आजको परिवर्तित सन्दर्भ र काङ्ग्रेस पार्टी

0
1326
धर्मेन्द्र नेम्बाङ

आजको परिवर्तित सन्दर्भ र नेपाली काङ्ग्रेस पार्टीको भूमिका शीर्षकमा केही शैद्धान्तिक–वैचारिक छलफल गरेको छु । सिद्धान्त, विचार, आदर्शबिना पार्टी बन्न सम्भव छैन । पार्टी निर्माण बिना देश निर्माण सम्भव छैन । पार्टीको जीवन देस र समाजको लागि हुनुपर्छ भन्ने मूल नाराका साथ कुराहरु राख्दैछु । संविधान निर्माण भएर स्थानीय तहको निर्वाचन सकिएको र प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव घोषणा भइसकेको वर्तमान परिस्थितिमा पार्टीलाई प्रभावकारी, समयसापेक्ष बनाइराख्न जरुरी भएकोले मैले तपाइँहरुसमक्ष विचारको यो छलफल चलाएको हुँ । मुलुकको भविष्यको विषयमा हामीले सोच्नुपर्छ । राष्ट्र निर्माणको बाटो पनि हामीले तय गर्नुपर्छ । यो जिम्मेवारी आज हामीले बुझेर काम गर्नु परेको छ । त्यसकारण यो राष्ट्र निर्माणको डकुमेन्ट हो । आज केन्द्र, प्रदेश, स्थानीय तिनै तहमार्फत द्रुततर गतिमा समाजवादको कार्यन्वयन गर्दै मुलुकलाई अगाडि बढाउन नितान्त जरुरी छ ।

सर्वजन हिताय, सर्वजन सुखायको सवालमा

सर्वजन हिताय या सबैजनाको हित, र सर्वजन सुखाय या सबैजनाको सुखको पक्षमा आजको लोकतन्त्र भनुँ या नेपाली काङ्ग्रेस पार्टीले काम गर्नु पर्दछ । यसले व्यक्तिको अपार स्वतन्त्रताको लागि काम गर्नु पर्दछ । व्यक्तिको प्रतिभा, सम्भावना, योग्यताको संरक्षणमा काम गर्नु पर्दछ । वैयक्तिक क्षमता भनेको विचारधाराको निर्माण या विकासको नयाँ मोडेलको निर्माण अथवा वैज्ञानिक आविष्कारको निर्माणमा सघाउ पुर्याउनु पर्दछ । व्यक्तिको असीमित आकाङ्क्षा, सम्भावना, प्रतिभा, अस्तित्वको जगेर्ना, संरक्षण गर्नु गर्दछ ।

व्यक्तिको नीजि चाहनाको प्रयत्नले आजको विश्व यहाँसम्म आइपुग्नमा योगदान गरेको छ । जस्तो कि बाफ इञ्जिनको आविष्कार गर्ने जेम्स वाटकै कुरा गरौं या वैज्ञानिक ग्यालिलियो या परमाणुलाई शक्तिमा बदल्ने अल्वर्ट आइन्स्टाइनकै कुरा गरौं । या ठूला अर्थशास्त्रीहरु आदम स्मिथदेखि जोन मिनियार्ड किन्ससम्मकै कुरा गरौं । ठूला लेखकहरु लियो टाल्स्टायदेखि गेटेसम्मकै कुरा गरौं । यो उनीहरुको नीजि प्रयत्नकै देन हो । त्यसकारण व्यक्तिको स्वतन्त्रता आविष्कारको लागि मात्रै हैन स्वयं उसको जिवन सञ्चालनका लागि ज्यादै जरुरी कुरा हो । यसको राजनीतिक, नीतिगतरुपमा संरक्षण हुनुपर्छ । यसरी मात्रै मौलिकता, सिर्जनात्मकता, सम्भाव्यताको संरक्षण हुन सक्दछ ।

सर्वपक्षीय हित, सर्वसमावेशी लोकतन्त्रको सवालमा

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुआस्था, बहुविचारहरुको बहुरङ्गीन देश हो । हिमाल, पहाड, तराई या भौगालिक विविधताको मुलुक हो । हावापानी, वनस्पति, पशुप्राणीहरुको विविधताको देश हो । हामी यो बहुलता, विविधता, विभिन्नताको धरातलमा अवस्थित छौं । यो सामाजिक यथार्थको समन्वय, व्यवस्थापन पनि काङ्ग्रेस पार्टीले गर्नुपर्छ । सर्वपक्षीय भनेको सर्वजातीय, सर्वधर्म, सर्वसंस्कृति र आस्था विचारहरु, भौगोलिक बहुलता, वातावरण, जलबायुको छिन्नभिन्नताको संरक्षण, संवद्र्धन, उत्थान, जगेर्नाको काम गर्ने सर्वसमावेशी लोकतन्त्रको मूल्यमा काम गर्नु पर्दछ । यी सबैलाई खेल्न दिनु पर्छ । फुल्न दिनुपर्छ । त्यो वातावरणको निर्माण या कायम गर्नुपर्छ ।

सीमान्तकृत जाति, क्षेत्र, वर्ग र लिङ्गको सवालमा

राज्यसत्ताबाट अलग्याइएका या राज्यसत्ताबाट अलग्याइएको महसुस गरिएका जाति वर्ग, क्षेत्र र लिङ्गहरुमाथि विशेष प्राथमिकताका साथ काम गर्नुपर्छ । लोकतान्त्रिक राज्यको दायित्व भनेकै उनीहरुलाई माथि उठाउने, राज्यसत्तामा सहभागी गराउने, त्यसको लागि नीतिनियम बनाएर कार्यान्वयन गर्ने कामकर्तव्य हो । सिमान्तकृत, किनारीकृत, अल्पसङ्ख्यक, लोपोन्मुख जाति–वर्ग–क्षेत्र–लिङ्गहरुको अधिकारको रक्षा गर्ने सबल–सक्षम नागरिक बनाउने दायित्व लोकतान्त्रिक सरकारको कामकर्तव्य हो । यसमा राज्य अलि हस्तक्षेपकारी हुनै पर्छ । शक्तिशाली जाति–वर्ग–लिङ्गहरु त आफै हिंड्न सक्षम छन् । राज्यसँग प्रतिष्पर्धा गर्न सक्षम छन् । जुनसुकै खेल खेल्न सक्षम छन् । तिनीहरुलाई पनि साथमा लिएर कमजोर पीडित निरीहलाई उत्थान गर्ने काम लोकतान्त्रिक राज्यले गर्नु पर्दछ । आजको उत्तर लोकतन्त्रले यो बारेमा या ब्लकमा सोच्नु पर्छ । सबै नागरिकहरु सक्षम भए देश सक्षम हुने हो । देशमा शान्ति कायम रहने हो । सबैको मनमा खुसी छाउने हो ।

राष्ट्रियताको सवालमा

विपी कोइराला भन्नुहुन्छ ‘राष्ट्रियता भनेको माटो होइन । जनताको सामुहिक भावना(विचार) हो । यसबाट विचार्दा राष्ट्रियताको सवाल भनेको मुख्यगरी आम नागरिकको भावना हो । नागरिकले राष्ट्रप्रति गर्ने गौरव हो । राष्ट्र उन्नति र प्रगतिले भरिभराउ होस् भन्ने भावनात्मक चाहना हो । सबै नागरिकहरु सुखी, सम्पन्न हुन् भन्ने चाहना हो । यहाँको नदिनाला, वातावरण, हावा पानी, माटो प्रति मनमा उत्पन्न हुने माया श्रद्धा हो । राष्ट्र सार्वभौम रहिरहोस्, कुनै विदेशीको हस्तक्षेप नहोस्, जनता सम्प्रभुता सम्पन्न होऊन् । मुलुक शक्तिशाली होस भन्ने सोच हो । विपी कोइरालाको राष्ट्रियतासम्बन्धी विचारले यही आत्म, मर्म बोकेको छ । कोइरालाले राष्ट्रियतासँगसँगै लोकतन्त्र र समाजवादलाई पनि एकसाथ बाँधेर व्याख्या गर्दै यी तीन वटै सिद्धान्त एकसाथ त्रिभुज आकारमा अगाडि बढ्दछन् भनेका छन् ।

तर मुलुकमा अहिले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अधकल्चो राष्ट्रियताको व्याख्या गरिहिंडेका छन् । उनको राष्ट्रियताको परिभाषा धेरै काँचो छ । यो उनको पाठ्यक्रमको कारण पनि हुनसक्छ । जस्तो कि चीनतिर फर्केर भारततिर गाली गर्नु या भारततिर फर्केर चीनतिर गाली गर्नु या कम्युनिष्ट पहिरन लगाएर महिला, कर्णाली, दलित, आदिवासी जनजाति, मधेसमाथि गाली गर्नु कुनै राष्ट्रियताको परिभाषा हैन । यो बडो अपरिपक्व काम हो । तेसकारण ओलीको परिभाषा बढो अधकल्चो या काँचो देखिन्छ ।

पहिचानको सवालमा

पहिचानको सवालमा मैले ‘युवा विचार युवा नेपाल ः आमूल परिवर्तनको पक्षमा एक अवधारणा’ नामक मेरो पुस्तकमा छलफल गरिसकेको छु । पहिचानको मुद्दा अलमलमा नपरोस् भनेर मैले सो प्रयत्न गरेको हो । पहिचानलाई मैले दुई प्रकारमा विभाजित गरेको छु । एकमा जन्मजात (जन्मसिद्ध) पहिचान, दुईमा निर्मित पहिचान । अहिले नेपालमा टड्कारो छलफल भइरहेको चाहिं जन्मजात या जन्मसिद्ध पहिचानको हो । अथवा पहिचानवादी पार्टीहरुले उठाएको विषय यही एक नं.को पहिचान हो । तर राज्य विषयक छलफलमा कट्टर पहिचानवाद या एकल पहिचानवाद या अतिवाद र उग्रवादले नोक्सान गर्छ । असहिष्णुताको बीजारोपण गर्छ । द्वन्द्व बढाउँछ । हिंसालाई प्रश्रय गर्छ । आफू जन्मदाको पहिचान जस्तै भाषा, धर्म, संस्कृति नै अन्तिम सर्वश्रेष्ठ हो भन्ने धारणाले समाजलाई नोक्सान पुर्याउँछ । बहुलता विविधतालाई फुल्न दिँदैन । उदारतालाई बोक्तैन । यसले राजनीतिको सैद्धान्तिक दायरालाई साँघुरो बनाउँछ । मान्छेको मनमा कुण्ठा, द्वेष, इष्र्याको बीजारोपण गरिराख्छ । त्यसकारण पहिचानको सवालमा बहुपहिचानवादलाई हामीले आत्मसात गर्नु पर्छ । सबै भाषा, धर्म, संस्कृति फल्ने र फुल्ने वातावरणको सिर्जना गर्नुपर्छ । जाति, भाषा, धर्म, संस्कृतिको आधारमा कोही पनि शोषण, दमनमा नपर्ने वातावरणको सिर्जना गर्नु पर्दछ, हुनुपर्दछ । यो एकल पहिचानवादभन्दा पनि बहुल पहिचानवादबाट मात्रै सम्भव छ । एकल पहिचानवादको मस्तिष्कबाट सम्भव छैन ।

अब मैले जोड दिन खोजेको चाहिँ मौलिक दुई नं.को निर्मित पहिचानको पक्षमा हो । व्यक्तिले जन्मिसकेपछि आफनो निजी पहिचान निर्माण गर्दछ । जन्मदैमा कोही पूर्ण भएर जन्मेको हुँदैन । जन्मजात कोही पनि कवि, साहित्यकार, राजनेता, वैज्ञानिक, कलाकार, गायक, साधु, सन्त, महन्त, ऋषी, महर्षी, चोर, डाका आदि भएर जन्मेको हुँदैन । यो जन्मेपछि व्यक्तिले आफूलाई बनाउने कुरा हो । व्यक्तिको खोजी, ज्ञानको प्रयोग, समाजको योगदान आदिको हिसाबले बनाउने हो । त्यसकारण यो जन्मजात पहिचान नभई निर्मित पहिचान हो ।

निर्मित पहिचानवालाहरुलाई हामीले कदर गर्नुपर्छ । जस्तो ठूला राजनेता चाहिएको छ । जसले मुलुकलाई विश्वकै धनी बनाओस् । ठूला साहित्यकारहरु चाहिएको छ जसले नेपाली मौलिक विचारहरुको उत्पादन गरेर विश्वव्यापी बिक्रीवितरण गरोस् । देशको शान बोक्ने खेलाडी, कलाकारहरु जन्मियोस् । ठूला तपस्वी साधकहरु जन्मियोस् । जसले दुःखको निवारण गराओस् । बुद्ध यही दुःखको निवारण गर्न दरबार त्यागेर हिँडे । हामी राजनीतिक रुपमा त्यही दुःखको निवारणको लागि दत्तचितले लागिपरेका छौं । जसले हामीलाई पनि सही मार्ग दिलाओस् । आज त्यस्तो पहिचानवालाहरुको खाँचो छ । तर चोर, डाका, तस्कर, माफिया, भ्रष्टचारीहरुको भने आवस्यक छैन । यी समाजविरोधी अनावश्यक तत्वहरुको भने जरुरी छैन ।

उपलब्धिको सुरक्षा र हाम्रो कार्यभारको सवालमा

हाम्रो देश लामो समयदेखि आन्तरिक किचलोका कारण अगाडि बढ्न सकेन । इतिहासको कुनै बेला अहिलेको विश्वकै शक्तिशाली राष्ट्रहरुको दाँजोमा रहेको नेपाल आजसम्म आइपुग्दा धेरै पछि परिसकेको छ । यसको खास कारण आन्तरिक किचलो, झैझगडा, काटमार, षड्यन्त्र नै हो भन्ने इतिहासले पुष्टि गर्दछ । वर्तमान नेपाल एकीकरणपछिको अवस्था या मुख्यगरी ब्रिटिस इन्डियासँगको युद्धपछि दरबारिया षड्यन्त्रको दुखद चक्रमा फस्यो । राणा शासनको स्थापनाले त एक सय चार बर्षे कालरात्रीमा होमायो । पञ्चायतले स्वतन्त्र गतिविधि, चेतना, राजनीतिक खुल्ला बहस ठप्प पारिदियो । यसरी नेपाललाई कमजोर, निरीह, गरिव पार्नमा नेपालीहरु नै कारक देखिए । विशेषगरी शासक वर्ग । उनीहरुले विधिलाई आत्मसात गर्न सकेनन्, मानेनन् ।

त्यसरी नै नेपाललाई सम्पन्न, शक्तिशाली, समृद्ध बनाउन पर्छ भनेर एकथरी निरन्तर लडिरहनु पर्यो । त्यो नेपाली कांग्रेस पार्टी हो । स्वतन्त्रता, समानताको लागि लड्दा, जनताको अधिकारको लागि लड्दा निरन्तर लखेटिनु पर्यो । जेलनेल, कारावास, फाँसी, मृत्यदण्ड समेत व्यहोर्नु पर्यो । पहिलो आम निर्वाचनबाट प्राप्त जनताको दुइतिहाइ मतको आदेशबाट प्रधानमन्त्रीको रुपमा काम गर्दै गर्दा विपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले सैनिक कु गरेर जेलमा कोच्ने काम भयो । त्यो घटनाले मुलुकलाई धेरै पछाडि धकेल्यो । अथवा मुलुकको लागि दुर्भाग्यको घटना थियो । तरपनि लोकतन्त्रको स्थापनाबाट जनतालाई अधिकार सम्पन्न बनाएर मात्रै देश बनाउन सम्भव छ भन्ने कांग्रेस पार्टीको विचारमा आज मुलुक आइपुगेको छ । कांग्रेसको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको घोषणाले यो कुराको पुष्टि गरेको छ । राजनीतिक विषय, किचलो, लफडा, षड्यन्त्र, मुठभेड एकप्रकारले अन्त भएको छ । करिब सत्तरी बर्ष लामो अथक सङ्घर्षबाट यो सम्भव भएको हो । लोकतन्त्रविरोधी शक्तिहरुलाई परास्त गराएर मात्र यो सम्भव भएको हो । लोकतन्त्रविरोधी भएकैले राजा पनि लखेटिनु पर्यो । राणा शासन ढाल्नु पर्यो । पञ्चायत फाल्नु पर्यो । हिंसात्मक युद्धमा भएको कम्युनिष्ट कित्तालाई शान्ति सम्झौतामा हस्ताक्षर गराएपछिको संविधान निर्माणबाट अहिले नयाँ युगको शुरुआत भएको छ । समयले अध्याय परिवर्तन गरेको छ । राजनीतिक दाउपेच, किचलो, जालझेल, षड्यन्त्र, प्रपञ्चहरुको अन्त भएर संवैधानिक शासन शुरु भएको छ । यही संविधान बोकेर मुलुकलाई छिटोभन्दा छिटो भन्दा छिटो समृद्ध, सम्पन्न, विकसित बनाउनु पर्ने जिम्मेवारी कार्यभारको रुपमा हाम्रो काँधमा आएको छ ।

द्रुततर गतिमा विकास निर्माण गरेर अरु देश या छिमेकी देशहरुसँग प्रतिष्पर्धा गर्नु छ । हाम्रो देशको शीर उँचो पार्नु छ । यसको लागि बढीभन्दा बढी हाम्रो साधनस्रोतको परिचालन गर्नु छ । श्रम, सिप, मिहिनेत, युवा शक्तिको परिचालन गर्नु छ । जलस्रोत, ऊर्जा, कृषि, पर्यटनमा क्रान्ति गर्नु छ । उद्योग, कलकारखानाहरु खोल्नु छ । सहकारीलाई आन्दोलनको रुपमा विकसित गर्नु छ । आजको हाम्रो कार्यभार एतातिर सोझिएको छ ।

लोकतन्त्रविरोधी शक्तिहरु पूर्ण रुपमा निर्मूल नै भएको छ भन्ने चाहिँ होइन । यो देश निर्माणको इतिहासदेखि नै लोकतन्त्रविरोधी जमात या प्रतिगमनकारी जमातहरु कुनै न कुनै बहानामा टाउको उठाउने दाउ खोजिरहेको अवस्था देखिन्छ । उनीहरुलाई विकास, उन्नति जनता सम्पन्न हुने कुरा, अधिकारले सुसज्जितपना मन परिरहेको हुँदैन । तीनै शक्तिहरु फेरिपनि लोकतन्त्रलाई कमजोर गर्ने मौका पर्खेर बसिरहेका छन्÷हुन्छन् । तसर्थ हामीमा आजसम्मको लडाइँ, सङ्घर्ष, क्रान्ति, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरुको सुरक्षा गर्नुपर्ने प्रमुख जिम्मेवारी पनि हाम्रो नै कार्यभार हो ।

हामी वर्तमानलाई विच्छेदन गर्दै या विघटन गर्दै नयाँ युगमा प्रवेस गर्न चाहन्छौ । त्यो वर्तमानको कार्यभार हो । जुन वर्तमानको उपलब्धिमा टेकेर मात्रै सम्भव छ । त्यही नै आजको हाम्रो मार्गनिर्देशक या पथप्रदर्शक सिद्धान्तहरु हुन् । जस्तो, लोकतन्त्र, गणतन्त्र, बहुदलीयता, सङ्घीयता, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समानुुपातिक समावेशी राज्य व्यवस्था, यी नै हाम्रो प्राण र जिवन पद्धति हो । जुन उपलब्धि गुम्यो भने फेरि पनि हामी अन्धकार युगमै फर्किन्छौं । यो उपलब्धि प्राप्तिको लागि नेपाली काङ्ग्रेस पार्टीले विगत सत्तरी बर्षदेखि अथक क्रान्ति आन्दोलन गर्नु परेको छ । आज हामीले यिनै उपलब्धिको सुरक्षा गर्दै समृद्ध नेपालतर्फ पाइला चाल्नुपर्ने भएको छ । समृद्ध नेपालको आधारस्तम्भ भनेकै यी नै उपलब्धिहरु हुन् ।

हृदय परिवर्तनको सिद्धान्त र सँगसँगै लाने नीति

बहुलता, विविधता, विभिन्नताको धरातलमा हामी उभिएर सास फेर्दैछौं भन्ने कुराको छलफल भैसकेको छ । यसको पाटा पक्ष र क्षेत्रहरुलाई स्वतन्त्रता प्रदान गर्नुपर्छ । अधिकार सम्पन्न गराउनु पर्छ । यो परिवेशमा आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले तल्लो निकायमा परेकाहरुलाई मास्तिर उठाउन सरकार या सत्ताको हस्तक्षेपकारी भूमिकाको विषयमा पनि छलफल भैसकेको छ । यसमा थप केही गान्धीजीको हृदय परिवर्तनको सिद्धान्तबाट पनि काम गर्न सकिन्छ । मलाई नीजि रुपमा यो सिद्धान्त एक हद ठीक पनि लाग्छ । कतिपय अवस्थामा राज्यले जोरजबर्जस्त काम गर्ने सवाल त छँदैछ । यसबीच माथिल्लो तहलाई हृदय परिवर्तन गराएर (फकाएर, फुर्काएर) तल्लो तहको पक्षमा काम गर्ने गराउने बाटो लिन सकिन्छ । यसले एकहद काम गर्न सकिन्छ । यसको साथ मैले सँगसँगै लाने नीति भनेर व्याख्या गर्दै आएको छु । यसअन्तर्गत् कोही छुट्नु पर्दैन । कसै विस्थापित हुनु पर्दैन । कसै पाखा पर्नु पर्दैन । सबै जाति, शक्ति, वर्ग, भेषभुषा, भाषा, धर्म, संस्कृति एकसाथ समानान्तर गतिमा हिंडेर जान्छ, जानुपर्छ । लानुपर्छ । पछौटे वर्गको उन्मूलनमा गरिबी पक्षको उन्मूलनमा माथिल्लो तप्काले पनि साथ दिनुपर्छ । एकापसमा छलफल संवाद विमर्शको वातावरण तय गर्नुपर्छ । हामी हाम्रो ठूलो विविधता, बहुलता, विभिन्नता जोगाउँदै एकसाथ हिँड्ने हिँडाउने खुबी प्रदर्शन गर्नुपर्छ । राज्यले सँगसँगै हिँडाउने नीतिअन्तर्गत् नागरिकले सँगसँगै जाने आँट देखाउनु पर्छ । यसमा केही काम हृदय परिवर्तनको सिद्धान्तले पनि गर्छ ।

नमूना वार्ड अभियान

भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मैले विभिन्न ठाउँमा सम्बोधन गर्ने क्रममा नमूना वार्ड निर्माण अभियानको कुरा गरे । अघिदेखि नै मैले विभिन्न लेखहरुमार्फत् नमूना वार्ड निर्माण अभियानको कुरा चलाइरहेको छु । हामीले हाम्रा स्थानीय सरकारले प्रत्येक वार्डलाई नमूना वार्ड बनाउने अभियान चाल्नुपर्छ । नमूना भनेको विकासले सुसज्जित हुनु हो । बस्ती बस्न योग्य हुनु हो । सभ्य, शिष्ट, शिक्षित, सुसंस्कृत समाज बन्नु हो । जसका केही न्यूनतम मापडण्डहरु बनाउनु जरुरी छ ।

१) शुद्ध खानेपानीको व्यवस्था होस् ।
२) हस्पिटलको व्यवस्था होस् ।
३) स्कुलको व्यवस्था होस् ।
४) पुस्तकालयको व्यवस्था होस् ।
५) विद्युतको व्यवस्था होस् ।
६) बाटोघाटो, पुलपुलेसा, कुलोपैनीको उचित व्यवस्था होस् ।
७) सहकारी बैंकको व्यवस्था होस् ।
८) खेल मैदान, नाटक घर, सर्वजातीय भवनको व्यवस्था होस् ।
९) उद्यान, पार्क, बगैंचाको व्यवस्था होस् ।
१०) श्रम, सिप, मेहनतको कदर होस् ।
११) वृद्ध, बालक, माहिला, असक्तको उचित संरक्षण होस् ।
१२) शान्तपूर्ण, सौहाद्र्र, हार्दिक, आत्मिय वातावरण होस् ।
१३) जैविक विविधताको संरक्षण होस् ।
१४) वनजङ्गल, पशुपंक्षीको उचित संरक्षण होस् ।
१५) खोलानाला, मुहान, सिमसार, पोखरीको उचित संरक्षण होस् ।
१६) वैज्ञानिक प्रयोगशालाको स्थापना होस् ।
१७) छुवाछुत रहित समाज, वैज्ञानिक कृषी प्रणालीको व्यवस्था होस् ।
१८) एकिकृत बस्ती बिकास होस ।

समाज(समता)वादको प्रयोगको बेला (समय)

समाजवादलाई म समतावाद भन्छु । यसमाथिको मेरो तर्क ‘युवा विचार युवा नेपाल ः आमूल परिवर्तनको एक अवधारणा’ नामक पुस्तकमा लेखिसकेको छु । हरियो समतावाद म विकसित गर्न चाहान्छु । लोकतान्त्रिक समाजवाद आफैमा विकसित छँदैछ । तर मेरो समतावाद या समाजवादमा गहिरो विश्वास छ । ठूलो आड भरोसा छ । यदि हामीले मानवीय थिचोमिचो, शोषण दमन, अन्याय अत्याचारको विरुद्धमा र मानवताको पक्षमा पहलकदमी गरेनौं भने वास्तवमा यो विश्व बस्न र बाँच्न लायक ठाउँ बन्ने छैन । असमानताहरुको खाडल या दूरी ज्यादै बड्दै गयो भने त्यो समाज युद्धको सम्भावनातिर जान्छ । झैझगडा, लुटपाट, हत्याहिंसा बढेर जान्छ । त्यसकारण समाजवाद या समतावादको दर्शन अपरिहार्य भएर हाम्रो अगाडि उभिएको छ ।

समाजवाद या समतावादको प्रयोग गर्ने बेला यही हो । माथि हामीले राजनीतिक मुद्धाहरु बिट मारेर आर्थिक क्रान्तिमा हिंडेका छौं भन्ने विषयमा छलफल चलाइसक्यौं । अबको कार्यभार भनांै या समयको दायित्व जिम्मेवारी भनेको नै आर्थिक क्रान्तिअन्तर्गत् समाजवादलाई कार्यान्वयनको तहमा लानु हो । राष्ट्रलाई समृद्ध बनाउने सवाल होस् चाहे उपलब्धिको रक्षा गर्ने सवाल होस् जसको माग नै समाजवाद हो । हाम्रो संविधानमा उल्लेखित ‘समाजवादउन्मुख राज्यव्यवस्था’ भन्ने शब्दावली परेकोले हामीले स्वतः अब मुलुकलाई समाजवादतर्फ लाने दिशामा सक्दो काम गर्नुपर्ने हुन्छ । आजसम्मको प्रयत्न पहलले अब समाजवादी मुलुक बनाउने सपना पूरा गर्ने ढोकासम्म आइपुगेको भन्ने देखिन्छ । त्यसकारण आजको प्रथम कर्तव्य नै लोकतान्त्रिक समाजवादको कार्यान्वयन गर्नु हो । समाजवादको व्यापक बहस गरेर यसमा भएको कमिकमजोरीहरुलाई हटाउँदै अगाडि बढ्नु हो ।

आजको प्रत्येक सरकारले यो दायित्वलाई बुझेर पूरा गर्नु पर्दछ । हाम्रो आजको आर्थिक विकासको बाटो नै समाजवाद हो । सरकार, राजनीतिक दल, सामाजिक संस्था, नागरिक सबैपक्ष र क्षेत्रबाट समाजवादको कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनु पर्छ । कुरो के स्पष्ट छ भने समाजवादविरोधी शक्तिहरु त मुलुकमा छँदैछ । तर संविधान निर्माता पार्टीहरु समेत यो कुरोमा चुकिरहेका छन् । जस्तो कि म डा. गोविन्द केसीको अनशनको उदाहरण दिन चाहान्छु । विगत वर्षहरुदेखि नै डा. केसी स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरण, माफियाकरणको विरुद्धमा माथेमा प्रतिवेदनको पक्षमा अनसन बसिरहेका थिए । तर उनको सुनुवाइ भइरहेको थिएन । कार्यान्वयन गर्ने भनेर अनसन त तोडाउँथे तर कार्यान्वयन गर्दैन थिए । भर्खरै एघारौं पटकको अनशन बाढीपीडितको संवेदनाले बाइसौं दिनमा आफै तोडे । संविधान बनिसकेपछिको सरकारहरुले पनि यो स्वास्थ्य क्षेत्रमा समाजवादीकरण गर्नुपर्छ । सुविधा तल्लो तहमा पुर्याउनु पर्छ । व्यापारीकण रोकेर सुलभ बनाउनु पर्छ । अनियन्त्रणलाई नियन्त्रित गर्नुपर्छ भन्दा पनि कार्यन्वयन हुन सकेन । देश र जनताको लागि बसेको अनसनलाई अझ एमाले अध्यक्ष केपी ओलीले होच्याउँदै अनशन बस्तैमा माग पुरा हुने हो भने प्रधानमन्त्री बन्नको लागि अनशन बस्छु भन्ने गैरजिम्मेवार र असंवेदनशंील अभिव्यक्ति दिए । यसले एमाले संविधानमा उल्लिखित समाजवादको पक्षमा नरहेको स्पष्ट खुल्छ । उनीहरु जुनसुकै माध्यम अपनाएर राज्यसत्ताको दुरुपयोग गरेर भए पनि कमाउन चाहन्छ । आम जनताको उनलाई वास्ता छैन भन्ने देखिन्छ । नेपाली काङ्ग्रेस पार्टीमा पनि समाजवादको बृहत बहस हुन जरुरी छ ।

आम बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अगुवा, कवि–साहित्यकार, राजनीतिक दल, मानव अधिकारवादी, कर्मचारी वर्ग र देश–विदेशमा रहेका साथीहरुलाई म प्रश्न गर्न चाहन्छु, समाजवाद कार्यान्वयन गर्ने समय कहिले त ? अहिले हो । बेला यही हो । यसलाई बुझ्ने कहिले त ? यसलाई बुझ्ने पनि अहिले नै हो भनिरहेको छु । यसलाई कसैले पुँजीवादको विकासपछि मात्रै आउँछ समाजवाद भनेर तर्क गर्छ भने त्यो तर्कलाई म मान्दिनँ । त्यो सर्वथा वाहियात, गैरजिम्मेवार, भाग्यवादी तर्क हो । आफनो जिम्मेवारी, दायित्व, कर्तव्यलाई नबुझ्नु हो । आजको संविधानपछिको परिस्थिति, वातावरण, समयलाई धोका दिनु हो । म प्रष्ट छु समाजवाद आफ्नो नीजि जीवनबाट शुरु हुन्छ । आफनो जिवनको प्रयोगबाट शुरु हुन्छ । आत्मसंयमता, इमान्दारिताको साधना, त्याग, तपस्याबाट शुरु हुन्छ । त्यसकारण यो कसैले ल्याइदिने विषय हैन, मुन्धुममा फेत्ल्येरे फेम्पुना चराले धानको बिऊ ल्याइदिएर रोप्न सिकाए जस्तो । जस्तो कि आजको समाजवादी हुँ भन्नेहरु यसै कुरोले ग्रसित छन् । अहिले बजारमा व्याख्या भइरहेको समाजवाद पर्खिने जस्ता मिथ्या कुरोमा म विल्कुल असहमति राख्छु ।

साधन वर्गको निर्माण

राष्ट्र निर्माणको लागि एउटा वर्ग साधन हुन जरुरी छ भन्ने ठहरका साथ साधन वर्गको वकालत गरिरहेको छु । यो समतावादी सोच हो । राजनीतिमा संलग्न यो वर्ग जतिसुकै अप्ठ्यारो, असजिलो सहेर भएपनि मुलुक निर्माणप्रति अटल रहन जरुरी छ । यो वर्गको एउटै उद्देश्य भनेको खालि परिवर्तनका पक्षमा काम गर्नु हो । जसले आजको उपभोक्तावादी दुनियालाई तिलाञ्जली दिंदै समाजहितको लागि काम गर्दछ । यसको उदाहरण मैले भर्याङलाई दिने गरेको छु ।

भर्याङले जसरी मान्छेलाई माथि लाने र ओराल्ने काम गर्छ । यो वर्गले पनि त्यसरी नै उकाल्ने ओराल्ने काम गरिरहेको हुनेछ । यो वर्गलाई साधन वर्ग भनेको हुँ । आज राजनीति गर्ने चाहना राख्नेहरुमा, समाज रुपान्तरण गर्ने चाहना राख्नेहरुमा, मुलुकलाई सम्पन्नतातर्फ डोर्याउन चाहनेहरुमा यो साहस हुनुपर्छ । आफुले घाटा सहेर समाजलाई नाफामा परिणत गर्ने आँट हुनुपर्छ ।

अथवा उदाहरणको लागि भात पकाउने भाँडाकै कुरा गर्न सकिन्छ । जतिसुकै तापक्रम प्रत्यक्ष सहे पनि भाँडा त पाक्तैन । पाक्ने त चामल (भात) हो । राइस कुकर या प्रेसर कुकर या दिउरे, या किट्ली या ताप्के या ओदान या कराई जस्तै र जत्तिकै जटिल परिस्थिति सहेर भए पनि राष्ट्र निर्माणको पक्षमा काम गर्ने सामथ्र्य राख्नुपर्छ । साधनवर्गको निर्माण भनेको त्यही हो । त्यसको लागि साधना, त्याग, तपस्या जरुरी छ । अथवा वुद्धको आर्य अस्टाङ्गिक मार्ग अपनाउन या आत्मसात गर्न जरुरी छ यसैलाई इङ्गित गर्दै बिपी कोइरालाले भनेकाछन कि हामी सबैले निश्वार्थी सेवा ब्रत लिनुपर्छ । गेरुवा रङको लुगा नलगाएर पनि हामीले मनमाजोगिको जस्तो निस्काम प्रवृत्ति धारण गर्नुपर्छ ।

अन्त्यमा, सामान्यतया निस्कर्षमा के भन्न सकिन्छ भने राज्यलाई उकालो लानको लागि सबै पक्ष एकसाथ लग्नु पर्छ । आम नागरिक, राजनीतिक दल, सामाजिक अगुवा, सांस्कृतिक अभियन्ता, साहित्यिक व्यक्तित्व, कलाकार, खेलाडी सबै यो मिसनमा दिल खुलाएर लाग्नु पर्छ । सबैको प्रयत्नले मात्रै देस बनाउन सकिन्छ । वैचारिक, सामाजिक, आर्थिक, मानसिक गरिबी हटाएर मात्रै समृद्धिको यात्रामा हिँड्न सकिन्छ । जसको नेतृत्व गर्ने पार्टी चाहिन्छ । मुलुकको सबै परिवर्तनको नेतृत्व गरेको विषम परिस्थितिहरुमा देश र जनताको पक्षमा लडेर आप्mनो ऐतिहासिकता सिद्ध गरेको पार्टी नेपाली कंग्रेस मुलुकलाई सम्पन्न समृद्ध सक्तिशाली बनाउने तागत राख्छ । भन्दछु कि हिजो जसले संविधान निर्माणको नेतृत्व गर्यो । आज समृद्ध नेपाल निर्माणको नेतृत्व पनि उसैले गर्ने सामथ्र्य राख्छ या संवैधानिक हक राख्तछ ।

फाल्गुनन्द गाउँपालिका –३,  (पौवा सारताप), पाँचथर

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here