एजेन्सी– पछिल्ला वर्ष विश्वभर मधुमेह रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् १९८० मा विश्वभर ११ करोड रहेका मधुमेह रोगीहरुको संख्या सन् २०१४ सम्ममा ४२ करोडभन्दा बढी पुगेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले एउटा आश्चर्यजनक रिपोर्ट समेत बाहिर ल्याएको छ । कुनैपनि मानिसको रगतमा चिनीको उच्च मात्रालाई हरेक वर्ष विश्वभर ३७ लाख जनाको मृत्युसँग संगठनले जोडेको छ ।
मधुमेहको विरामीमा सो रोगको असर देखापरेको समयदेखि केही वर्षसम्म त्यसको वास्तानै नगर्ने हो र जथाभावी खानेकुरा खाने हो भने उसको आयू त्यसकै कारण छोटिने रिपोर्टहरुले दखाइरहेका छन् ।
अर्को आश्चर्यजनक रिपोर्ट के छ भने सन् १९८० को दशकमा विकसित र अति सम्पन्न राष्ट्रहरुमा मधुमेहका रोगीहरुको संख्या धेरै पाइन्थ्यो तर पछिल्ला वर्षका तथ्यांकहरु हेर्दा कम र मध्यम आय भएका मुलुकहरुमा धेरै रोगीहरु देखिएका छन् ।
रिपोर्ट अुनसार अबका वर्षहरुमा कम आए भएका मुलुकहरुमा यो नकारात्मक संकेत हो र उनीहरुलाई ठूलो आर्थिक लगायतका भारहरु पर्ने देखिन्छ ।
मधुमेह पछिल्लो शताब्दीमा सदाबहार रोगका रुपमा देखा परिरहेको छ । यसको मात्रा शरीरमा नियन्त्रण गर्न नसकेमा स्वास्थ्यमा ठूलो असर पर्न सक्छ ।
मधुमेहका कारण ह्रदयघातको सम्भावना ३ गुणा बढी बढाउँछ भने खुट्टानै काट्नुपर्ने अवस्था ३ गुणा बढीले बढाउँछ ।
यो रोगले त्यतिमात्र होइन, अन्धोपना, पक्षघात, गर्भवती महिलामाथिको असर, मृगौलाको रोग लगायतका खतरनाक असरहरु देखा पर्छन् । यसको नियन्त्रणमा व्यक्तिदेखि सिंगो समाजनै लाग्नुर्ने देखिन्छ ।
यो रोगका कारण वर्षमा विश्वभर १५ लाख मानिसहरुले ज्यान गुमाइरहेका छन् । यो मानिसको खानपान र उठबसले निर्धारण हुने रोग भएकोले गुलियो पदार्थ भएका खानेकुराको प्रयोगमा कमी ल्याउने र शारिरीक व्यायमलाई जीवनशैलीसँग गाँसे यसले नकारात्मक प्रभाव पार्न नसक्ने चिकित्सकहरुको सल्लाह छ ।
यसका अलवा आफ्नो वजनलाई धेरै बढाउन नहुने समेत चिकिस्तसहरुले बताउने गरेका छन् । मानिसको रगतमा चिनीको मात्रा घटाउने उपायहरुलाई अबलम्बन गर्नुनै यसको नियन्त्रणको प्रभावकारी उपाय हो ।
विश्व स्वास्थ्य संगठनले भनेको छ यो रोगको नियन्त्रणका लागि एउटा व्यक्तिले मात्र हुन्न्, सिंगै समाजको सक्रियता आवश्यक छ । अहिले विश्वमा मधुमेह रोग द्रुत गतिमा बढिरहेको र झण्डै ११ जनामध्ये एकजना वयस्कलाई प्रभावित गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।