सुजाता कोइराला भन्छिन्– ओली सरकार ढाले मुलुक गम्भीर संकटमा फस्छ
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने भित्री योजना बनाइरहेको तथ्य खुलेपछि कांग्रेसभित्रै विवाद बढेको छ । पार्टीभित्र सामान्य छलफल पनि नगरी मुलुकलाई नै संकटमा पार्ने षड्यन्त्र देउवाले गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।
ओली सरकार ढाल्ने पहिलो प्रयास विफल भई नीति तथा कार्यक्रम र लोकप्रिय बजेट ल्याएपछि देउवाले पुनः सरकार ढाल्ने भित्रभित्रै योजना बनाएको उनीहरूको बुझाइ छ । उनको सोही कदम मुलुकको हितविरोधी भएको पूर्वसंस्थापन पक्षको बुझाइ छ । कांग्रेस नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री ओलीको विकल्प खोजे संविधान कार्यान्वयन हुन नसकी मुलुक नै दुर्घटनामा पर्ने भन्दै देउवाको कदमप्रति चर्काे विमति जनाइन् । वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा सहभागी हुने सबै पछुताउनुपर्ने चेतावनीसमेत कोइरालाले दिइन् । संविधानअनुसार तीनै तहको निर्वाचन नभई सरकार ढले मुलुकले गम्भीर दुर्घटनाको सामना गर्नुपर्ने उनको तर्क छ । समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले देख्नुहुँदैन । त्यो आफ्नै लागि पनि निकै घातक हुन्छ,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा कोइरालाले भनिन् । उनले अहिले नै प्रधानमन्त्री ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै त्यस खेलका नलाग्न सचेत गराइन् ।
अहिले नै सरकार ढाल्दा संविधान कार्यान्वयन नहुनेतर्फ उनले आफ्नै दलका नेताहरूलाई सचेत गराइन् । सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फस्ने र अहिले अस्थिरता ल्याउन खोज्नेहरू आफैं संकटमा फस्ने उनको भनाइ थियो । ‘मुलुकमा प्रचण्ड मात्रै एक्ला नेता हुन् र, उनका लागि सरकार ढाल्नुपर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन्, सफल पनि हुँदैनन्,’ कोइरालाको भनाइ थियो ।
कुनै पनि सरकारलाई एउटा अवधिसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरी संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने कोइरालाको भनाइ छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको योजनाले जनतामा उत्साह ल्याएको भन्दै कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले गरिन् । कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको जानकारी दिँदै बाहिर कसरी यस्तो कुरा आयो भन्दै आश्चर्य प्रकट गरिन् — समाचारमा भनिएको छ ।






















































