गुरुकुल विद्याश्रम माविको भवन निर्माणमा भारतको चार करोड सहयोग

इलाम :  इलामको बरबोटे– १ तोरीबारीस्थित सप्तमाई गुरुकुल विद्याश्रम माविको भवन निर्माणका लागि भारत सरकारले चार करोड रुपैंयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रम निर्माणका लागि भारतीय दुतावासले आर्थिक सहयोग गर्ने विद्याश्रमका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिए । २४ कोठा रहने भवन निर्माणका लागि दुतावासले चार करोड रूपैयाँ आर्थिक सहयोग गर्ने द्विपक्षीय सम्झौता भएको हो ।

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बालकक्षा सहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एक सय १५ विद्यार्थीमध्ये आवासीय रूपमा अध्ययन गर्ने विद्यार्थी ७० छन् । नयाँ बन्ने भवन आवासीय सुविधासहितको हुनेछ ।

व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । ‘ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो’, प्रधानाध्यापक भोगेन्द्र दाहालले भने, ‘भवन बन्ने भएपछि चिन्ता हटेको छ ।’ स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केही पछि बरबोटेमा सारिएको हो ।

स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ । संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । ‘जमिनको व्यवस्थापन गरेपनि भवनको अभावले समस्यामा थियौँ’, केन्द्रका अध्यक्ष अर्जुन थापाले भने, ‘दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।’ ‘असोजदेखि काम थाल्ने र १५ महिनामा सम्पन्न हुन्छ,’ केन्द्रका अध्यक्ष थापाले भने । मुट्ठीदान, जजमान कोष र दाताको सहयोगबाट सञ्चालित विद्यालयमा जिल्ला शिक्षा कार्यालयले शिक्षक दरबन्दी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार