लेप्चा संरक्षित र लिम्बू स्वायत्त क्षेत्रसहित ८ स्थानीय तहको माग
इलाम : पछिल्लो समय स्थानीय तह पुर्नसंरचनाको वहस पेचिलो बन्दै गएको छ । इलामलाई कतिवटा स्थानीय तहमा पुर्नसंरचना गर्ने, नाम के राख्ने र केन्द्र कहाँ तोक्ने भन्ने विषयमा विभिन्न कोणबाट छलफल भईरहेको छ । विभिन्न राजनैतिक दल तथा सामाजिक संगठनहरुले आआफ्नो खाका सार्वजनिक गरी वहसलाई व्यापक बनाएका छन् । आम सर्वसाधारणहरु समेत यस वहसमा संलग्न हुने गरेका छन् ।
यसै सन्दर्भमा लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले पनि चुम्लुङको २८ औं स्थापना दिवसको अवसरमा स्थानीय तह पुर्नसंरचनाका सम्बन्धमा छलफल र अन्तरक्रिया आयोजना गर्यो । कार्यक्रममा चुम्लुङ जिल्ला सदस्य राम योङ्हाङले ‘जिल्लाको स्थानीय तह पुन:संरचना सम्बन्धमा किरात याक्थुङ चुम्लुङ इलामको धारणा’ विषयक छलफलपत्र प्रस्तुत गरेका थिए ।
छलफलपत्र माथि विभिन्न व्यक्तित्वहरुले धारणा सहित थप सुझाव राखेका थिए । चुम्लुङ्ग इलामका अध्यक्ष चक्र (अभिषेक) येक्तेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुम्लुङ्गका पूर्व केन्द्रीय उपाध्यक्ष मोहनसिं थेवे, केन्द्रीय सदस्य यामप्रसाद योङहाङ्ग, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष अवोध अविरल आङवुहाङ्ग, चुम्लुङ्ग साङरुम्बा अध्यक्ष महाशेर फेजोङ्ग, सल्लाकार बखतबहादुर आङदेम्बे, लिम्बू पत्रकार संघ इलाम अध्यक्ष याम मावोहाङ, लिम्बू विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष राम लिङ्दम, महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटि अध्यक्ष जीवन योङहाङ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
छलफलपत्रमा इलाम जिल्लामा लेप्चा संरक्षित क्षेत्र र लिम्बू स्वायत्त क्षेत्र सहितको आठ वटा स्थानीय तहको प्रस्ताव गरिएको छ । जबकी अहिलेसम्म जिल्लाका कुनै राजनैतिक दलको खाकामा यी दुई प्रस्ताव छैनन् । किरात याक्थुङ चुम्लुङले यसअघि गरेको निर्णयका आधारमा सो खाका प्रस्तुत गरिएको छलफलपत्रमा उल्लेख छ ।
विश्वकै लोपोन्मुख जाति लेप्चा नेपालको इलाममा मात्र बसोबास गर्दै आएकाले इलामको सूर्यादय नगरपालिका आसपासका गाविसमा वसोवास गर्ने लेप्चा समुदाय भएको क्षेत्रलाई लेप्चा संरक्षित क्षेत्र हुनुपर्ने प्रस्ताव गरिएको छ ।
छलफलपत्रमा इलामको बाँझो गाविसको वडा नं. ६, ७, ८ र ९ तथा चुलाचुली गाविसको वडा नं. १, २, ३, ४ र ५ लिम्बू समुदायको भाषा, संस्कृति भएको समुदायको वहुल्यता भएको हुनाले त्यस क्षेत्रलाई लिम्बू स्वायत्त क्षेत्रका रुपमा प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव स्थानीय तह पुनसंरचना प्रविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको ३.२.४ (ख) ३.२.४ (ग) सँगसम्बन्धित रहेको छलफलपत्रमा उल्लेख छ । स्थानीय निकायको पुनसंरचनामा इलाम जिल्लामा ३ वटा नगरपालिका र ५ वटा गाउँपलिकाको प्रस्ताव गरेको छ । गाउँपालिकाको नामहरु पनि स्थानीय ठेट भाषमा नै प्रस्ताव गर्दै वैकल्पिक नाम समेत दिइएको छ ।
कार्यविधिको ३.२.६ मा उल्लेख भएको नामाकरण गर्ने आधारहरु बमोजिम स्थानीय विशिष्टतालाई झल्काउने, ऐतिहासिक स्थल वा पहिचानको निरन्तरता, राष्ट्रीय विभुति, स्थानीय समुदायका विशिष्ट भाषिक, सांस्कृतिक पहिचान तथा धार्मिक सम्पदालाई आधार मानेर नामाङ्करण गरिएको छलफलपत्रमा उल्लेख छ ।
दानाबारी, महमाई, चिसापानी लक्ष्मीपूरको वडा नं. ५ र सोयाकको वडा नं. ९ मिलाएर सिरीजङ्गा गाउँपालिकाको प्रस्ताव गरेको छ । यसको केन्द्र दानाबारीको सितली बजार र वैकल्पीक नाममा गरुवा गाउँपालिकाको प्रस्ताव गरेको छ ।
चुलाचुली, बाँझो, साकफारा र इभाङका वडा नं. ६, ७ र ८ लाई मिलाएर फाल्गुनन्द गाउँपालिकाको प्रस्ताव गरेको छ । यो गाउँपालिकाको केन्द्र बाँझोको माङसेवुङमा तोकोको छ भने वैकल्पिक नाममा माङसेवुङ गाउँपालिका प्रस्ताव गरेको छ ।
फाकफोक, आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी, एकतप्पा, इभाङका वडा नं. १, २, ३, ४, ५ र ९ चमैताको वडा नं. ९ लाई मिलाएर फाकफोक गाउँपालिका यसको केन्द्र एकतप्पा र वैकल्पिक नाममा माङमालुङ गाउँपालिकाको प्रस्ताव गरेको छ ।
देउमाइ नगरपालिका, जितपूर, सिद्धिथुम्का, साङरुम्वाका वडा नं. ७, ८ र ९, शान्तिडाँडाका वडाहरु ३ देखि ९ सम्म, चमैताका १ देखि ८ सम्म, साँखेजुङ र पुवामझवा गाविस मिलाएर आम्दाङ नगरपालिका यसको केन्द्र मंगलबारे वजारमा र वैकल्पिक नामको रुपमा देउमाई नगरपालिका प्रस्ताव गरेको छ ।
इलाम नगरपालिका, गोदकका वडा नं. १ देखि ४ सम्म, सोयकका वडा नं. १ देखि ८ सम्म, साङरुम्वाका १ देखि ६ सम्म शान्तिडाँडाका वडा नं. १ र २, बरबोटे, सुम्वेक, सुलुबुङ, माईपोखरी, माईमझुवा, मावु गाविस मिलाएर इलाम नगरपालिका र यसको केन्द्र इलाम बजारलाई प्रस्ताव गरेको छ र जासंख्याको आधारमा यसमा १३ वटा वडाको प्रस्ताव गरेको छ ।
नयाँबजार, जमुना, जोगमाई, नामसालिङ, प्याङ र सोयाङ गाविस मिलाएर नामथाप गाउँपालिकाको प्रस्ताव गरेको छ । वैकल्पिक नामको रुपमा जोगमाई गाउँपालिका र यसको केन्द्र नयाँबजारमा रहने प्रस्ताव गरिएको छ । जनसंख्याको आधारमा यसमा ७ वटा वडाको प्रस्ताव गरेको छ ।
सूर्यादय नगरपालिका, गोदकका वडा नं. ५ देखि ९, गोर्खे, समालबुङका वडा ४ र ५ वाहेकका वडाहरु, श्रीअन्तु र पशुपतिनगर मिलाएर फिक्कल नगरपालिका र वैकल्पिक नामको रुपमा सूर्यादय नगरपालिका यसको केन्द्र फिक्कल बजारमा रहने गरि प्रस्ताव गरेको छ । जनसंख्याको आधारमा यसमा १२ वटा वडाको प्रस्ताव गरेको छ ।जिर्मले, इरैटार, कोल्बुङ, शान्तिपुर, लक्ष्मीपूरको वडा नं. ५ वाहेकका वडाहरु समाल्वुङका वडा नं. ४ र ५ मिलाएर इरुङदुङ गाउँपालिका र वैकल्पिक नामको रुपमा कोल्बुङ गाउँपालिकायसको केन्द्र कोल्वुङमा रहने गरि प्रस्ताव गरेको छ । जनसंख्याको आधारमा यसमा ७ वटा वडाको प्रस्ताव गरिएको छ ।
जिल्लाको भौगोलिक अवस्था, जनसंख्या, भाषा, संस्कृति र लोपोन्मुख जाति लेप्चाको संरक्षणमा मुख्य जोड दिदै यसअघि नै यो स्थानीय निकायको पुनसंरचना तयार गरिएको चुम्लुङका अध्यक्ष एक्तेनले जानकारी दिए ।