वर्षातका कारण फाल्गुनन्द मार्ग अवरुद्ध

gadi kholama
फाइल तस्विर

नयाँ बुलन्द

इलाम : केही दिनदेखि लगातार परेको वर्षातका कारण झापाको दमकबाट रविसम्म जोड्ने फाल्गुनन्द मार्ग अवरुद्ध बनेको छ ।

वर्षाले सडकको अधिकांश क्षेत्र क्षतिग्रस्त भएपछि यातायात सञ्चालन हुन सकेका छैनन् । वर्षाले कच्ची सडकमा ठूलठूला खाल्डाहरु बनेका छन् । यातायात सञ्‍चालन नहुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

पुर्वी पहाडी जिल्ला इलाम र पाँचथरका दुर्इ दर्जन बढी गाविसलाई छुने कच्ची सडकमा गाडीहरु चल्न नसकदा हजारौं बासिन्दा प्रभावित बनेका हुन् । सडक निर्माणमा राज्यको चासो जान नसकेका कारण वर्षातको समयमा सो सडकमा सवारी साधन चल्न सक्दैनन् ।

रतुवाको किनारै किनार पर्ने दमक-लारुम्बा सडक खण्डको १७ किलोमिटर दुरी वर्षातले बढीक्षतीग्रस्त भएको स्थानीयले बताएका छन् । खोलामा आएको बाढीले सडक भत्किएर लथालिङ्ग भएपछि ट्याक्टर चल्न पनि मुस्किल परेको स्थानीय प्रविन लिम्बूले बताए । घाम नलागेसम्म कुनैपनि गाडीहरु चल्न नसक्ने उनको भनाई छ ।

सो मार्ग बन्द भएपछि अहिले ६ नम्बर बुधबारे हुँदै पाँचथरको कन्याटारको बाटो प्रयोग गर्नु परिरहेको छ । इलाम र पाचथरका दर्जनौं गाविसका बासिन्दाहरुलाई समस्या सुरु भएको छ । हिउँदमा सहज रुपमा बस र ट्याक्सीहरु गुड्ने भएपनि वर्षात सरु भएपछि रतुवा खोलामा बाढी आउनसाथ कुनै प्रकारको सवारी साधन चल्न सक्दैनन् । सडक क्षतिग्रस्त नहुञ्जेलसम्म सो मार्गमा दैनिक दर्जन बढी ट्याक्सी, बस, ट्रक र ट्याकटरहरु सञ्चालन हुँदै आएका थिए ।

पूर्वी पहाडी जिल्लाहरुलाई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको रुपमा रहेको यस सडकको १२ किलोमिटर रतुवाको किनार मात्र पर्दछ । झण्डै तीन दशकदेखि निर्माण शुरु गरिएको सडकले यतिका दिनसम्म पनि पूर्णता पाएको छैन । यस सडकमा हिउँदमा समेत रतुवाको खोला नै खोला भएर सवारी साधन गुड्ने गर्दछ । खोला पार गर्न झण्डै तीनसय पटक खोला वारपार गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार