परिवारको जोड जागिरमा, उषा बनिन् उद्यमी

0
77

सुजता सुनुवार

इलाम : नेपाली विषयमा बीए पास गरेकी इलामकी उषा निरौलालाई घरबाट सरकारी जागिर खाने दवाव हुन्थ्यो । तर, उषाको चाहना भने फरक थियो । एउटा जागिरमा अल्झनुभन्दा आफैँ केही गरौ जस्तो लाग्थ्यो उषालाई । ‘पढेलेखेको मान्छेले त जागिर पो खानुपर्छ त’ केही गरौं भन्ने उषाको योजनालाई सबैले भन्ने एउटै भनाईले दिक्क पारेको थियो ।

उद्योग वाणिज्य संघ इलामले २०६७ सालमा एक हप्ते अदुवाको क्याण्डी र अचार बनाउने तालिम दिलाएपछि भने उनको सपनाले आकार पायो । तालिमले उषालाई अहिले उद्यमी बनाएको छ । यही उद्यमले उनलाई वार्षिक आधा करोड रुपैयाँ कमाउने सफल महिला उद्यमीको रुपमा पनि चिनाएको छ ।

उषा नेपालमा गरिखान सकिँदैन भन्दै ऋण काढेर विदेशिने युवाका लागि गाउँघर मै पनि केही गर्न सकिन्छ भन्ने उनी गतिलो उदाहरण पनि बनेकी छिन् । ‘सात दिनको तालिमले मेरो त जीवन फेरिदियो, सरकारी जागिरे हुनुपर्ने बाध्यता सजिलै परिवर्तन गरिदियो,’ उषा भन्छिन् ।

‘इलाम अदुवा प्रशोधन उद्योग’ उषाको उद्योगको नाम हो । यो उद्योगमा अहिले उषाले चार जना महिलालाई रोजगार पनि दिएकी छिन् । उषा सानो मेहनतले उद्यमी बनेकी भने होइनन् । उषाले यो सफलता हात पार्नका लागि रातदिन नभनेर खटेकी थिइन् । फेरि एकैचोटि उद्योगको साहुनी बनेकी पनि होइनन् ।हिजोआज नेपालमा केही गर्न सकिदैन भन्दै दलालले सित्र्तैमा विदेश पठाइदिन्छु भनेपछि अन्धो बनेर उनीहरुकै पछि लाग्ने महिलालाई देख्दा उषालाई २०६८ सालमा किराना पसल खोल्दाको दिन याद आउँछ ।

किराना पसल खोल्दा सुरुवातमा त पसलबाट उनले नाफा कमाइनन् । त्यो पसल उनको सपनाको मूलबाटोमा पुग्ने गोरेटो थियो । किराना पसलसँगै उनले सिकेको सीपको सदुपयोग गरिन् । पसलमा अदुवाबाट बन्ने तितौरा, क्याण्डी, अचार लगायत विभिन्न प्रकारका सामाग्री आफैँले बनाएर बेच्न थालिन् ।

किराना पसलबाट बेच्ने यी सामग्रीको माग बढ्दै गयो । किराना पसले व्यवसाय गर्ने आत्माविश्वास बढायो उषालाई । त्यसपछि उनले २०७० सालबाट इलाम अदुवा प्रशोधन उद्योग आफ्नो नाममा दर्ता गरिन् । ‘अहिले काम भ्याइनभ्याइ छ, मेरो उद्योगमा बनेका सामान अहिले काठमाडौंमा पनि बिक्रि हुन्छ,’ उषाले भनिन् ।

उषाको उद्योगमा अर्गानिक खानेकुरा उत्पादन हुन्छ । उद्योगमा क्याण्डी, अचार, मिक्स अचार, तितौरा, चाना सुठो र सर्बत जस्ता ६ प्रकारका सामान उत्पादन हुन्छन् । उद्योगबाट उषाले वार्षिक ४५ लाख रुपैयाँ आम्दानी गर्छिन् भने खर्च कटाएर झण्डै १८ लाख रुपैयाँ नाफा हुने गरेको उषा बताउँछिन् ।क्याण्डी मात्र वार्षिक ६ लाखको बिक्री हुन्छ । यस्तै तितौरा वार्षिक २ लाख माथिको कारोबार हुन्छ । सामान्य अचार र मिक्स अचार एक लाखभन्दा बढीको र सबै भन्दा थोरै सर्बतबाट वार्षिक २५ हजार रुपैयाँसम्मको आम्दानी हुने उषाले जानकारी दिइन् ।

उत्पादित सामान इलामका स्थानीय बजारदेखि विराटनगर, झापा, मोरङ्ग, र काठमाण्डौंमा पनि बिक्रि हुन्छ । तर व्यवस्थापनमा खट्न नसकेकाले बजार विस्तार गर्न नसकेको उषा बताउँछिन् । उद्योगबाट अदुवाको मात्र ६ प्रकारका खाद्य सामग्री बन्छन् । अकबरे र अमलाको चार, लप्सीको दुई कागतीको एक र मिक्स अचार चार गरी २० प्रकारका खाद्य सामाग्री उत्पादन हुन्छन् । यी मध्ये अदुवाबाट मात्र बन्ने क्याण्डी र तितौराको बजारमा बढी रहेको छ ।

समयको सदुपयोग गर्दै उषा अरुलाई पनि उद्यम गर्न सुझाव दिन्छिन् । उषा भन्छिन्, ‘मेहनत गर्ने हो भने दुईचार हजार कमाउन विदेश जान पर्दैन ।’ उनी अर्गानिक अदुवा खेतीबाट हतोत्साही भएका किसानलाई निराश नहुन सुझाउँछिन् ।

जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार अदुवा प्रशोधन गर्ने उद्योग जिल्लामा थोरै छन् । कार्यालयको तथ्याङ्क अनुसार इलाममा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here