निर्वाचन तयारी तीब्र

0
111

राम योङहाङ

इलाम : आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय इलामले तयारी सुरु गरेको छ ।

निर्वाचन आयोगबाट प्राप्त निर्देशनका आधारमा जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी युद्धस्तरबाट सुरु गरेको हो । अभिमुखीकरण, निर्वाचन शिक्षा कार्यकर्ता छनौट र जनशक्ति विवरण संकलनको काम धमाधम भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले मतदानस्थल र मतदान केन्द्र निर्धारण सम्पन्न गरी जिल्लाका १० वटै स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई निर्वाचन शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लामा एक ४४ मतदान स्थल र दुई सय ६६ मतदान केन्द्र कायम भएका छन् ।

त्यस्तै कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताहरुको छनौट सुरु गरेको छ । मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदाताहरुलाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा सामाजिक परिचालक र बाल शिक्षाका सहयोगी कार्यकर्ताहरुलाई परिचालन गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार लिम्बूले नयाँ बुलन्दलाई जानकारी दिए । प्रत्येक एक मतदान केन्द्रमा एक जना निर्वाचन शिक्षा कार्यकर्ता पर्ने गरी दुई सय ६६ निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गर्न लागिएको छ ।

लिम्बूका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षाका रुपमा काम गरेका दुई सय ४४ लाई यथावत खटाईनेछ । बाँकी २२ जना नयाँ थप गरिनेछ । त्यसका लागि स्थानीय तहसँग नाम माग गरिएको उनले जानकारी दिए । नामावली प्राप्त भएपछि एक दिने निर्वाचन शिक्षा सम्बन्धी तालिम दिएर २१ कात्तिकदेखि एक महिनाका लागि खटाईने उनले जनाए । त्यसका लागि निर्वाचन शिक्षा सामग्री निर्वाचन आयोगबाट आउने क्रममा रहेको जनाईएको छ ।

त्यसैगरी निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण संकलन गरिरहेको जनाएको छ । त्यसका लागि विभिन्न सरकारी तथा संस्थानका कर्मचारी र शिक्षकहरुको विवरण माग गरिएको सूचना अधिकारी लिम्बूले जानकारी दिए ।

उनका अनुसार प्राप्त विवरण जिल्ला निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाउने र सोही कार्यालयले जनशक्ति परिचालन गर्नेछ । निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई देखि तीन सहायक कर्मचारी र दुई कार्यालय सहयोगी रहनेछन् ।

त्यसका लागि निर्वाचनमा एक हजार आठ सय ५८ जना कर्मचारी खटाईनेछ । दुई सय ६६ मतदान केन्द्रका लागि दुई सय ६६ मतदान अधिकृत, दुई सय ६६ सहायक मतदान अधिकृत, सात सय ९४ सहायक कर्मचारी र पाँच सय ३२ कार्यालय सहयोगी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here