खेलकुद क्षेत्रबाट आर्थिक उन्नति गर्न सकिन्छ:- मन्त्री आङ्बो

  युद्धबहादुर बोहोरा
7 Shares

पाँचथर : खेलकुद क्षेत्रबाट देशको आर्थिक उन्नति गर्न सकिने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

फाल्गुनन्द गाउँपालिका-५,निंगुरेमा निर्माण हुन लागिरहेको “पिवाइसि इन्द्र वीर रंगशाला”को शिलान्यास कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

दक्षिण अमेरिकी राष्ट्रमा खेलकुदको विकासबाट मुलुकको पर्याप्त आर्थिक लाभ भएको उदाहरण दिंदै उनले भने,”खेलकुदले आर्थिक उन्नतिका साथ राष्ट्रको परिचय दिन्छ।खेलकुदमा पूर्वाधार आवश्यकता भएकोले ,यसमा सरकारको दायित्व छ।”

नेपालको राजनीतिक अवस्था स्थिर भए संगै सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै विकास निर्माण लगायत अन्य काममा तिब्रता दिएको बताए। पाँचथर जिल्लाको रुपरेखालाइ विकास निर्माणको माध्यमबाट परिवर्तन गरिने बताउँदै प्रदेश सरकारबाट उपलब्ध ५० लाख रुपैयाँको जौबारी-कोप्चे हुँदै नागेम्बा जाने फाल्गुनन्द-५ को मोटर बाटो साथै ५० लाख रुपैयाँको लागत निर्माण हुने कृष्ण माध्यमिक विद्यालयको भवनको शिलान्यास गरेका छन् ।

त्यस्तै संघीय साँसदबाट उपलब्ध १० लाख रुपैयाको च्याप्लुङ्ग-खुम्ल्या हुँदै पैंयुबोटे जाने वडान.-४,चिलिङ्ग्देनको मोटर बाटो र १० लाख रुपैयाको मुङ्लाङ खेलमैदान लगायतका योजनाको समेत सार्वजनिकिकरण भएको थियो। फाक्तेप युथ क्लब (पिवाइसि) को पहलमा बन्न लागेको रंगशालाका लागि स्थानीय समाजसेवी इन्द्रबहादुर चेम्जोङ र छोरा वीर बहादुर चेम्जोङको नाममा उनीहरुका परिवारले छ रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् ।

आगामी १५ वर्ष सम्ममा पुर्वी पहाडी क्षेत्रको नमूना रंगशाला निर्माण गर्ने र एक वर्ष भित्रमा स्थानीय खेल संचालन गर्न सकिने लक्ष्य राख्दै रंगशाला निर्माण सहयोगको प्रस्तावना पत्र क्लब अध्यक्ष पन्चकुमार चेम्जोङले मन्त्री आङ्बोलाई हस्तान्तरण गरेका थिए। प्रस्तावना ग्रहण गर्दै मन्त्री आङ्बोले रंगशाला निर्माणको बजेट सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

पाँचथर जिल्लाका संघीय साँसद बसन्तकुमार नेम्बाङको विकास कोषबाट विनियोजन १५ लाख रुपैया र वडा न.-५ बाट दुई लाख गरि जम्मा १७ लाख रुपैयाँको लागतमा रंगशालाको २५ रोपनी जग्गामा डिपिआर पछि काम थालनी गरिने क्लबका अध्यक्ष चेम्जोङले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार