सिंहदरबारभित्र परेड खेल्न तयार छौँ

काठमाडौं : संघीय गठबन्धनले आजदेखि थालेको सिंहदरबार घेराउ कार्यक्रम शान्तिपूर्ण रुपमा सफलता भएको नेताहरुले दाबी गरेका छन ।
कार्यक्रममा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले सिंहदरबारभित्र सिंहहरु बस्नुपर्ने तर स्यालहरु बसिरहेको भन्दै स्यालहरुको चाँडै अन्त्य हुने बताए । अधिकार प्राप्तिको आन्दोलनमा मधेसमा ५८ जनाको गोली हानी हत्या भएको प्रसंग उल्लेख गर्दै नेता राईले मधेसी जनताको बलिदान खेर जान नदिने बताए । पहिचानको आन्दोलनमा केपी ओली सरकार डराएर धादिङ लगायतका स्थानहरुमा आन्दोलनकारीलाई रोकिराखेको बताए ।
आजको सिंहदरबार घेराउ रिहर्सल मात्र भएको उल्लेख गर्दै पहिचानवादीको आवाज नसुनिए दरबार भत्काउन आफूहरु तयार रहेको उनले बताए ।
कार्यक्रममा थरुहट पार्टीका सभासद गोपाल दहित, नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, संघीय लिम्बुवान पार्टी नेपालका भगीराज तुम्सा, किरात संघर्ष समितिका अर्जुनकुमार राई, मधेसका उर्मिला पाण्डे, बबन सिंह, महिलाको तर्फबाट लिला सिटौला लगायतले बोलेका थिए । वक्ताहरुले उत्पीडित जनता सिंहदरबारभित्र ‘परेड’ खेल्न तयार रहेको बताए ।
आज बिहान ९ बजेदेखि नै माइतिघर मण्डला, अनामनगरको गणेशथान, पुतली सडकमा ठूलो संख्यामा आन्दोलनकारी सहभागी भएका थिए । आन्दोलनकारीहरुले दिनभर नाराजुलुस र सांस्कृतिक कार्यक्रम राखेका थिए ।
माइतिघर मण्डलामा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि पटक पटक घम्साघम्सी भएको थियो । ठूलो संख्यामा आन्दोलनकारी उपस्थित भएपछि प्रहरीले दुई वटा पानीको फोहोरा हान्ने ट्यांक सडकमा ल्याएका थिए । घेरा बलियो बनाउने क्रममा प्रहरीले पाँचवटा घेरा बनाएका थिए ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, अशोककुमार राई, कुमार लिङ्देन, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठलगायतका नेताहरु दिनभर सडकमा बसेका थिए ।


















































