वैचारिक लेखनको ध्येय बिक्नु होइन
अभय श्रेष्ठ समकालिन नेपाली साहित्यका एक चर्चित लेखक हुन् । कथा, कवितामा आफ्नो विशिष्ट स्थान बनाएका श्रेष्ठ विभिन्न हिन्दु मिथकहरुको अध्ययन र पुनर्व्याख्यामा समेत विशेष रुचि राख्दछन् । उनका ‘फूलबिनाको शाखा’ (गजल संग्रह), ‘कायाकल्प’ (कविता संग्रह) र ‘तेस्रो किनारा’ (कथा संग्रह) प्रकाशित छन् । हाल ‘दी राइजिङ नेपाल’सँग सम्बद्ध श्रेष्ठ एक स्पष्ट लेखक, जनपक्षीय सिनेमा–समीक्षक र स्तम्भकारका रुपमा समेत परिचित छन् । यहाँ अभय श्रेष्ठसँग कवि तथा पत्रकार दीपक सापकोटाद्वारा लिइएको अन्तर्वार्ता प्रस्तुत छ । –सम्पादक
तपाईंहरु आफूलाई मार्क्सवादी वा प्रगतिवादी साहित्यकार भन्नुहुन्छ । सजिलो भाषामा भन्दा मार्क्सवादी साहित्य भनेको के हो ?
म लामो सैद्धान्तिक व्याख्या गर्दिनँ । मैले बुझेको, मार्क्सवादले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिन्छ । क्षमताअनुसार काम लिने र आवश्यकताअनुसार ज्याला दिने मार्क्सले परिकल्पना गरेको न्याय व्यवस्था हो । न्याय त्यसलाई चाहिन्छ जो अन्यायमा परेको हुन्छ । नोबेल पुरस्कार विजेता एल्फ्रिड जेलिनेकका शब्दमा भन्ने हो भने साहित्य कमजोरहरुको पक्षधर हुन्छ । अन्यायमा परेकाहरु, पछाडि पारिएकाहरुको पक्षमा लेखिने, तिनलाई जागृत पार्ने साहित्य नै मार्क्सवादी साहित्य हो । मार्क्सवादीहरु त्यस्तो समाजको सपना देख्छन् जहाँ राष्ट्रपतिका सन्तान र साधारण किसानका सन्तान एउटै विश्वविद्यालयमा पढ्न पाऊन् ।
मार्क्सले जे भने त्यही लेख्दा सिद्धान्त पो होला, साहित्य हुन्छ र ?
तपाईंले भनेको ठीक हो । साहित्यको आफ्नै अन्दाजेबयाँ हुन्छ । मार्क्सवादलाई शब्दमा होइन, सेन्समा बुझ्नु जरुरी छ । संसारमा ९० प्रतिशतभन्दा बढी मान्छे हाड घोटिने गरी पसिना बहाउँछन् तर तिनको हातमा सम्पत्ति छैन, सम्पत्ति आर्जन गर्ने माध्यम उत्पादनका साधनहरु पनि छैनन् । १० प्रतिशतभन्दा कम मान्छेका हातमा उत्पादनका साधन छन् । ९० प्रतिशत मान्छे धर्म, जाति, अन्धविश्वास अनेक नाममा विभाजित छन् । १० प्रतिशत मान्छेचाहिँ लुट्ने, शोषण गर्ने, अत्याचार गर्ने मामलामा एकजुट छन् । जब ९० प्रतिशत मान्छे न्यायका लागि एकजुट हुन्छन्, लुटिखाने १० प्रतिशत मान्छे कुलेलम ठोक्न बाध्य हुन्छन् । यसरी गरिब वर्गको शासन स्थापित हुन्छ । मार्क्सवादले भन्ने चुरो कुरो यही हो । कति सजिलो भाषामा उनले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिएका छन् । न्यायका पक्षधर र भौतिकवादी दृष्टिकोण राख्ने हरेक व्यक्तिले मार्क्सवादको यस अवधारणालाई ग्रहण गर्छन् । मार्क्सले जसरी हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई ग्रहण गरेर आफ्नै सिद्धान्त बनाए, स्रष्टाले पनि त्यसैगरी न्यायचेतलाई सर्वोपरि राख्ने हो ।
नेपाली साहित्यमा मार्क्सवादी लेखकभन्दा आफूलाई कुनै वादी भन्न नचाहने लेखकहरु लोकप्रिय देखिन्छन् नि ?
तपाईंले भनेको अलि बढी हल्ला र अपवाद स्तरमा सत्य हो । हिटलरका सञ्चारमन्त्री गोयबल्स भन्थे, झुट पनि सयचोटि बोल्यो भने सत्य हुन्छ । त्यही अभ्यास यहाँ केही प्रकाशकले केही लेखकका हकमा गरेका छन् । अर्को कुरा, लेखकले बजारमा जे बिक्छ, जुन कुरा प्रिय हुन्छ त्यही लेख्ने हो कि आफूले देखेको सत्य स्थापित गर्ने हो ? हामीले ध्यान दिनुपर्ने कुरा यो हो । एकथरी लेखक, कलाकार हुन्छन् जसको ध्येय बिक्नुमात्र हुन्छ । अर्काथरी हुन्छन्, जो आन्दोलनको जग निर्माण गरिरहेका हुन्छन्, विचार सिर्जना गरिरहेका हुन्छन् ।
भारतमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ नामको लफंगा फिल्म एउटै हलमा लगातार बीस वर्षसम्म चल्यो । तर, गौतम घोषको ‘पार’ कति चल्यो ? मृगया, भुवन सोम, ‘हजार चौरासी की माँ’, ‘आक्रोश’, अर्धसत्य, निशान्त, अंकुर, अर्थ जस्ता फिल्मले कति व्यापार गरे ? संसारमै सम्मानित सत्यजीत रेका फिल्मबारे कति भारतीयलाई थाहा छ ? यी प्रश्नको जवाफ सकारात्मक आउँदैन । आउनुपर्ने कुरा किन आउँदैन ? यो अझ महङ्खवपूर्ण प्रश्न हो । साहित्यमा यही कुरा लागू हुन्छ । सत्य बोल्ने लेखकले अलोकप्रिय हुने जोखिम मोल्नैपर्छ । जस्तो कि न्याय पक्षधर लेखकले मातिँदा मात्र अन्याय र बेथितिप्रति आक्रोशको भाषा बोल्ने, लाजभाँड बक्ने शूद्रको कथा लेख्छ । बजारलाई यस्ता विद्रोह र आक्रोशका कुरा, राजनीतिक कुरा मन पर्दैन । बजारलाई आहुतिको ‘गहुँगोरो अफ्रिका’जस्तो दमदार विद्रोही कविता पनि मन पर्दैन । उसलाई त फूलबुट्टे शब्दको रामरमिता भरिएको कविता मन पर्छ । उसलाई उमेरमा वनपाखामा डुल्दै समवयी युवतीसँग गरेको रामरमाइलो प्रिय लाग्छ । उसलाई त शबाना आजमीको जोडदार फिल्मभन्दा सन्नी लियोनको ब्लु फिल्म राम्रो लाग्छ । वैचारिक लेखनको ध्येय बिक्नु होइन, आन्दोलनको जग बनाउनु हो । तथापि वैचारिक लेखकले आफू बढीभन्दा बढी पाठकसम्म पुग्ने भाषा, शिल्प र तरिका भने पक्रनैपर्छ ।
केही प्रकाशकले गोयबल्स शैली अपनाएको कुरा गर्नुभयो । वैचारिक साहित्यका पक्षमा त्यसभन्दा फरक तर सामूहिक अभियान चलाए हुँदैन र ?
एक हदसम्म यस्तो अभियान नचलेको होइन । विमल निभालगायतलाई म यसमा प्रतिबद्ध देख्छु । तर, यस क्षेत्रका चलेका कतिपय लेखकमा पनि बिस्तारै बजारले आफ्नो साम्राज्य जमाइसकेको छ । व्यक्तिगत जस लिने, प्रकाशक र सम्पादकका दृष्टिमा सधैँ साँचिलो भइरहने, कुनै हल्लावाज समूहको वरिपरि घुमिरहने, कहाँ कस्तो बोल्दा आफूलाई खतरा हुँदैन, कहाँ कस्तो लेख्दा, कसलाई प्रशंसा गर्दा फाइदा हुन्छ भन्ने कूटनीतिक प्रवृत्ति कतिपय प्रगतिशील भनिएका लेखकमा समेत देखिन्छ । बजारमा बिकिरहने र चर्चित हुने लोभले अन्ततः उसलाई पनि बजारले कमैया बनाउँछ ।
वैचारिक लेखकले नेतालाई बेरोजगार बनाइदिने आरोप लगाइन्छ नि ?
हरेक व्यक्ति आफ्नो ठाउँबाट राजनीति गरिरहेकै हुन्छ । सत्यको बाटो हिँड्छु भन्नु राजनीति हो । लेखकले कुनै विचार बोक्नु हुँदैन भन्नु झन् अर्को राजनीति हो । तिनले बजारिया लेखनको पक्षमा प्रत्यक्ष अनि समाजलाई प्रतिगामी र अराजनीतिक (अपलिटिकल) बनाउने अप्रत्यक्ष राजनीति गरिरहेका हुन्छन् । (ननपलिटिकल हुनु त्यति खराब होइन जति अपलिटिकल हुनु खतरनाक हुन्छ ।)
कवितामा पहिचानको कुरा खुबै उठेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यो एउटा न्यायकै आन्दोलन हो । विशेष परिस्थितिका कारण इतिहासदेखि भाषा, संस्कृति थिचिएका, त्यसकै कारण राजनीतिक अधिकार र पहुँचमा पछाडि पारिएकाहरुले उठाएको यो जायज माग हो । एक भाषा नीतिका कारण म आफै पनि आफ्नै ओठबाट मातृभाषा खोसिएको व्यक्ति हुँ । यस देशमा मजस्ता धेरै व्यक्ति छन् । तर, पहिचानवादी कवि, लेखकहरुको सक्रिय देखिने एउटा समूहले यसको चोखो भावलाई भन्दा आफ्नै समूहका कविबारे हल्ला गराउन यसको प्रयोग गरिरहेको भान हुन्छ । ती, पहिचानकै पक्षमा लेखिरहेका नेपालभाषी, मधेसी, अन्य भाषाका र आफ्नै समूहबाहिरका लेखकको नाम लिन चाहँदैनन् । तिनीहरु ‘नस्ल चेतना’को कुरा गर्छन् । सारमा यसको कुरा, थिचिएका जातिको सांस्कृतिक विम्ब साहित्यमा आउनुपर्छ भन्ने कुरा जायज हो । तर, मानिसहरु शब्दार्थमा जान्छन्, सेन्समा डुबिरहन चाहँदैनन् । नस्ल चेतनाको कुरा र नस्लवादको अभ्यास त महाभारतमा कृपाचार्यहरुले गरेका हुन् । त्यसैले यो पहिचानवादीले प्रयोग गर्न हुने पदावली नै होइन । यसले पहिचानको आन्दोलनलाई नै घाटा पारेको छ ।
पछिल्लो समय नेपाली साहित्य लेखन, पठन र समालोचना तपाईंलाई कस्तो लाग्छ ?
भाषा र शैलीको नयाँपनमा नेपाली साहित्यले ठूलै फड्को मारेको छ । सिर्जनात्मकताचाहिँ ह्रासोन्मुख भएझैँ लाग्छ । हो, पछिल्लो समय राम्रा कविहरु आएका छन् । तर, हामीले रिमाल, भूपी स्तरको चेतनालाई अझै भेट्न सकेका छैनौँ । नयाँ त तब पो नयाँ जब पुरानालाई उछिन्न सकिन्छ ! समालोचना स्तरमा लेख्ने आज कोही भएजस्तो लाग्दैन । एक, दुई जनालाई छाड्ने हो भने अखबारिया समीक्षकको ‘मक्सद’ कसैको बद्ख्वाइँ गर्नु वा कसैको निर्लज्ज विज्ञापनवाजी र खुसामद गर्नुमात्र देखिन्छ ।
पठन चेतनाको त के कुरा गर्नु ? तिनलाई कुनै कुरा राम्रो वा नराम्रो लागे किन त्यस्तोे लाग्यो भन्ने पनि थाहा हुँदैन । एउटाले भनिदिएपछि सबै त्यही कुरा गर्न थाल्छन् । ठूला अखबारमा आउने पुस्तक वार्ताहरु हेर्नुस्, तिनका पपुलिज्म, साँचिलोपन र मूर्खता पढ्दा हाँसेरै कुनै दिन मरिएलाझैँ लाग्छ । नेपाली साहित्य जजसका कारण आज यस स्थितिमा छ, तिनको नाम यिनका सूचीबाट पूरै गायब छन् । जसको नाम लिँदा फाइदा छ, तिनको बाहेक तिनले अरूको नाम लिने आँटै गर्दैनन् । विडम्बना, आफूलाई वैचारिक र प्रगतिशील भन्ने कति लेखकसमेत चर्चित भइरहने, सबैको प्रिय हुने लोभमा यही प्रवृत्तिको सिकार भएका देखिन्छन् । तिनले प्रिय उपन्यासकार, कवि वा कथाकारको नाम लिएका हुन्छन् । तर, तिनका प्रिय उपन्यास, कविता वा कथामा तिनै प्रिय लेखकका कृति हुँदैनन् । यस्तो पनि कहीँ हुन्छ ? के ती ब्रडसिट अखबारमा अन्तर्वार्ता छापिन लायक व्यक्ति हुन् जसमा सामान्य इमानदारी र पठन चेतना पनि हुँदैन ? मलाई नारायण ढकालको उपन्यास वृषभबध, वा दुर्भिक्ष मन परेपछि पो उपन्यासकार ढकाल मन पर्छ त ! राजवको कथा सम्झनालायक भएर पो कथाकार राजव मन पर्ने हुन्छ ।
पाठकीय चेतना झन् बढ्यो भनिएको छ । तपाईंले त उल्टो कुरा गर्नुभयो ।
पाठक बढेका हुन् । पाठकीय चेतना त गरिबीको रेखामुनि नै छ । तपाईंलाई एउटा उदाहरण दिऊँ, लेखक आहुतिले सरिता तिवारीको कविता ‘देवी’लाई ‘धार्मिक’ भन्नुभयो । अनि कति जनाले आँखा चिम्लेर त्यही भन्न थाले । तिनले आफ्नै किसिमले सोच्नु जरुरी ठानेनन् । खासमा यो सरितालाई चिनाउने राम्रो कविता हो । प्राग् इतिहासमा देवीको शक्ति स्वरूप हिन्दु मिथमा स्थापित मान्यता हो । सारा कमजोर देवताहरुकी रक्षक तिनै देवी सामन्त युग हुँदै आधुनिक पुँजीवादी–भोगवादी पुरुष सत्तामा कसरी शृंगार र भोगकी सामान भई भन्ने सुन्दर काव्यिक दस्तावेज त्यसमा उतारिएको छ । सीतालाई आत्महन्ता, द्रौपदीलाई प्रतिशोधकी प्रतीक, द्रोणलाई ब्राह्मणवादको प्र्रतीक मानिन्छ भने देवीलाई शक्तिको प्रतीकका रूपमा उभ्याउनु अस्वाभाविक होइन । अर्कातिर राजव, मनु ब्राजाकी, नारायण ढकालजस्ता समर्थशाली कथाकारका किताबलाई बेवास्ता गर्ने र केही हल्लावाजको पछाडि लागेर कुनै बी ग्रेडका कथाकारको हाईहाई गर्ने प्रवृत्ति त हामीले देखेकै हो । औसत पाठक तिनकै पछाडि दौडिएका छन् । नेपाली साहित्यमा यस्ता उदाहरण धेरै छन् । हल्लावाज समूहको कसैले कुनै कृति राम्रो छ भनिदिए आँखा चिम्लेर सबैले राम्रो भनिदिन्छन् । कसैले खराब भनिदिए आँखा चिम्लेर त्यसविरुद्ध गोप्य दुष्प्रचार गर्न थाल्छन् ।
प्रसङ्ग बदलौँ, तपाईं कविता र कथा दुवै उत्तिकै लेख्नुहुन्छ । खासमा तपाईं के हो ?
तपाईंलाई रुसका प्रख्यात लेखक तथा अभिनेता भासिलेई सुक्सिनबारे थाहा होला । उनको निधन एउटा सिनेमाको छायाँकन गर्दागर्दै भएको थियो । संयोगले संवाद पूरा भएको थियो । मृत्यु पनि क्यामरामा कैद भएको थियो । अर्थात् एउटै फुटेजमा अभिनय र जीवनको अन्त्य एकसाथ दर्ता भएको थियो । सुदूर गाउँबाट मास्को आएका सुक्सिन कथा लेखनका अतिरिक्त सिनेमामा अभिनय गरेर जीविका चलाइरहेका थिए । उनको जीवनमा कैयन् विडम्बना थिए । मास्कोका सम्भ्रान्त उनलाई असभ्य गाउँले ठान्थे । आफ्नै गाउँलेचाहिँ सम्भ्रान्त मान्थे । यसरी गाउँ र सहर दुवैतिर उनी अस्वीकृत थिए । साहित्यकारहरु उनलाई फिल्मका मानिस ठान्थे । फिल्मका मानिस साहित्यकार भन्थे । कतै पनि उनी सहजतासाथ स्वीकृत थिएनन् । मेरो हालत ठ्याक्कै त्यही छ । मूलतः म कवि नै हुँ । तर, मलाई कविहरु कथाकारको पङ्क्तिमा धकेल्छन् । कथाकार, उपन्यासकारहरु कवि ठान्छन् । पत्रकारहरु मलाई साहित्यकार ठान्छन् । साहित्यकारहरु मेरो अखबारी लेखनका आधारमा मूल्याङ्कन गर्छन् ।
केही मानिस मैले कथा लेखेकै भरमा मलाई कविको सूचीबाट डिलिट गर्न चाहन्छन् । यसले गर्दा मभन्दा धेरै कमजोर र कति हकमा त एकसरो परीक्षणसमेत नभएका कविले ठाउँ पाउँछ र म वञ्चित हुन्छु । अर्कातिर मेरा केही कथाले राम्रै चर्चा र प्रशंसा पाएका हुन् । तर, कतिपय गद्य लेखक मलाई कवितामै सीमित राख्न चाहन्छन् । यो कुनै पनि गुटसँग समर्पित भएर नलाग्नुको परिणाम हो भन्ने मलाई थाहा छ । कुनै पनि मान्छेको एउटा भूमिकाको सम्बन्ध अर्को भूमिकासँग हुँदैन । सरिता तिवारी, संगीत श्रोता, भूपिन व्याकुल निबन्ध पनि लेख्छन्, प्राध्यापन पनि गर्छन् । तिनीहरु त क्याम्पस पढाउने हुन्, लेखसेख लेख्ने हुन् भनेर कवितामा तिनलाई डिलिट गर्न मिल्छ ?
त्यसो भए नढाँटी भन्नुस्, तपाईंलाई बचाउने खालका तपाईंका कथा, कविता कति छन् ?
मेरा चारपाँच वटा कविता र चार पाँच वटा कथा स्मरणीय छन् । त्यतिले पनि एउटा लेखकलाई विस्मृत हुन दिँदैन । ‘आँगनजस्तो एकत्र संसारमा/छैन कोही सन्देहको घेरा बाहिर/सन्देहको ईश्वर रच्ने मेरो यही/कवितामाथि पनि सन्देह गर’ जस्ता पंक्तिले मान्छेको प्रचलित धारणालाई नैै परिवर्तन गर्छन् । श्यामल, विमल निभा, नारायण ढकालहरुले मेरा कविताबारे यस्तै टिप्पणी गरेका छन् । ‘सन्देह’, ‘हतियार’, ‘सहृदय वेश्याको प्रेममा’, ‘सत्यलाई साक्षी’लगायत मेरा स्मरणीय कविता हुन् । ‘अतको सत्याग्रह’, ‘मोडेल’, ‘खबर, कहर र जहर’, ‘अछूत’, ‘भुइँचालो’लगायत मेरा महङ्खवपूर्ण कथा हुन् । गोविन्द वर्तमानले ‘अ.त.को सत्याग्रह’लाई नेपाली समाजका यथार्थहरुको विराट चित्रण र बाँकी दुई कथालाई ‘पुँजीवादमा जीवनको दुर्दशा चित्रण गरिएका सटीक कथा’ भनेर लेख्नुभएको छ ।
त्यति धेरै लेखिसक्नुभयो । आफ्नै दृष्टिमा थोरै कृृति स्मरणीय रहेछन् त ?
गुटले चर्चामा ल्याएका अधिकांश लेखकका एउटै कथा वा कविता तपाईं सम्झन सक्नुहुन्छ ? सक्नुहुन्न नि ! कुनै लेखकको किताबको त्यत्रो हल्ला हुन्छ, तर सम्झनलायक कथा वा कविता एउटै हुँदैन, किन ? किनभने तिनमा स्मरणीय कुरै केही हुँदैन । म त भन्छु, लेखकले जति लेखे पनि दुईचार कृति स्मरणीय भए ठूलो कुरा हो । मीनबहादुर बिष्टलाई चिनाउन ‘साला पहाड मे क्या है ?’ एउटै कविता पर्याप्त छ । देवकोटाको पागल, भूपीको हामी, रिमालको आमाको सपना, विमल निभाको हत्यातन्त्र, श्यामलको लुतो, वा छाला, गोविन्द वर्तमानको अस्तित्वसोच, आहुतिको गहुँगोरो अफ्रिका नै उनीहरुलाई चिनाउन पर्याप्त छन् । ‘भविष्ययात्रा’, ‘जोरपैयु’ र ‘आखिर सजीवको कर्तव्य के हो त’ लगायत कथा मनु ब्राजाकीको, किबुका, भैँसी अंकल, जहाँ पिँजरा पनि देखिन्न राजवका र प्रेतकल्प उपन्यास नारायण ढकालका पर्याय भइसके । महङ्खवपूर्ण कुरा, धेरैभन्दा स्मरणीय लेख्नु हो ।
तपाईं किन वैचारिक सिर्जनाको मात्र उदाहरण दिनुहुन्छ ?
विचार कुनै पनि कलाकृतिको प्राण हो । विचारविहीन कलाकृति त मलाई मृत्युपछि ब्युटीपार्लरमा सिँगारिएकी युवतीजस्तो लाग्छ । सुन्दरी छ भने प्राण नै नभए पनि के फरक पर्यो र भन्नेहरु पनि होलान् । त्यसमा मेरो केही भन्नु छैन । तर, विनोदविक्रम केसीको ‘भूमण्डलीकरण’, सरिता तिवारीको ‘हे देवी’ वा ‘श्री आरामी पत्र’, सुरेश किरणको ‘रोल्पा’ किन स्मरणीय छन् ? किनभने तिनमा विचारको स्पष्ट छाप छ । केशव सिलवालको ‘चिबे चरा’, भूपिनको ‘हल्ट’, सरस्वती प्रतीक्षाको ‘तथागत’ मलाई उत्खनन गर पढ्दा किन उनीहरुका अन्य औसत कवितालाई बिर्सिदिन सकिन्छ ? किनभने तिनमा पनि विचारको शक्तिशाली हस्तक्षेप छ । विचारकै कारण स्वप्निल स्मृति, संगीत श्रोता, चन्द्रवीर तुम्बापो, केबल विनावी, ज्योति जंगल, कल्पना चिलुवाल, शकुन्तला जोशी, सुवास खनाल, राजु स्याङ्तान, ज्वालामुखी लामिछाने, निभा शाहका खस्रा कविता अरूका चिल्ला कविताका तुलनामा स्मरणीय छन् ।
तपाईं प्रगतिशील लेखक । तर, तपाईंका ‘अतको सत्याग्रह’, ‘खबर, कहर र जहर’, ‘मोडल’ लगायत धेरैजसो कथा किन दुःखान्तक छन् ?
म चल्तीको सूत्र लेखनभन्दा पात्रको स्वाभाविक संघर्षशीलता र व्यवस्थाको सीमा पर्दाफास गर्नुलाई प्राथमिकता दिन्छु । यस मामलामा उदय प्रकाश, मनु ब्राजाकी र राजव मेरा आदर्श हुन् । अतको सत्याग्रहमा सुकरात र गान्धीको अन्ध नक्कल गर्ने दुई किशोर अत कहलिन्छन् जसको अर्थ तिनैलाई थाहा हुँदैन । गान्धीगिरीमा सम्झौता नगरेकै कारण एक किशोरको हत्या हुन्छ । त्यसमा मैले गान्धीगिरीको सफलताको कथा भनेको होइन, त्यसको ट्रेजेडी देखाएको हो । ‘खबर…’ र ‘मोडल’ दुवै कथाका मुख्य पात्र पुँजीवादी व्यवस्थाका प्युसा हुन् । ‘खबर..’ को पत्रकार आफ्नै बहिनीलाई गाडीले ब्याक गरेर किचेको घटनाको खबर लेख्छ । ‘मोडल’की नायिका र्याम्पमा क्याटवाक गर्नकै लागि आफ्नै आमाको निधन हुँदासमेत घर जान पाउँदिन । पुँजीवादमा यसरी संवेदना र मानवीय मूल्यको हरिबिजोग हुन्छ । यस्तो कथा दुःखान्तक हुनु अनिवार्य हुन्छ ।
तपाईंलाई प्रभाव पारेका कृतिहरु केके हुन् ?
म्याक्सिम गोर्कीका आत्मकथात्मक तीन उपन्यास बाल्यकाल, जीवनको बाटोमा, मेरा विश्वविद्यालयहरु मलाई अत्यन्त प्रेरणादायी लाग्छ । उदय प्रकाशको कथा टेपचु मेरो आदर्श कथा हो । आत्महत्या गर्न तम्तयार एक व्यक्तिले त्यही कथा पढेर आफ्नो आत्महत्याको योजना क्यान्सिल गरेको थियो । माया एन्जेलोको स्टील आई राइज, ल्यांग्स्टन ह्युजको ड्रिम डिफर्ड, मिग्वेल हर्नान्डेजको ललाबाई अफ अनिअन, रबर्ट फ्रस्टको द रोड्स, वाल्ट ह्वीटमनको सङ अफ माईसेल्फजस्ता कविताले मलाई धेरै प्रभावित गरेका छन् । नाजिम हिक्मत, ब्रेख्त, लोर्का, धूमिल, सक्सेना, सुरजीत पातर, पाश, रिमाल, भूपी, देवकोटा, विमल निभा, गोविन्द वर्तमान, श्यामल, पूर्णविरामका कविताको ममा प्रभाव छ । खगेन्द्र संग्रौलाको हास्यरसयुक्त र नारायण ढकालको आत्मस्वीकृतियुक्त निबन्धात्मक लेखन, ध्रुवचन्द्र गौतमको अनौपचारिक गद्य, आहुति र युग पाठकको तीक्ष्ण वैचारिक निबन्ध मलाई अत्यन्त प्रेरणादायी लाग्छ । मभन्दा पछाडि लेख्न थालेका विनोदविक्रम, सरिता, स्वप्निलहरुका कविता मलाई अत्यन्त प्रिय लाग्छ ।
तपाईं अध्ययनशील लेखक र सिनेमाका जानकारसमेत हुनुहुन्छ । प्रगतिशील लेखकले लेखन तिखार्न पढ्नुपर्ने कृति र हेनुपर्ने सिनेमाहरु केके होलान् ?
यसबारे छुट्टै लेख लेख्न सकिन्छ । तर, स्रष्टाले गैरप्रगतिशील र समाजशास्त्रीय अध्ययन पनि उत्तिकै गर्नुपर्छ । म्याक्सिम गोर्की, मिखाइल सोलोखोब, चेखब, मोपासा, हेमिङ्वे, लु सुन, उदय प्रकाशका मात्र होइन, मिलान कुन्देरा, अलबर्टो मोराबिया, ध्रुवचन्द्र गौतम, विश्वेश्वरप्रसाद कोइरालाका कृति पनि पढ्नु जरुरी छ । जनकलाल शर्माको हाम्रो समाज एक अध्ययन, रत्नाकर देवकोटाको कर्णालीको अथइति, बालकृष्ण पोखरेलको खस जातिको इतिहास, बीपी, टेकनाथ रिजालका आत्मकथा, डोरबहादुर बिष्टको फ्याटालिज्म एन्ड डेभलपमेन्ट, हर्क गुरुङको मैले देखेको नेपाल पढ्नैपर्ने ऐतिहासिक तथा समाजशास्त्रीय किताब हुन् । आहुतिको नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष, रजनीकान्त शास्त्रीको हिन्दु जातिका उत्थान और पतन, देवीकान्त चट्टोपाध्यायको लोकायत आदिले हामीलाई हिन्दु समाजको जरा गहिरोसँग बुझ्न सघाउँछन् । पूर्वीय मिथबारे आलोचनात्मक चिरफार गरिएका किताब भारतको विश्व बुक्सले प्रशस्त छापेको छ, जस्तो श्रीकृष्ण एन्ड हिज गीता, ती नपढी नहुने किताब हुन् । लेखनसिल्पका लागि कुमार नगरकोटी, राजकुमार बानियाँ, बुद्धिसागर, नारायण वाग्ले, रोशन शेरचन, मनु मञ्जिल, भूपिन व्याकुल, सीमा आभास, नवराज पराजुलीहरुलाई पनि पढ्नु जरुरी छ ।
सिनेमाबारे धेरै नभनौँ । तपाईं गौतम घोषको पार, गोविन्द निहलानीको हजार चौरासी की माँ, आक्रोश, श्याम बेनेगलको अंकुर, सत्यजीत रेको अरण्यर दिनरात्री, महेश भट्टको अर्थ, नवीन सुब्बाको नुमाफुङ र निश्चल बस्नेतको टलकजंग भर्सेज टुल्के हेर्नुस्, तपाईंलाई वैचारिक र फरक धारका सिनेमा हेर्ने बानी लाग्छ ।
नेपाली प्रगतिशील लेखनको सीमा के हुन् जस्तो लाग्छ ? प्रगतिशील भएकै कारण उनीहरुलाई पन्छाइएको गुनासो कति जाजय हो ?
प्रगतिशील लेखनमा कन्टेन्टमा समस्या होइन । अत्यन्त क्रूर सत्य लेख्नुपर्दा कहिलेकाहीँ लेखन अलि ठाडो भएर आउँछ । यस मामलामा श्यामल, विक्रम सुब्बा, सरिता तिवारी, युमा, संगीत श्रोता, मिश्र वैजयन्तीको बान्की अनुसरणीय छ । अर्को कुरा, पछिल्लो पुस्ताका धेरै कविमा म अवतारसिंह पाशको ठाडो प्रभाव देख्छु । त्यस्तो प्रभाव ग्रहण गर्दा लेखनमा चिच्याऊ, कराऊ, उठ, चुप लागेर नबस भन्ने खालको आवाज र अन्दाजेबयाँ पनि उस्तै हुन आउँछ । यसलाई सुन्दर मधिकर्मी, स्वप्निल स्मृति, राबत, राजु स्याङ्तानहरुले जस्तै स्थानीयकरण गर्नु जरुरी छ ।
प्रगतिशीललाई कति अर्थमा बाहेक गरिएको आरोप सत्य हो । तर, मुख्य कुरा लेखन हो । लेखनमा समर्पण र ओज नभए आज धेरै चर्चा भएका र ठाउँ पाएका लेखक भोलि गुमनाम हुन पुग्छन् । समर्पण र ओज भए आज पछाडि पारिएकाहरु भोलि सबैभन्दा जाज्वल्यमान भएर देखा पर्छन् ।
अरुको तुलनामा तपाईं पछिल्लो पुस्ताको नाम लिन अलि अनुदार हुनुहुन्छ । के पछिल्लो पुस्ताबाट आशा गर्न सकिन्न र ?
त्यस्तो होइन । म त सबैभन्दा बढी आशावादी तिनैप्रति छु । मेरो सीमित अध्ययनका कारण तत्काल म कतिपयको नाम सम्झन सक्दिनँ । हरिहर तिमिल्सिना, विश्व सिग्देल र हामीभन्दा निकै पछाडि लेख्न थालेका राजु स्याङ्तान, राजबहादुर कुँवर, ज्वालामुखी लामिछाने, हरिशरण परियार, सुवास खनाल, केबल विनावी, सुमनराज श्रेष्ठ लगायतको लेखनप्रति म अत्यन्त आशावादी छु ।
अन्त्यमा, तपाईंका कमजोरीहरु केके हुन् ?
म विचारले मार्क्सवादी अनि व्यवहार र जीवन संस्कृतिमा गान्धीवादी हुँ । यो मभित्रको विरोधाभास हो । त्यसको छाप यदाकदा मेरा रचनामा पनि देखा पर्छ । सायद यही मेरो कमजोरी हो । कति मामलामा म रचना पकाउनभन्दा छपाउन हतार गर्छु । तर, चाँडै नै मलाई आफ्ना कमजोरीहरु थाहा हुन्छ ।
-इसमताबाट
साभार : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, चितवनको मुखपत्र स्रष्टा (७) बाट