धर्ना सर्‍यो सिंहदरबार

काठमाडौं : नेपाल–भारत सीमानाकामा ५ महिना लामो धर्ना बसेका मधेसी दल आइतबार मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका तीन मुख्य नाका बन्द गर्न कस्सिए । संघीय प्रदेशको सीमांकन तथा संविधान निर्माण प्रक्रियासँग असहमति राख्दै गत वर्ष साउन ३१ देखि सात महिना लामो आन्दोलन चलाएका उनीहरू यसपल्ट पहाडका जनजाति समूह र पार्टीसँग मिलेका छन् ।

एक वर्षअघि पहाड केन्द्रित दुई पार्टीसँग एकता गरेर क्षेत्रीय राजनीतिमा नयाँ परीक्षण थालेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि दोस्रो प्रयोग थालेका छन्, सत्ता र संविधानविरोधी जातीय क्षेत्रीय दल तथा समूहलाई एकत्रित गराएर । काठमाडौं संस्थापनलाई झुकाउन मधेसमा मात्रै आन्दोलन गरेर सफल हुन नसकिने उनको निष्कर्षमा कतिपय साना दल खुसी–खुसी र केही दल बाध्यताले सामेल छन् ।

‘मलाई थाहा छ, फरक–फरक सोच, स्वार्थ र लक्ष्य भएका दललाई सँगै हिँडाउनु सजिलो होइन,’ तीनकुनेस्थित फोरम मुख्यालयमा यादवले भने, ‘तर सजिला काम रोजेर जनतालाई अधिकारसम्पन्न बनाउन सकिन्न । त्यसैले संघीय गठबन्धनमार्फत अब आन्दोलन अघि बढ्छ ।’ गठबन्धनको कमजोर तयारी, सरकारी पक्षको रणनीति आदिका कारण आइतबार सिंहदरबार घेर्ने प्रयासमा उल्लेख्य प्रदर्शनकारी नभए पनि अनेक जाति, समुदाय र भेगका बासिन्दा आ–आफ्नो वेशभूषा, बाजागाजा र झाँकीमा उत्रिएका थिए ।

हनुमानथान, माइतीघर मण्डला, बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयअघि र पद्मोदय मोडमा उनीहरूलाई रोक्न ४ हजार सुरक्षाकर्मी तैनाथ थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी गोलीगठ्ठासहित सिंहदरबार नाका सुरक्षामा खटिएका थिए भने नेपाली सेना प्रत्यक्ष रूपमा नदेखिए पनि सादा पोसाकमा उल्लेख्य संख्यामा परिचालित थिए ।

बिहान ८ देखि साँझ ५ बजेसम्म चलेको प्रदर्शनमा सिंहदरबार ठीक अघिल्लो क्षेत्र निषेधित इलाका घोषित भएकाले आन्दोलनकारी सेरोफेरोमै सीमित रहे । माइतीघर मण्डलामा प्रदर्शनकारीले बा१ज ३६१० नम्बरको सरकारी गाडी बोलेरो तोडफोड गरे । सुरक्षाफौजले प्रदर्शनकारीका २ सय ८५ थान लाठी जफत गर्‍यो । प्रतिरक्षात्मक रणनीति बनाएका सुरक्षाकर्मी संयमित देखिन्थे ।

धादिङको नौबिसे हुँदै थानकोटसम्मको क्षेत्रमा बस चढी आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले विभिन्न बहानामा रोकेको गठबन्धनको आक्रोश छ । ‘संकटकालका बेलामा जस्तै दु:ख दिने नियत देखियो,’ तमलोपा महामन्त्री जितेन्द्र सोनलले भने, ‘यात्रुलाई गाडीबाट ओरालेर सोधुपछ, जाँचपड्ताल गर्ने र ढिलो गराउने प्रवृत्ति सरकारले देखायो ।’

राजधानीकेन्द्रित आन्दोलनलाई दबाउने रणनीतिमा सरकार लागेको गठबन्धन नेताहरूको दाबी छ । यादवले त्यसो गरिए देश गृहयुद्धतिर जाने, त्यसको दोष राज्य पक्षले बेहोर्नुपर्ने चेतावनी दिए । आइतबार बेलुकी बसेको गठबन्धन बैठकले सोमबार र मंगलबार पनि सिंहदरबार धर्ना यथावत् राख्ने र त्यसपछिको आन्दोलनको स्वरूप सोमबार तय गर्ने निर्णय गरेको छ ।

यादवको काठमाडौंकेन्द्रित आन्दोलन प्रयासलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही घटकले उति रुचाएका छैनन् । उनीहरूको बुझाइमा पछिल्लो मधेस आन्दोलनमा नयाँ नेतृत्व उदाएका यादव खुसी छैनन् । मधेसवादी नेताहरूको सबैभन्दा ठूलो गुनासो छ, यादवले उनीहरूसँग सल्लाह नै नगरी एकलौटी ढंगले संघीय गठबन्धनमा अगाडि बढ्न खोजे । २९ दलीय गठबन्धनको संयोजक आफूले आफैंलाई घोषणा गरे ।

‘उहाँले कसरी यस्तो गर्नुभयो, हामीलाई थाहै छैन । एकैपटक वक्तव्य हेर्दा थाहा पायौं,’ तमलोपाका एक उच्च नेताले भने, ‘संघीय गठबन्धनको संयोजक उहाँ कहिले बन्नुभयो, हामी पनि गठबन्धनमै छौं, तर कुनै जानकारी छैन ।’ यसअघि वैशाख ६ गते राजधानीमा आयोजित गठबन्धनको कार्यक्रममा भने अध्यक्षता गर्न तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई लगाएर यादव मुख्य वक्ता बनेका थिए ।

‘गठबन्धनमा मधेसी मोर्चा छैन’
तमलोपाका ती नेताका अनुसार यादव आन्दोलनबाट गुमेको अधिकार फर्काउनभन्दा पनि ‘एक्लै नेता हुन’ कस्सिएका छन् । यादव हावी भएको राजधानीकेन्द्रित आन्दोलनमा मधेसीको खासै रुचि नहुने उनले प्रस्टयाए । सद्भावना पार्टी, तमलोपालगायत मधेसवादी दल यादवको समाजवादी फोरमसँग रिसाएको उनीहरूका अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

‘कार्पेटमुनि लुकाएर राजनीति चल्दैन, केही कन्फ्युजन छ भने बसेर क्लियर गरौं,’ तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले भने, ‘सबैले बुझ्नुपर्ने कुरा के छ भने यो गठबन्धनमा मधेसी मोर्चा आबद्ध दल छन्, तर मधेसी मोर्चा छैन ।’ त्रिपाठीले मधेसमा तीनपल्ट आन्दोलन हाँकेको मोर्चालाई बाइपास गरिएको भन्दै असन्तुष्टि जनाए । शनिबारदेखि राजधानीकेन्द्रित आन्दोलन हुँदै गर्दा उनी शनिबारै दुई साताका लागि मधेस झरे । तर त्रिपाठीले आफू पार्टी कामले गएको । ‘आज पनि मधेसमा मोर्चाका सहिद छन्, घाइते छन्, मोर्चाको उधारो जहाँतहीँ बाँकी छ,’ त्रिपाठीले थपे, ‘त्यसप्रति मधेसी मोर्चाको दायित्व सकिएको छैन । हामी हाम्रो अस्तित्वमा छँदै छौं ।’ तमलोपा अध्यक्ष महन्थ ठाकुर भने एक सातायता नयाँदिल्लीमा छन् ।

संविधान : पुनर्लेखन होइन, संशोधन
यादवसँग मधेसवादी दल असन्तुष्ट हुने अर्को कारण हो, उनले उठाएको संविधान पुनर्लेखनको माग । ६ मधेसवादी दलले मोर्चाको माग संशोधन हुने गरी संविधान संशोधन हुनुपर्ने विषय निरन्तर उठाएका छन् । यादव भने सुरुदेखि नै संविधान संशोधन नभई पुनर्लेखन हुनुपर्ने अडानमा छन् । उनको तर्क छ, ‘संविधान संशोधनबाट माग पूरा गराउनु भनेको यसै संविधानको प्रक्रिया स्वीकार्नु हो, हामी त्यो चाहँदैनौं । थुप्रै प्रक्रिया र प्रजातान्त्रिक विधि मिचेर संविधान जारी गरिएको हुनाले यसका थुप्रै धाराहरू पुनर्लेखन नै गर्नुपर्छ । संशोधनले पुग्दैन ।’

उनले प्रधानमन्त्री केपी ओलीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै उनले संविधान पुनर्लेखन र संशोधनबीच फरक छुट्याउन नसकिरहेको दाबी पनि गरे । मोर्चा नेताले भने कात्तिक १५ गते सरकारलाई बुझाएको ११ बुँदे मागपत्रमा संविधान संशोधन आफ्ना माग सम्बोधन हुने गरी गर्नुपर्ने दोहोर्‍याएका छन् । शनिबार गठबन्धनका तर्फबाट यादवले हस्ताक्षर गरेको वक्तव्यमा उनकै भाषावलीमात्रै परेको सद्भावना पार्टीका एक पदाधिकारीले आरोप लगाए । ‘हामीलाई उहाँले आफ्नै पार्टीको कार्यकर्ताजस्तो व्यवहार गर्नुभयो, हाम्रो स्वतन्त्र अस्तित्व स्वीकार गर्नु भएन,’ उनले भने, ‘यस्तै हो भने हामी किन गठबन्धनमा बसिरहने ?’

जनजाति आक्रोश : मोर्चाको मात्रै चिठी ? 
एकातिर मधेसी मोर्चा आबद्ध दल यादवमाथि खनिएका छन् । अर्कातिर जनजाति पार्टीहरूको आक्रोश उनैमाथि छ । पाँच दिनअघि सरकारी वार्ता टोली संयोजक कमल थापाले वार्ताका लागि मधेसी मोर्चालाई छुट्टाछुट्टै पत्र पठाएकामा जवाफ भने एउटै पठाउँदा गठबन्धनलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ । तीन महिनाअघि जुटेका संघीय समावेशी मधेसी मोर्चा आबद्ध रामसपा, फोरम गणतान्त्रिक र तमसपालाई थापाले छुट्टै चिठी पठाएका थिए । तमसपा, सद्भावना, तमलोपा र फोरमलाई अर्को पत्र पठाइएको थियो ।

बिहीबार मोर्चाले सरकारलाई चिठीको जवाफ पठाउँदा गठबन्धनलाई बेवास्ता गरेको नेताहरूको आरोप छ । ‘गठबन्धनबाट आन्दोलन अघि बढेको परिस्थितिमा हामीसँग पनि सल्लाह गरेर पत्रको जवाफ पठाएको भए राम्रो हुन्थ्यो,’ संघीय गठबन्धनका प्रवक्तासमेत रहेका जनमुक्ति पार्टीका वरिष्ठ सहअध्यक्ष परशुराम तामाङले भने ।

गठबन्धनकै एक जनजाति पार्टी नेताका अनुसार गठबन्धनलाई ‘बेवास्ता गर्दै’ मोर्चाले ११ बुँदे मागबारे मात्रै छुट्टै चिठी पठाएपछि जिल्ला–जिल्लाबाट शनिबारको आन्दोलनमा आउन राजधानीका लागि बस चढ्न लागेका कार्यकर्ता अल्मलिएका छन् । कतिपयले भने मधेसी मोर्चाकै आन्दोलनमा हामी जानुपर्ने भन्दै आफ्नो दलमा असन्तुष्टिसमेत जनाएको ती नेताले सुनाए ।
गठबन्धनले प्रधानमन्त्रीलाई २६ बुँदे मागपत्र बुझाइसकेको हुनाले अबको वार्ता मोर्चाको ११ बुँदेप्रति नभई गठबन्धनको मागपत्रमाथि हुनुपर्ने जनजाति दलहरूको भनाइ छ । तर, यादवले उनीहरूलाई २६ बुँदे मागपत्र ११ बुँदेकै विस्तृत रूप भएको भन्दै थुम्थुम्याउँदै आएका छन् । मधेसी मोर्चा आबद्ध दललाई उसैगरी सम्झाउँदै छन्, आखिर २६ बँ‘देमा ११ बँ‘दे पनि परेकै छ । यादवले शनिबार पत्रकार सम्मेलनमा बोल्दै सरकार अलग–अलग चिठी पठाएर गठबन्धनको आन्दोलनलाई ‘फुटाऊ र राज गर’ नीति लिइरहेको आरोप लगाए ।

गठबन्धनमा एमाओवादीकै नेता ?
२७ दलीय गठबन्धनमा एमाओवादी स्थायी समिति सदस्य गोपाल किराती संयोजक रहेको किरात राज्य संघर्ष समिति र राष्ट्रिय दलित मुक्ति आन्दोलन गरी २ नयाँ समूह थपिएका छन् । सत्तासाझेदार एमाओवादीकै नेता सत्ताविरोधी संघर्षमा किन ? भन्ने प्रश्नको जवाफमा किरातीले भने, ‘संविधानले पूरा गर्न नसकेको नयाँ राष्ट्रिय एकीकरणको अभियानलाई अघि बढाउन संघर्षमा आएको हुँ ।

यो सरकारले जनताको पक्षमा कुनै काम गर्न सक्दैन । त्यसैले हामीलाई विकल्प चाहिएको छ ।’ किराती यसअघि नै सरकारको विकल्प खोज्ने बहसका कारण चर्चामा आएका थिए । उनी एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । यस गठबन्धनमा भने किरातीले आफू पार्टीका तर्फबाट नभई किरात राज्य संघर्ष समितिका तर्फबाट आएको प्रस्टीकरण दिएका छन् ।

– इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार