नयाँ बुलन्द
काठमाडौं: संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सम्पूर्ण पहिचानवादी शक्तिहरु एक भएर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेकोले राज्यले शान्तिपूर्ण आन्दोलनको सम्बोधन गर्नुपर्ने बताएका छन् ।
राज्यले शान्तिपूर्ण आन्दोलन समाधान नगरे यसले मुलुकलाई जनविद्रोहतिर लैजाने उनले बताए । ‘हामी शान्तिपूर्ण तरिकाले नै देशको समस्या समाधान होस् भन्ने चाहान्छौ,’ रिले अनशनको दोस्रो दिन बुधबार लिङदेनले भने, ‘देशको सम्पूर्ण पहिचानवादी शक्तिहरु एक भएर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले समस्या समाधान गर्न सक्दैन भने यसले आगामी दिनमा निश्चित रुपमा देशलाई जनविद्रोहतिर लैजान्छ ।’
उनले संघीय गठबन्धन कुनै पनि हालतमा आन्दोलनबाट पछि नहट्ने जिकिर पनि गरे । गठबन्धनले हाल २६ बुँदे माग राख्दै खुलामञ्चमा ३९ दिने रिले अनशन सुरु गरेको छ । गठबन्धनले शान्तिपूर्ण आन्दोलनको प्रणाली विकास गरेको लिङदेनको दाबी छ । ‘शान्तिपूर्ण तरिकाले समस्याको समाधान हुनु राम्रो हो,’ उनले भने, ‘यसकारण हामीले अहिले शान्तिपूर्ण आन्दोलनको सिस्टम पनि विकास गरिरहेका छौं ।’























































