अस्वस्थ्यकर मासु उपभोग गर्दैछन् दानावारीबासी

नमिन ढकालbadhsala

दानाबारी : झापासँग सीमा जोडिएको इलामको दानावारी गाविसमा पर्याप्त व्यवस्थित बधशाला नहुँदा स्थानिय बासिन्दा अस्वस्थ्यकर मासु खान बध्य छन् ।

स्थानीय शुक्रबारे बजार लगायतका स्थानमा शुक्रबार र बुधबार काटिने राँगा, सुँगुर, खसी तथा मासुजन्य पशुहरु बधशालाको अभावमा बाटो छेउमा काटिने गरिएको छ । बजार आसपासको क्षेत्रबाट दैनिक सयौंको संख्यामा ठुला तथा साना यातायातका साधनहरु बाहिरिने हुँदा त्यसले उडाएको धुलो मैलो विना रोकटोक प्रत्यक्ष मासुमा पर्ने गरेको छ ।

साताको दुई पटक बाटो छेउमै मासु काट्ने गरिएकोमा अहिले आएर प्रत्येक शुक्रबार भने बधशालामा नै काट्ने गरिएपनि बुधबार भने बाटो छेउमै काट्ने गरिएको छ । स्थानीय मासु व्यापारी लालबहादुर मोक्तान (पाण्डपुरे) ले गाविसले मासु काट्नको लागी पर्याप्त गोसखान निर्माण नगरिदिएको तथा निर्माण गरिएको एउटा बधशाला सँगुर काट्नका लागि मात्र पुग्ने भएकाले आफुले घर पायकमा नै मासु काट्नुपर्ने बाध्यता रहेको सुनाए ।

त्यसो त त्यो समस्या लालबहादुरको मात्र होईन । अन्य दर्जन बढी व्यपारीहरुको पनि गुनासो त्यस्तै छ । अर्का व्यवसायी लोकबहादुर श्रेष्ठ शुक्रबारे बजारमा मासु काट्नको लागि सुविधा सम्पन्न बधशाला निर्माण गर्ने हो भने त्यसको लागी आफूले सक्ने आर्थिक सहयोग प्रदान गर्ने समेत बताउँछन् । पर्याप्त र व्यवस्थित वधशाला नहुँदा शुक्रबारे बजारमा विक्रीका लागी ल्याइएका पशु बाध्ने स्थानमा सुँगुर काट्ने गरिएको छ ।

यस विषयमा गाविस सचिव डिल्लीराम सुवेदीसँग सम्पर्क गर्दा उनले बधशाला निर्माणको लागि गाविससँग पर्याप्त बजेट नभएको र स्थानीय बजार व्यवस्थापन समिती निष्क्रिय रहेकाले बधशाला निर्माणको लागि समस्या रहेको प्रतिक्रिया दिए ।

बजार व्यवस्थापन समितीका पूर्व अध्यक्ष गोविन्द दाहालले गाविस आफैंले बजार व्यवस्थापनको लागि टेन्डर आहवान गर्ने तथा आफूहरुलाई अधिकार नदिइ नामकै मात्र व्यवस्थापन समिती बनाएको कारण बाध्यताले मौन बस्नुपरेको सुनाए । यसरी बाटो छेउमा काटिने मासु अस्वास्थकर मात्र नभएर दुर्गन्ध बजारमा समेत फैलने खतरा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार