इलाममा चुनावी रौनकता बढ्दै

0
285

राम योङहाङ

इलाम : इलाममा चुनावी रौनकता बढेको छ । आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लाका दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबीच मुख्य चुनावी प्रतिष्पर्धा हुने जिल्लामा दुवै दल तयारीमा जुटेका छन् । बाम गठबन्धनले आफूले आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा मत माग्ने काम सुरु गरेका छन् । लोकतान्त्रिक गठबन्धनले भने अन्तिम नाम टुङ्गो नालागेकाले सुरु गरेका छैनन् ।

प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्रमध्ये बाम गठबन्धनका एमालेले दुवै क्षेत्र पाएको छ । जसमा क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झलनाथ खनाल चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । कांग्रेसका तर्फबाट भने सो क्षेत्रमा पूर्व जलश्रोत राज्यमन्त्री बेनुपराज प्रसाई चुनावी मैदानमा उत्रिने चर्चा छ । नेता प्रसाईसँगै कांग्रेसका आकांक्षी धेरै छन् । खनाललाई चुनौती दिन प्रसाईसहित कांग्रेसका पूर्वक्षेत्रीय सभापति भूपेन्द्र कट्टेल, महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापाको नाम पनि जोडिएका छन् । आंकाक्षी धेरै भएकाले कांग्रेसले अझै उम्मेदवारी टुङ्गाइ सकेको छैन ।

खनाल सो क्षेत्रबाट यसअघि चार पटक विजयी भइसकेका छन् । यसअघि दुई निर्वाचन क्षेत्र हुँदा २०४८ र तीन क्षेत्र भएपछि २०५१ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । २०५६ को संसदीय निर्वाचनमा भने नेपाली कांग्रेसका नेता वेनुपराज प्रसाईसँग पराजित भएका थिए ।

यस्तै क्षेत्र नम्बर २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ लड्दैछन् । नेम्बाङ यसअघि सोही क्षेत्रबाट लागातार तीनपटक निर्वाचित भईसकेका छन् । उनी २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका हुन् ।

त्यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व सांसद केशव थापा चुनावी मैदानमा उत्रिने भएका छन् । उनको निर्णय भईनसेपनि लगभग निश्चित भईसकेको कांग्रेस श्रोतको दावी छ । थापा यसअघि ३०६४ मा सोही क्षेत्रबाट नेम्बाङसँग पराजित भएका थिए । २०७० मा भने क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए ।

यता प्रदेशसभा सदस्यका लागि चार क्षेत्रमध्ये तीनवटा नेकपा एमाले र एउटा माओवादी केन्द्रको भागमा परेको छ । निर्वाचन क्षेत्र नम्बर १ (१) र (२) तथा २ (१) नेकपा एमालेको भागमा परेको छ । आफूले पाएको मध्ये एमालेले १ (२) मा काजीमान कागतेलाई उम्मेद्वार बनाएको छ । त्यस क्षेत्रमा कांग्रेसका दुर्गा बरालको चर्चा छ । यद्धपी निर्णय भईसकेको छैन ।

क्षेत्र नम्बर १ (२) मा भने जिल्लामा उम्मेद्वारको टुङ्गो लागेको छैन । ७ जनाको नाम केन्द्रमा पठाईएको जिल्ला सचिवालय सदस्य नवराज शंकरले जानकारी दिए । त्यस क्षेत्रमा कांग्रेसको पनि टुङ्गो लागेको छैन । पछिल्लो समय डम्बर खड्काको नाम चर्चामा छ । त्यस्तै २ (१) मा एमालेले पार्टीका जिल्ला अध्यक्ष रामबहादुर रानालाई उम्मेद्वार बनाएको छ । त्यस क्षेत्रमा कांग्रेसको पूर्व जिल्ला कोषाध्यक्ष डम्बर खड्का र जिल्ला सचिव खगेन्द्र देवानको नाम चर्चामा छ ।

माओवादीको भागमा परेको २ (२) मा भने उम्मेद्वार टुङ्गो लागेको छैन । त्यहाँ पार्टीका पोलिब्युरो सदस्य तथा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रवण) र सहइन्चार्ज हर्क लावती (कान्छा) आकाङ्क्षी भएपछि सहमति हुन सकेको छैन । यद्धपी जिल्ला सचिवालयको बहुमत सदस्यको निर्णयले शर्माको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । केन्द्रले अन्तिम निर्णय पठाउन बाँकी रहेको माओवादीले जनाएको छ । त्यस क्षेत्रमा कांग्रेसका तर्फबाट पूर्व सांसद नगेन्द्र कुमाल र जिल्ला सचिव खगेन्द्र देवानको नाम चर्चामा छ ।

बाम गठबन्धनले संयुक्त कार्यदल नै निर्माण गरी चुनावमा होमिएको छ । कार्यदलले संयुक्त चुनावी अभियानका कार्यत्रमहरु सञ्चालन गर्ने जनाईएको छ ।

यता जिल्लाका अन्य दलहरुले भने औपचारिक तयारी सुरु गरेका छैनन् । संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुत्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेशन लगायतका दलहरुले पनि निर्वाचनमा सहभागिता जनाउने छन् । तर उम्मेद्वारको टुङ्गो लाग्न नसकेकाले चुनावी तयारी सुरु गरेका छैनन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here