परदेशीका परिवार भन्छन्, ‘छोराछोरी बिना दसैँ कहिल्यै नआओस्’

0
83

सुजता सुनुवार

इलाम : आँगनमा ठूलो खसी कराइरहेको छ इलाम नगरपालिकाकी सरस्वती घिमिरेको घरमा । सरस्वतीले दसैका आवश्यक सबै सरसामान जुटाइसकेकी छन् । नातीनातिनाले भोलीपर्सी भन्दै त्यही ठूलो खसी ढाल्ने दिन गन्दा सरस्वतीलाई साउदीबाट आउन नपाएको छोरा दिपकसँगै दसैं मनाउँदाका दिन झलझली आँखामा आउँछन् । ‘दसैँले छोप्यो, वर्षभरी अलिअलि जोहो गरेको पैसाले मिठोमसिनो त किने । तर छोरो आउन पाएन । खानेकुरा पनि नमिठो हुन्छ,’ छोराको बारेमा कुरा गरेपछि सरस्वतीको आँखा रसाए ।

‘दिपकले मलेसियाबाट फोन गरेर खुसीले दसैँ मनाउनु भनेका छन् । तर छोरा बिना दसैँमा आमाको मन किन मान्थ्यो र <‘ सरस्वती भन्छिन् ‘छोरा हुँदा एक गाँस बढी नै रुच्छ । जे पाकेपनि छोराकै याद आउँछ, खाएको गाँस पनि घाटीमा अडकन्छ ।’

सरस्वतीका छोरा दिपक विदेश बस्न थालेको एक दशक भैसक्यो । पछिल्लो चारवर्षदेखि दसैँ मनाउन आएका छैनन् । अघिपछि मन बुझाएपनि चाडबाडका बेला छोरा नै आइदिओस जस्तो लाग्छ सरस्वतीलाई ।

बाबु पनि छोराकै प्रतिक्षामा

बाबु वीरबहादुर पनि दिपककै प्रतिक्षामा छन् । ६८ वर्षका वीरबहादुरलाई छोरा बिनाको दसैं खल्लो लागेको छ । छोरो वर्षौंदेखि विदेश बसेकाले उहाँलाई अब छोरा विदेश नबसोस जस्तो लाग्छ ।छोराछोरी बिना दसैं त कहिल्य नआओस् झैं हुन्छ तर के गर्नु मान्नै पर्ने,’ वीरबहादुरले टाउको निहुराए ।

दिपकका दुई जना छोरा छन् । तिनैले नाती हेरेर वीरबहादुर चित्त बुझाउनुहन्छ । अहिले त बुहारीलाई नै छोरो बनाएको छु । जे भनेपनि यी नै हुन’ वीरबहादुरले छेवैमा बसेका नाती र बुहारीलाई देखाउँदै भने ।

बाबुआमालाई मात्र होइन, मायाले दिने यस्ता चोट परिवारका अन्य सदस्यहरुमा पनि उस्तै हुन्छ । दिपककी श्रीमती शशी महत घिमिरेलाई पनि पती नआउँदा यसपालीको दसैं खल्लो लागेको छ । कान्छो छोरा तीन महिनाको छाडेर परदेश गएका थिए दिपक । अहिले जस्तो कहाँ फोन थियो र । चिठ्ठी पाउँदा पनि उहाँ नै पाए जस्तो लाग्थ्यो,’ शशी त्यो बेलाको समय सम्झन्छिन् ।

अहिले शशीको जेठो छोरा १६ र कान्छो १३ वर्षका भैसके । छोरा शशीका साथी भएका छन् । तर चाडबाडको बेलासँगै भएकाको भन्दा टाढैहुनेको बढी माया लाग्दो रहेछ भन्छिन् शशी । मलेसियाको कमाइले बालबच्चा पढाउनै नपुगेपछि दिपक अहिले साउदी गएका छन् ।

घिमिरेको घर जस्तै अहिले इलाम नगरपालिकाको गरिमा टोल सुनसान छ । यो गाउँका दिपक जस्तै धेरै युवा विदेश गएका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here