लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन गर्न अनुरोध

pathyakram_news_photo
जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई पत्र बुझाउँदै लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष आङबुहाङ अवोध अविरल । तस्विर : सन्देश सुब्बा

सन्देश सुब्बा

पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ ।

मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई पत्र बुझाउँदै पाठ्यक्रम प्रकाशनको लागि अनुरोध गरेको हो ।

पत्र बुझाउन मञ्चका पदाधिकारी, सदस्य र लिम्बू भाषा-संस्कृतिको विकासमा सक्रिय विभिन्न संघ-संस्थाका प्रतिनिधि सहितको टोली जिल्ला शिक्षा कार्यालय पुगेको थियो ।

आधारभूत तह शिक्षा पाठ्यक्रम २०६९ मा मातृभाषा वा स्थानीय विषयको पाठ्यक्रम समन्वय समितिको समन्वयमा विद्यालय आफैले निर्माण गर्न सक्ने उल्लेख छ । त्यस्तै जिल्लामा एउटै खालको विषय मिल्दो देखिएमा जिल्ला स्तरमा र स्रोत केन्द्र स्तरमा मात्र मिल्ने विषय देखिएमा स्रोत केन्द्र स्तरीय रुपमा पाठ्क्रम निर्माण गर्न सकिने उल्लेख छ ।

सोही अनुसार ४० दशमलव १२ प्रतिशत लिम्बू भाषि भएको पाँचथरमा याक्थुङ (लिम्बू) भाषा र लिपिमा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माण र प्रकाशन गर्न समितिलाई आग्रह गरेको मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलले बताए ।

पत्रमा जिल्ला पाठ्यक्रम समन्वय समितिका सदस्य तथा स्थानीय विषयको पाठ्यक्रम विशेषज्ञ हरिचन्द्र लावतीलाई उक्त पाठ्यक्रम निर्माणको लागि उपलब्ध गराई पाठ्यक्रम निर्माणमा समन्वय गरिदिन र निर्मित पाठ्यक्रमलाई प्रकाशन गरिदिन अनुरोध गरिएको छ ।

मञ्चले आधारभूत तह (कक्षा ६-८) को याक्थुङ (लिम्बू) भाषा तथा लिपिको पाठ्यक्रम निर्माणको विषयमा शनिबार फिदिममा सरोकारवाला र विज्ञहरु सहित अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा गहन छलफल गरी निकालिएको निचोड अनुसार पाठ्यक्रम समन्वय समितिलाई पत्र बुझाइएको मञ्चले जनाएको छ । नेपालको संविधान २०७२ को धारा ३१ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने, सञ्चालन गर्ने हक हुनेछ’ भनिएको छ । सोही व्यवस्था अनुसार सम्बन्धित मातृभाषा र लिपिमा पाठ्यक्रम निर्माण गर्नुपर्ने अन्तरक्रियाको क्रममा विज्ञहरुले सुझाव दिएका थिए ।

सो पत्र बुझाउन लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलसँगै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिसा याक्थुङ्वा, जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्र कुमार जवेगु, लिम्बू भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दीलेन्द्र कुरुम्बाङ र लिम्बू पत्रकार संघको केन्द्रीय महासचिव विजयबोध लावली लगायत जिल्ला शिक्षा कार्यालय पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार