राजनीति केपी ओलीले किन फिर्ता मागे भीम रावलको राजीनामा ?

काठमाडौं : नेकपा एमालेको आठौं महाधिवेशन २०६५ सालमा बुटवलमा भएको थियो । त्यो महाधिवेशनमा एमाले नेता भीम रावल सचिवका उम्मेदवार बनेका थिए । तर, रावलले सचिवमा हारेपछि केन्द्रीय सदस्य पदको सपथ ग्रहणसमेत बहिस्कार गरे ।

जतिबेला मुलुकमा जातीय पार्टी बनाउने माहोल चलेको थियो, त्यसबेला रावल पनि क्षेत्री पार्टी बनाउने भनेर लागि परे । त्यसक्रममा उनले पोखरा पुगेर भाषण नै गरेका थिए । त्यसपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । नेपालको मन्त्रिमण्डलमा रावल गृहमन्त्री बन्ने निश्चित भएपछि मात्रै उनले केन्द्रीय सदस्यको सपथ लिए ।

त्यसबेला झलनाथ खनाल एमालेको अध्यक्ष थिए । उनै खनालले रावल गृहमन्त्री भएपछि सुवास नेम्वाङ र रावललाई पोलिटब्युरो सदस्य बनाउन सिफारिस गरेका थिए । तर, खनालको उक्त सिफारिसप्रति पार्टीभित्रै विवाद भयो । केही नेताहरुले निर्वाचन विना बढुवा गर्न मिल्दैन भनेपछि उक्त विषय त्यसै सामसुम भयो ।

पछि पार्टीको नवौं महाधिवेशन भयो । त्यसमा भीम रावल माधव नेपालको टिमबाट उपाध्यक्षमा निर्वाचित भए । उपाध्यक्ष निर्वाचित भएपछि अध्यक्ष ओलीसँग त्यति धेरै सुमधुर सम्बन्ध नभए पनि नेता नेपालसँग पनि धेरै नजिक हुन सकेनन् । त्यसै क्रममा एमाले र माओवादी मिलेर बनेको नेकपा र ओली नेतृत्वको सरकार बनेपछि भने रावल ओलीका कट्टर आलोचककै रुपमा चिनिए ।

‘त्यसबेला एमसीसी र नक्सा प्रकरणमा उहाँको अडान राष्ट्रवादी धारमा थियो’, एमाले नेता बेदुराम भुसाल भन्छन्, ‘उहाँ आफूलाई लागेको कुरा गरिहाल्ने नेता हो ।’ तर, कतिपयले रावलले त्यसबेला ओलीको आलोचना गर्नुमा नेकपाको सचिवालय सदस्य हुन नपाएको अर्थमा समेत बुझेका छन् ।

अछामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनै रावलले आइतबार अचानक सांसद पदबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि एमालेमा एक किसिमको हल्लीखल्ली नै मच्चिएको छ । उनको राजीनामाको विषयलाई लिएर कतिपयले बरिष्ठ नेता माधव नेपालको साथ छोडेको भनेर टिप्पणी गरेका छन् भने कतिपयले आवेशको निर्णय समेत भनेका छन् ।

राजीनामापछि रावलले आफू ओली वा नेपालको कित्तामा कता जाने भन्ने स्पस्ट पारिसकेका छैनन् । तर, रावल निकट एक नेता भन्छन्, भीम कमरेड ओली कित्तामा जानुहुन्छ भन्ने विश्वास गर्न सकिन्न । हामीसँगको कुराकानीमा पनि माधव नेपाल पक्षमै रहने उहाँको संकेत बुझिन्छ ।’

यहीबेला आइतबारको एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक कदम अघि बढेर रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएपछि रावलले हतारमा राजीनामा दिएको अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमै ब्रिफिङ गरेका थिए ।

‘सल्लाह गर्नुपर्याे नि, हतारिएर किन राजीनामा दिएको ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले रावलको नाम लिँदै बैठकमा भनेका थिए । ‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौँ, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर भनेर उल्टो हप्काएर पठाएछन्’, ओलीले बैठकमा भनेका थिए, ‘पार्टी निर्णय पनि नमान्ने, मनलाग्दी गर्दै हिँड्ने, कमिटीमा अल्पमतमा छु, मेरो कुरा सुनुवाई हुँदैन भन्दै बार्गेनिङ गर्ने अनि पार्टी अध्यक्ष पनि चाहिने, कस्तो विधि पद्दति हो यो ?’ ओलीको प्रश्न थियो ।

उपाध्यक्ष रावलले उच्च राजनीतिक नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाका कारण नेपालको राजनीति घृणित भएको भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । यसअघि एमाले विवाद समाधान गर्न गठित माधव नेपाल पक्षको कार्यदलको संयोजक रहेका रावल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने अडानमा थिए ।

कार्यदलमा रहेर पार्टी एकताका लागि १० बुँदे प्रस्ताव तयार गरेका रावल एमालेको नवौं महाधिवेशनपछि ओलीका कट्टर विरोधीका रुपमा चिनिँदै आएका थिए । पछि एमाले र माओवादी एकता गरेर घोषणा भएको नेकपा र नेकपाको नेतृत्वको सरकार रहँदा समेत रावलले ओलीका काम कारवाहीप्रति खरो आलोचना गर्ने गरेका थिए ।

एमसीसी, नेपालको चुच्चे नक्सा लगायतका विषयमा राष्ट्रवादी अडान बनाएका रावल पछिल्लो पटक कार्यदल ब्यूँतिएपछि भने ओलीसँग केही नजिक हुन पुगेको आशंका नेपाल पक्षले गर्दै आएको थियो । यद्यपि उनले त्यस्तो आशंकाको खण्डन गरिसकेका थिए ।

तटस्थ बस्नेलाई फकाउने ओलीको रणनीति

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ३३ जना एमाले सांसदले पार्टी निर्देशन मानेन । यसरी पार्टी निर्देशन नमान्नेहरुमध्ये केहीले देउवाको पक्षमा मत दिए भने केहीले तटस्थ बसेर निर्देशनको अवज्ञा गरेका थिए । तर, आइतबार बसेको एमालेको केन्द्रीय समिति बैठकले भने देउवाको पक्षमा मतदान गर्ने २२ जनालाई मात्रै स्पष्टीकरण सोधेको छ । बाँकी ११ जना तटस्थ बस्नेहरुका बारेमा एमाले मौन बसेको छ । तटस्थ बस्नु भनेको पनि पार्टी निर्देशन अवज्ञा गर्नु नै हो तर उनीहरुमाथि किन कारवाही वा स्पष्टीकरण सोधिएन ? यसबारेमा एमाले नेताहरु बोल्न डराइरहेका छन् ।

 ‘उहाँहरु हामीतिरै नजिक हुनुहुन्छ । त्यसो भएकाले उहाँहरुलाई स्पष्टीकरण सोध्ने वा कारवाहीबारे कुनै निर्णय नगरिएको हो’, ओली पक्षका एक नेता भन्छन्, ‘अरु २२ जना अव एमालेमा फर्कन्छन् भन्ने आशा छैन ।’

ती नेताका अनुसार आइतबारको मतदानमा तटस्थ बस्ने गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झपट रावल, यज्ञराज सुनुवार, भीम रावल, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, योगेश भट्टराई र राजबहादुर बुढा ओली पक्षमै आउने तयारीमा छन् । तर, कसरी ‘सेफ ल्यान्डिङ’ गर्ने भन्नेमा अलमलमा रहेकाले उनीहरुमाथि ओलीले नरम नीति लिएका हुन् । सोही नीति अनुसार सोमबार बालकोटमा स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठक डाकिएको हो ।

‘तटस्थ बस्ने ठूलो पंक्ति छ । यो पंक्तिले पार्टी एकताका लागि तटस्थ बसेको भनेको छ । तर, अब पार्टी एकता सम्भव छैन, उहाँहरुलाई एमालेमा कसरी समाहित गर्ने भन्ने एउटा गृहकार्य जरुरी छ । साथै अरुलाई कस्तो कारवाही गर्ने भन्नेमा एकमत हुन पनि जरुरी छ’ ती नेताको भनाइ छ ।

-रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार