर थालले प्रहार गर्दा ढुङ्गा ३ टुक्रा भयो तर नाग मरेन। भित्रबाट प्वाल पार्दै भाग्न थाल्यो। नाग भाग्दै गयो चापेतीले लखेट्दै गइन्। यसक्रममा रतुवाखोलाको किनारमा पुग्दा चापेती गलिन र थकाइ मारिन। अहिले यश ठाउँलाई चपेटि भनिन्छ।

चापेतिले खेदाउँदै रतुवाखोला, सुन्धुवाखोला, सुन्धुवागाउँ हुँदै देउमाई खोलैखोला लगेर मारुङ भन्ने ठाउँमा पुर्‍याएर भिमकाय कालिनागलाई मारिन् र उनको पनि देहावसान भयो।

यो किंवदन्ती धेरै लामो छ। यसलाई संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको छु। यसरी चापेती बिजुवानीले ठूलो शक्ति र जोखिम मोलेर नागको हत्या गरेको र थालले ढुङ्गा ३ टुक्रा हुनेगरी प्रहार गरेकोले त्यस ठाउँको नाम थालाचेप्पा (थालले काटेको) रहेको हो। ऐतिहासिक र पुरातात्विक महत्व बोकेको थालाचेप्पालाई अहिले माङमालुङ भनेर अपभ्रंस गरिएको छ। यसअघि नेपालीमा बिजुवानी डाँडा पनि भनिन्थ्यो।

यो सन्दर्भ किन प्रस्तुत गरिएको हो भने अहिले मुलुकमा ऐतिहासिक धरोहर, पहिचान र भूगोललाई प्राथमिकता दिएर पुनर्संरचना गर्ने भन्ने बहस र कानुनी आधारहरु समेत तयार भएको अवस्थामा तथ्यगत कुराहरुलाई संरक्षण गर्ने कि यसलाई नामेट गर्ने भन्ने कुरालाई जनसमक्ष पुर्‍याउनका लागि प्रयास गरेको छु। हामीले हाम्रा महत्वपूर्ण निधीहरुलाई गलत र साँघुरो सोचाइ बनाएर महत्वकांक्षी बनेर हाम्रो मौलिक धरोहरलाई कता लाँदैछौं। बिगतमा राज्यले उपेक्षा गरेको हामीले ठान्यौं अहिले कसको कारणले हामी उपेक्षित बन्दैछौं।

यहाँ बिना पूर्वाग्रह हाम्रो धार्मिक सांस्कृतिक धरोहर र सम्पदाको संरक्षण गर्नुको सट्टा आफ्नो खुट्टामा बन्चरो हान्ने काम भइरहेको छ। माङसेबुङबाट करिब ५ किलोमिटर मात्र टाढा रहेको यो ठाउँमा २०३३ सालमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ ले समेत तपस्या गर्नुभएको ऐतिहासिक स्थल हो।

नाममा विवाद
वि.सं. २०३५ सालदेखि किरात धर्मगुरुको आश्रम समेत रहेको माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा संसारमा परिचित छ। हजारौं जनसंख्या रहेको यसक्षेत्रमा मुलुकमा विद्यमान सबै राजनीतिक दलहरुको पहुँच छ। २०५० सालदेखि निरन्तर विश्व शान्ति, मानव एकता र चराचर सृष्टि रक्षाका लागि अखण्ड दीप र धुनी प्रज्वलित छ।
मुलुकका सबै राष्ट्रप्रमुख, कार्यकारी प्रमुखहरुले दर्शन गरिसकेको माङसेबुङलाई स्थानीय राजनीतिक दल र जिल्लाका संयन्त्रले नचिन्नु र नदेख्नु आफैमा लज्जाको विषय हो। नदेख्नु, नसुन्नु फरक कुरा हो देखाउँदा पनि आँखा चिम्लिनु चाहिँ दु:खद कुरा हो। विगतका स्थितिमा जे जस्तो भएपनि माङसेबुङलाई नजरअन्दाज गरेर स्थानीय राजनीति अब अगाडि बढ्न सक्ला? स्थानीय जनताको आवाज र मागहरुलाई बेवास्ता गरेर माथिल्लो निकायबाट घन हानेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सकिएला? राजनीतिक दलका साथीहरुले नै सोच्नुपर्ने अवस्था देखिन्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन १६९, आदिवासी अधिकार, पहिचान र संस्कृतिलाई आधार मान्ने हो भने महमाई, बाँझो, इभाङ र साक्फारालाई मिलाएर माङसेबुङ गाउँपालिका बनाउन नितान्त जरुरी छ। अन्य ठाउँमा रोङ, बालागुरु आदि नाम राख्न मिल्छ भने माङसेबुङ गाउँपालिका बनाउन किन नमिल्ने? भौगोलिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले नङ र मासुको सम्बन्ध रहेको महमाईलाई भूगोलका हिसाबले आकास पताल नमिल्ने दानाबारीसँग जोडेर कस्तो राजनीतिक अभिष्ट पूरा गर्न खोजिंदैछ? विचारणीय छ।

पुरानो समस्या सेवा, केन्द्रको
विगतमा चुलाचुली र बाँझो एकै ठाउँमा हुँदा सेवाकेन्द्र चुलाचुलीमा नै थियो। लामो वादविवाद भयो, तर समस्याको समाधान भएन। सेवाकेन्द्र जनताको चाहना अनुसार हुन सकेन। केही गर्दा पनि समस्या समाधान नभएपछि चुलाचुली र बाँझो छुट्टाछुट्टै गाविस भए। फेरि बाँझोमा त्यस्तै समस्या सिर्जना भयो।

स्थानीय जनताले पाउनुपर्ने सुविधाबाट बञ्चित भएपछि सेवाकेन्द्रबारे विवाद चर्कियो। त्यही कारणले गाविस भवनको लागि विनियोजित रकम समेत फ्रिज हुनपुग्यो। गाविस भवन बन्न सकेन। अहिले ठ्याक्कै त्यही समस्या फेरि शुरुवात भएको छ। बाँझो, साक्फारा र इभाङको सेवाकेन्द्र रक्सेमा तोकिंदैछ।

सम्वाद र वार्ताको माध्यमबाट समाधानको बाटो अपनाउन सकियो भने सबैखाले समस्या समाधान हुनसक्छ। तर नेपालको पूर्वी क्षेत्रमा बलियो पकड राखेका किरातहरुसँग सम्बन्ध राख्ने माङसेबुङलाई बाइपास गरेर जान खोजियो भने यस क्षेत्रमा निरन्तर दुर्घटना जारी रहनेछ।

अन्त्यमा
समस्याको समाधान सम्वादबाटै हुनेछ, बहिस्कार गरेर होइन। अहिले जे भइरहेको छ, त्यो दु:खद घटना नै हो। महमाई र बाँझोका संयुक्त राजनीतिक दलहरुले निर्णय गरेर पेश गरिएका प्रस्तावहरु रातारात टेबलको मुनि हाल्ने काम गरियो भने समस्या झन् बल्झिदै जानेछ। यो कुरा क्षेत्रीय र जिल्ला स्तरका सबै राजनीतिक दल, सरकारी संयन्त्रले बुझ्नुपर्छ। त्यसैमा हामी सबैको कल्याण हुनेछ, चेतना भया।

-किरात समाचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार