नयाँ बुलन्द
पाँचथर : पाँचथरको लिम्बा–९ गाविसको एक विद्यालयका प्रधानाध्यापकले एक अशक्त शिक्षकको सञ्चय कोषमा जम्मा हुने रकम हिनामिना गरेको खुलासा भएको छ । लिम्बा पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सुर्यमान ग्यावाले त्यही विद्यालयमा कार्यरत अशक्त शिक्षक बिद्यानन्द यादवको सञ्चय कोषको चार लाख रुपैयाँ हिनामिना गरेका हुन् ।
प्रधानाध्यापक ग्यावाले २०६७ सालदेखि हालसम्म आफ्नो सञ्चयकोषमा जम्मा हुनुपर्ने चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै पीडित यादवले जिल्ला शिक्षा कार्यालय पाँचथरमा निवेदन दिएका छन् । सञ्चय कोषमा जम्मा भएको रकम निकासा माग्न विराटनगरस्थित सञ्चयकोषको कार्यालयमा जाँदा त्यहाँ केही रेकर्ड नभेटिएपछि खोजी गर्ने क्रममा प्रधानाध्यापकले नै पैसा जम्मा नगरेको खुलेको पीडितको दाबी छ ।
यसबारे प्रधानाध्यापकसँग बुझ्दा आलटाल गर्दै तीन महिना बिताएपछि जिल्ला शिक्षा कार्यालयमा गएको चैतमा निवेदन दिएको यादवले बताए । तर अहिलेसम्म कुनै कारबाही नभएको उनको गुनासो छ ।