रोचक बन्दै इलामको उप-निर्वाचन

  प्रेम अधिकारी
280 Shares

पशुपतिनगर (इलाम) : इलाम मंगलबारेकी व्यवसायी सुमित्रालाई यतिबेला नमस्कार फर्काउन भ्याईनभ्याई छ। उम्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्।  सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्। हामीले धेरै हेरी सक्यौ, मुख्य कुरा त यो क्षेत्रको विकास नै हो, यहा के के भयो भन्ने कुरा सबैका आँखा अगाडि छर्लङ छ।’

यतिबेला सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले दिनैपिच्छे जस्तो बाजागाजा घन्काएर कार्यक्रम गरिरहेका छन्। मुख्य गरी इलाम बजार र मंगलबारे बजार इलाम निर्वाचन क्षेत्र नं. २ कै मुख्य बजार हुन्। नेतादेखि कार्यकर्ताको लस्कर लाग्ने गरेको छ।

यसपटकको उप निर्वाचनमा इलामममा उम्मेदवारले रोचक ढंगले मत मागी रहेका छन्। आफ्ना आफ्ना उम्मेदवारका गीत बनाइएको छ। गीत बज्न थालीसक्दा कुन पार्टी अथवा स्वतन्त्र उम्मेदवार आएको हो भन्ने मतदातालाई अग्रिम थाहा हुन्छ। अनि मतदाता उम्मेदवार र नेतालाई त्यही अनुसारको व्यवहार गरेर पठाउने गरेका छन्।

इलामको चुलाचुली ३ का एन.बी. लावती उम्मेदवारमा मत माग्ने शैली फेरिएको बताउनु हुन्छ। उहाँका अनुसार पुराना दलले नयाँको सिको गरेर मत माग्ने शैली बदलेको बताउनुभयो। लावतीले भन्नुभयो, ‘यो विकास गर्छु, त्यो गर्छु भनेका छैनन्, यहाँको आवश्यकतामा ध्यान दिन्छु भनेका छन्।’

कार्की मात्र होइन अधिकांश मतदाताले घरमा पुगेका उम्मेदवार र पार्टीका प्रतिनिधिलाई मत दिने आश्वासन दिएर पठाउने गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान वादी बिच इलाम २ मा चार पक्षीय कडा टक्कर हुने देखिन्छ।

यस पटक इलामको निर्वाचन निक्कै भिन्न छ। सबै दलले यस पटक डिजिटल प्रचारप्रसार गरिरहेका छन्। विगतका निर्वाचन जस्तो ठूला र भड्किला आमसभा खासै भएका छैनन्। यो पटकको निर्वाचनमा बिगतमा जस्तो एउटा दलले अर्का दलका उम्मेदवारलाई गालीगलोज गरेको सुन्न पाइदैन।

नेकपा (एमाले) इलामका सचिव उमेश गुरुङ यस पटक निर्वाचन प्रचारको काम बिल्कुल फरक भएको बताउनु हुन्छ। गुरुङको अनुभवमा प्रचार प्रसारको शैली पूर्ण रुपमा परिवर्तन भएको छ। उहाँ भन्नुहुन्छ, ‘डिजिटल प्रचारले सहज छ। यस पटक पुल बनाउने जस्ता विकासका आश्वासन कुनै उम्मेदवारले दिएको सुनेको छैन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत मत माग्न इलाम आउनुभयो। एमाले नेत्री शिवमाया तुम्वाङ्फेले एमालेको उप निर्वाचन कमान्डरको जिम्मेवारी सम्हाली रहनु भएको छ। एमालेले स्वर्गीय सभामुख सुभाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उठाएको छ। इलाममा सुहाङको परिचय नै सुभासको छोरा भन्ने बनिसकेको छ। एमालेलाई नेकपा (माओवादी केन्द्र)लगायत दलको समर्थन रहेकाले उसको प्रभाव बढी नै रहेको अनुमान गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव पूर्ण गौतम यस पटक अरुलाई गाली गर्ने भन्दा आफ्नो मत समेट्नमै पार्टी केन्द्रित भएको बताउनुहुन्छ। गौतमले भन्नुभयो, ‘एक अर्कामा आरोप प्रत्यारोप खासै छैन, यो निर्वाचनको राम्रो पक्ष हो।’

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा चुनावी अभियानमै व्यस्त हुनुहुन्छ। महामन्त्री शर्माले कांग्रेस इलामको निर्वाचन कमाण्डरको जिम्मेवारी सम्हाली रहनुभएको छ। कांग्रेसले पार्टीका जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाएको छ। खड्का राजनीतिसँगै समाजसेवाका कामले जिल्लामा परिचित हुनुहुन्छ।

इलाम २ को उप निर्वाचनमा नयाँ शक्तिको रुपमा आफूलाई परीक्षण गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारी दिएको पहिचानवादी समूह फरक शैलीमा मतदातालाई आर्कषित गर्ने काम गरिरहेका छन्। विभिन्न नाचगानसहित उनीहरुले रमाइलो गर्दै मत मागिरहेका छन्। रास्वपाका सह प्रवक्ता रमेश प्रसाईं आफै गीत गाएर नाच्न थाल्नु हुन्छ। अनि मतदाता पनि उहाँसँगै गाउन र नाच्न थाल्छन्। त्यसो त रास्वपाको कार्यक्रममा रमेश प्रसाईंलाई हेर्नका लागि पनि धरै जम्मा हुने गरेका छन्।

इलाम २ को उपनिर्वाचनमा रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचनको कमाण्ड सम्हाल्नु भएको छ। उहाँसँगै पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेता डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, सोविता गौतम  लगायतले आलोपालो गर्दै मत मागी रहनुभएको छ।

रास्वपाले अन्य दल भन्दा अझ फरक तरिकाले घरदैलो गरिरहेको छ। रास्वपाका देशभरका नेता कार्यकर्ता आलोपालो गर्दै आइरहेका छन्। चोकमा साना कोणसभा गरे पनि रास्वपा नाच्दै गाउँदै मतदाताका घर घरमा मत माग्न पुगेको छ। रास्वपाले इलाम २ मा वर्षौंसम्म पुराना दलले विकास नगरेको भन्दै भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषिका मुद्दा उठाउदै आएको छ। रास्वपाले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ।

कोशी प्रदेशको नामाकरणपछि जन्मिएको पहिचानवादी आन्दोलनको नेतृत्व गर्नुभएका डकेन्द्र सिंह थेगिमको चुनावी अभियान अझ रोचक छ। छोरा एकदेव र छोरी सुनिता दुबै गायक गायिका हुन्। सुनिताले बुवाको कार्यक्रममा गीत गाउन थालेपछि नाच्नेको ठूलै भीड जम्मा हुने गरेको छ।

थेगिमले पहिचानका मुद्दालाई विशेष प्राथमिकतामा राखेर मत माग्दै आउनुभएको छ। उहाँ छोरा–छोरीसहित जम्बो कलाकारको टोलीले गीतबाटै पहिचानका कुरा उठाएर मत माग्ने गरेका छन्। पहिचानवादी नेता राम लिङ्देनले सामान्य तरिकाले मतदातालाई पहिचानका मुद्दा बुझाउने काम भैरहेको बताउनुभयो। पहिचानवादी समूहलाई डा. बाबुराम भट्टराई , स्वागत नेपाल, युग पाठक, केपी पालुङ्वासँगै पहिचानवादी सबै मोर्चाको सर्मथन छ। मुढा चिह्नमा पहिचानवादीले मत मागिरहेका छन्। पहिचानवादी नेता थेगिम पूर्व शिक्षक तथा समाजसेवी हुनुहुन्छ।

नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराई बिगतमा इलाम २ मा एमाले कांग्रेसको दुई पक्षीय भिडन्त हुँदै आएकोमा अहिले चार पक्षीय भिडन्त रहेको बताउनु हुन्छ। अध्यक्ष भट्टराईले इलाम २ मा एमाले–कांग्रेस मात्र छन् भन्ने अब नरहेको बताउनुभयो।

उच्च अदालत बार एसोसिएसन इलामका अध्यक्ष उत्तम पौडेल यस पटकको निर्वाचनमा देशैभरका नेता कार्यकर्ताको भीड इलाममका लाग्नु राम्रो पक्ष भए पनि सुरक्षा चुनौती थपिएको बताउनु हुन्छ। नेकपा एकीकृत समाजवादी, राप्रपा, मंगोल नेशलन अर्गनाइजेसन सहित २० जना उम्मेदवारले आ–आफ्नै पारामा मत मागी रहेका छन्। इलाम–२ मा आउदो वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ जना रहेको छ।

-गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार