राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको लागि इलामका ३ जना छनौट

इलाम : राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि इलामका तीनजना चेलीहरु छनौटमा परेका छन् । छनौट हुनेहरुमा पञ्चकन्या इलामकी संगम तामाङ, इनपा ८ की अनिषा पराजुली र इनपा ९ की जानुका खवास रहेकी छिन् । छनौटमा परेका तीन जनालाई जिल्ला क्रिकेट संघ इलामले टीका, खदा ओढाएर सफलताको शुभकामना व्यक्त गर्दै बुधबार विदाई समेत गरेको छ ।
इलामको ठूलो टुडिखेलमा यिनीहरुलाई प्रशिक्षक सुनिल मगरले नियमित प्रशिक्षण दिईरहेका थिए । असार ३० र ३१ गते झापाको मेचीनगर नगरपालिका स्थित काकरभिट्टामा सम्पन्न महिलातर्फको छनौट प्रतियोगीता आयोजना गरिएको थियो । सो प्रतियोगिताबाट पूर्वाञ्चलका कुल १४ जना छनौट भएका छन् । उनीहरुले सो प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेको जिल्ला क्रिकेट संघका कोषध्यक्ष गणेश खतिवडाले जानकारी दिए ।
संगम तथा अनिषा अलराउण्डर हुन् भने जानुका पेस बलर हुन् ।  उनले इलामका महिला खेलाडीहरुलाई निकट भविष्यमानै क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिने योजना भएको बताए ।  छनौटमा परेका यी प्रतिभाहरुले राष्ट्रिय टिममा छनौट हुनका लागि अबको खेलहरु पुर्वाञ्चलको प्रतिनिधित्व गर्दै खेल्नेछन् । राष्ट्रिय टिममा छनौट भए उनीहरुले हङकङमा हुने बल्र्ड कप क्वालिफायर म्याचमा देशको प्रतिनिधित्व गर्ने मौका पाउने जिल्ला क्रिकेट संघका प्रमुख प्रशिक्षक मनबहादुर राईले जानकारी दिए ।
पाँचवटा क्षेत्रका ५ र एक विभागीय टोली गरी छ वटा टीमको खेलको आधारमा छनौट भएका १४ जना महिलाहरुको राष्ट्रिय क्रिकेट टीम घोषणा हुने व्यवस्था छ । जिल्लाका महिला खेलाडीहरु यसरी छनौट भएपनि इलाम जिल्लाको लागि हालसम्म सरकारी तवरबाट क्रिकेट कोचको हालसम्म व्यवस्था गरिएको छैन । जिल्लास्थित क्रिकेट खेलाडी र क्रिकेटप्रेमीहरुले इलामका लागि सरकारी तवरबाट कोचको व्यवस्था गर्नको लागि माग गर्दै आएका छन् ।
-चियाबारीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार