[अपडेट] ‘दुर्घटनाग्रस्त विमानको टुक्राहरू भेटीयो’

इजिप्ट एयरको विमान दुर्घटना, विमानमा ५६ यात्रु र चालक दलका १० सदस्य छन्
बीबीसी, कायराे (इजिप्ट)

अपडेट ::
दुर्घटनाग्रस्त भएको दाबि गरिएको इजिप्टएयरका केही टुक्राहरु दक्षिणी भूमध्य सागरमा फेला पारिएको ग्रीक अधिकारीहरुले बताएका छन् । विमानको खोजीकार्य संलग्न अधिकारीहरुले उक्त जानकारी दिएको ‘ग्रीक राज्य टिभी’ले जनाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि ग्रीक अधिकारीहरुले क्रेटेद्विपबाट २३० माइल दक्षिणमा दुईवटा ‘लाइफ ज्याकेट’ भेटिएको बताइएको थियो । जुन विमानकै हुन सक्ने उनीहरुले अनुमान गरेका थिए ।

यस्तै ग्रिसका रक्षामन्त्री पानोस कामेनोसले विमान राडारबाट हराएर सम्पर्क विच्छेद हुनुअघि ९० डिग्री बायाँतर्फ मोडिएर फेरी ३६० डिग्री मोडिएर २५०० फिट तल झरेको बताएका थिए ।

अहिले विमानको टुक्राहरू भेटिएको स्थानमा ग्रिस र इजिप्टका जलसेनाले खोजि गरिरहेको छ ।

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त नै भएको फ्रान्सका राष्ट्रपति फ्रान्सिस अाेलान्डले दाबि गरेका छन् ।

फ्लाइट एमएस८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् । कायरोको स्थानीय समय अनुसार बिहान २:४५ बजे बिमानको राडारसँग सम्पर्क टुटेको थियाे । बिमान ३७ हजार फिट माथि उडिरहेको बेला एक्कासी राडारसँग सम्पर्कविहीन भएको एयरलाइन्सले जनाएको थियाे ।

राष्ट्रपति अाेलान्डका अनुसार हालसम्म प्राप्त सबै सूचनाका अाधारमा उक्त विमान दुर्घटनामा परेकाे पुष्टि भएकाे बताएका छन् । उनकाे अनुसार अहिले भूमध्य सागरमा विमानकाे खाेजी भइरहेकाे छ ।

 

विमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कबिहीन भएको हो ।

एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि विमान सम्पर्कबिहीन भएको हो ।

विमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ ।

विश्वभरका विमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त विमान एयरबस ए३२० हो ।

मार्चमा पनि इजिप्ट एयरको विमान अपहरण गरी साइप्रस पुर्‍याइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार