ओबामा हिरोसिमा जाने

वासिङ्टन : बाराक ओबामा आउने महिना हिसासिमा जाने भएका छन् । ओबामा सन् १९४५ मा अमेरिकी आणविक बमबाट ध्वस्त भएको जापानी सहर भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्दै छन् ।

मे २१ देखि २८ सम्मको एसियाली भ्रमणअन्तर्गत ओबामाले हिसासिमामा समेत अर्थपूर्ण हिसाबले पाइला राख्न लागेका हुन् । उनी भियतनामसमेत जानेछन् ।

अगस्ट ६, १९४५ मा भएको हिसासिमा विस्फोटमा १ लाख ४० लाख मानिसको ज्यान गएको थियो । सँगै अर्को सहर नागासाकीमा पनि यस्तै आणविक बम खसालियो र व्यापक धनजनको क्षति भयो । यी दुवै बमसँगै दोस्रो विश्वयुद्ध टुंगेको मानिन्छ ।

जिम्मी कार्टरले हिसासिमा भ्रमण गरे, तर राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल सकिएपछि मात्र ।

ओबामाका प्रेस सेक्रेटरीबाट जारी वक्तव्यमा उल्लेख छ–‘शान्ति र सुरक्षाका लागि आणविक हतियारमुक्त विश्व निर्माण गर्ने प्रतिबद्धता उजिल्याउन राष्ट्रपतिले जापानी प्रधानमन्त्री सिन्जो आवेसंगै हिरोसिमाको ऐतिहासिक भ्रमण गर्नुहुनेछ ।’

ह्वाइट हाउसले चाहिँ उक्त बमकाण्डका विषयमा क्षमायाचना नगरिने संकेत गरेको छ । राष्ट्रपतिका सञ्चार सल्लाहकार वेन रोडेजले आफ्नो ट्वीटर पेजमा भनेका छन्, ‘दोस्रो विश्वयुद्धमा देश सेवा गर्ने सम्पूर्ण नेता एवं सुरक्षाफौजमा संलग्न महिला र पुरुषप्रति अमेरिका सदैव गर्वशील रहनेछ ।’

रोडेजले ‘ओबामा दोस्रो विश्वयुद्धको अन्त्यमा आणविक बम प्रयोग गरिएको विषयतिर फर्कनुहुन्न । बरु उहाँले द्विपक्षीय भविष्यमा केन्द्रित अग्रगामी दृष्ट्रिकोण दिनुहुनेछ ।’

उनले यो भ्रमणबाट युद्धमा ज्यान गुमाएका सम्पूर्ण निर्दोषहरूको स्मृतिलाई सम्मान गर्ने अवसर मिल्ने बताए । रोडेजले भने, ‘हामीले एकासाथ भोगेको विगत, वर्तमान समयलाई प्रभावित तुल्याउने पक्ष र सन्ततीका लागि हामीले खोजेको भविष्य खुट्याउनका लागि इतिहासलाई खुलेर बुझन जरुरी छ भन्ने जानेर राष्ट्रपति र उहाँको टोलीले यो भ्रमण गर्न लागेको हो ।’

ओबामाले जापानको इसे सीमा प्रायद्विपमा आयोजना हुने जी–७ समिटमा भाग लिने र त्यहीं आबेसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसअघि उनले भियतनामी नेताहरूसँग भेट्नेछन् । हनोइमा उनले अमेरिकी–भियतनाम सम्बन्धबारे एक भाषण दिने कार्यक्रम छ ।

  •     हिरोसिमामा खसालिएको बमको नाम राखिएको थियो, लिटल ब्वाई । २० हजार टन टिनटीको विस्फोटकीय शक्ति यसमा रहेको थियो ।
  •     इलियानोइसका ३० वर्षीय कर्नेल पल टिवेटस्ले जापानमा आणविक बम खसाल्ने मिसनको नेतृत्व गरेका थिए ।
  •     टिवेटसी आमाको नाम (इनोला गे) बाट बम बसाल्ने युद्धक विमानको नामकरण गरिएको थियो ।
  •     बम खसाल्नु मात्रै एक घण्टाअघि निसाना निश्चित गरिउको थियो । हिरोसिमामा त्यतिबेला राम्रो मौसम रहेकाले बम खसाल्न सजिलो भएको थियो ।
  •     बम विस्फोट भएको बिन्दुमा तापक्रम लाखौं डिग्री हुन पुगेको थियो । बम विस्फोटलगत्तै हजारौं मानिस ठाउँको ठाउँ मारिनुका साथै लाखौं मानिस घाइते भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार