ढाप पोखरीमा डुंगा सरर

0
98
इलामको पर्यटकीय गन्तव्यका रुपमा विकास हँदै गरेको ढापपोखरीमा डुङ्गा चलाउँदै ।

विप्लव भट्टराई

इलाम : स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर ५ स्थित जमुनाको ढाप पोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुइटा डुंगा चलाउन थालिएको हो । गएको तिहारमा आयोजित कागेमेलामा डुंगा सवार सुरु गरेपछि आन्तरिक पर्यटक बढेका छन् ।

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालन गराएको हो । सदरमुकामबाट २१ किलोमिटर उत्तरको यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।

क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ । ‘डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी लाग्छ,’ समिति उपाध्यक्ष नीरबहादुर फागोले भने, ‘यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् । ०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ । यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।

फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीय बताउँछन् । ‘आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिएका छौं,’ सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले भने, ‘तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउन जुटेका हौं ।’

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले होमस्टे सञ्चालन गर्ने सोच बनाएका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने/बस्ने व्यवस्था मिलाउने चाँजो मिलाइएको छ । पोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुंगीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् । ‘जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौं,’ भूसंरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भने ।

साबिक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकासलगायतले सघाउँदै आए पनि स्थानीयको योजनाअनुसार पर्याप्त हुन सकेको छैन । पोखरी विस्तारसँगै त्यस तलका पानीका स्रोत बढेका छन् । जमुना बजारलगायत सयभन्दा बढी उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थलिएलगत्तै पानीको स्रोत बढेको स्थानीय बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here