दसैंमा पनि खुलेन बाटो, यात्रीलाई सास्ती

0
191

राम योङहाङ

इलाम : नेपालीहरुको चाड दसैं भित्रिसक्दा समेत जिल्लाका अधिकांश ग्रामीण सडकहरु खुल्न सकेको छैन । वर्षातको समयमा बिग्रेका ग्रामीण कच्ची सडकहरु मर्मत नगरिदाँ यातायातका साधनहरु सञ्चालन हुन सेकेका छैनन् । यातायातका साधन नचल्दा सदरमुकामबाट दसैंमा घर फर्कने यात्रीहरुलाई सास्ती भएको छ । घण्टौंसम्मको पैदल यात्रा गर्न बाध्य छन् । कतिपय आधा बाटोमै गाडीले छाड्ने भएपछि झनै समस्या भोग्न बाध्य छन् ।

वर्षादको समयमा जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा क्षति पुगेको थियो । बाढी र पहिरोका कारण सबैजसो ग्रामीण सडकहरु भताभुङ्ग भएका थिए । तर ती सडक दसैंमा पनि मर्मत हुन नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको हो ।

समयमै मनसुनमा सुधार नआउँदा मुख्य र सहायक सडक यातायात सञ्चालन हुन नसक्ने गरी हिलाम्मे भएका छन् । ठाउँठाउँमा सडकहरु भत्किएका छन् । सयौं ठाउँमा खाल्डाखुल्डी भएका कारण सदरमुकाम र ग्रामीण क्षेत्र जोड्ने सडकहरु पुनः सञ्चालनमा आउन सकेका छैनन् । दैनिक जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट झापा र पा“चथससम्म चल्ने लामो दूरीका बस र ट्याक्सी चल्न सकेका छैनन् ।

विगतका वर्षहरुमा असोज पहिलो साता नै सडक मर्मत हुने गरेपनि यसवर्ष मर्मत हुन सकेन । जनप्रतिनिधि आएपनि समयमै गाउँसभा हुन नसेको र बजेट पास नभएकाका कारण मर्मतमा समस्या भएको फाकफोकथुम गाउँपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सुबेदीले बताए ।

सडक मर्मत नगरिदाँ सदरमुकामबाट पश्चिमी क्षेत्र माङसेबुङ, महमाई, साकफारा, फाकफोकथुम, उत्तरी क्षेत्र नयाँजार, प्याङ, सोयाङ लगायतका क्षेत्रमा अझैपनि यातायात सञ्चालन हुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दा सदरमुकाम आउनु र सदरमुकामबाट गाउँ फर्कन पैदल हिड्नुपर्ने बाध्यता छ ।

जमुना, माबु, जीतपुर, दानाबारी, नामसालिङ, एकतप्पा, लुम्दे, चिसापानी, इभाङ लगायतका क्षेत्रमा मुस्किलले सञ्चालन भईरहेको पूर्वेली जीव तथा ट्याक्सी व्यवसायी संघ इलामका अध्यक्ष गृष्म सुब्बाले जानकारी दिए । वर्षातका कारण अधिकांश सडकहरु क्षतविक्षत भएकै कारण ती क्षेत्रमा यातायात सञ्चालनमा समस्या आएको सुब्बाले बताए । ‘सोलिङ्ग नभएका ग्रामीण सडकहरु बढी क्षतिग्रस्त भएका छन्’ अध्यक्ष सुब्बाले भने, ‘अब घाम लागेर पुनःमर्मत नभएसम्म ती सडकहरुकमा सहज रुपमा गाडी चल्ने सम्भावना छैन ।’

इलाम सदरमुकामबाट ग्रामीण क्षेत्रका लागि दैनिक ५० भन्दा बढी भाडाका बस, ट्याक्सी, ल्याण्डरोभर जीप र अन्य साना गाडीहरु सञ्चालन हुदैं आएका थिए । गाडीहरु नचल्दा सर्वसाधारणले दुई दिनसम्म पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य छन् ।

यस्तै बाटो नबनिएपछि दसैंमा आवश्यक दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समेत समस्या भएको छ । बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरु बजार पुर्याउन समस्या भएको व्यापारीहरु बताउँछन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here