अमेरिकामा खोसिएको खुसी…

0
136

सुजता सुनुवार

इलाम  : इलामको इलाम नगरपालिका ४ का प्रकाश अधिकारी इडिभी चिठ्ठा परेको दिनको खुसी शब्दमा व्यक्त गर्न सक्दैनन् । इडिभी परेको थाहा पाएपछि खुसीले उफ्रिएका थिए प्रकाश । ‘सपना’ को देश अमेरिका जान पाउने भएपछि उनलाई आफ्नो सपना पूरा भए झैं लाग्यो । कम्प्युटर सिकाउने काम गरेर प्रकाशको बिहान बेलुका चुलो त बलेको थियो । तर त्यो जागिरबाट न एक पैसा बचेको थियो, न त पढ्दा लागेको ऋण पनि तिर्न सकिएको थियो । त्यसैले प्रकाशले वर्षै पिच्छे खुल्ने इडिभी चिठ्ठा भर्ने गर्दथे ।

अमेरिका पुगेपछि त बोटैमा पैसा टिप्न पाइन्छ, जीवन त त्यसै सुखी र सम्पन्न हुन्छ झैं लाग्थ्यो प्रकाशलाई । हुनपनि अमेरिका जानेको समाजमा मानसम्मान पनि उस्तै छ । प्रकाशको हकमा पनि यस्तै हुने थियो । यदि उनले अमेरिका गएर कमाएर जमाएको भए । तर त्यस्तो भएन । हट्टाकट्टा अमेरिका पुगेका प्रकाश त्यहाँ पुगेपछि रोगी भए । उनले सोचेजस्तो भएन अमेरिका ।

इडिभी परेर अमेरिका जाने भएपछि उनले सात लाख रुपैयाँ ऋण काढेर सबै प्रक्रिया पुर्याए । ऋण काढ्ने बेलामा उनलाई तिर्न सक्दिन की भन्ने कत्ति पनि लागेको थिएन । लागोस् पनि कसरी ? इडिभी नै परेपछि त अमेरिकामै बस्ने सोच थियो प्रकाशको ।

‘पढ्दा लागेको ऋण तिरौंला, दुईचार पैसा बचत गरौंला भनेर गएँ । तर अमेरिकाले मलाई पैसाको सट्टा अनौठो रोग दियो,’ प्रकाशले भने । सपनाको भारी बोकेर २०७२ सालमा अमेरिका उडेका प्रकाश पहिचान नै गर्न नसकिने रोग लिएर फर्किए । अमेरिकाको बोस्टनमा १५ दिन काम गरे प्रकाशले । तलव एक रुपैयाँ पनि पाएनन् । १५ दिनकै कामले उनलाई गतिलो झापड उपहार दियो । प्रकाशलाई लागेको रोग के हो भनेर डाक्टरले समेत पत्ता लगाएका छैनन् ।

निकै बिरामी भएपछि प्रकाश उपचारका लागि घर फर्किए । उपचार गराएर उनी १० महिनापछि फेरि अमेरिका उडे । उनले अमेरिका जानका लागि फेरि तीन लाख रुपैयाँ ऋण काढे । प्रकाश निको पनि भए । दोस्रो पटक उनले कोलोराडोमा बसेर काम सुरु गरे । झण्डै साढे दुई महिना काम गरे । त्यसपछि फेरि पहिलेकै बिमारले सतायो उनलाई । काम गर्न सकेनन् । सबैले नेपाल नै फर्कन सुझाएपछि उनी फेरि नेपाल फर्किए ।

अढाई महिनामा एक लाख ४८ हजार रुपैयाँ कमाए । उनलाई नेपाल फर्कने बेला साथीहरुले सहयोग गर्ने बताएका थिए । तर नेपाल फर्किएपछि सबैको व्यवहार परिवर्तन भएकोमा उनी चित्त दुखाउँछन् । ‘नेपालमा छँदा सोच्ने अमेरिका र साँच्चैको अमेरिकामा र आकाश पातालको फरक हुँदोरहेछ । रातदिन रोएर बिताएँ । त्यस्तो होला भनेर सपनामा पनि सोचेको थिइन,’ प्रकाश भक्कानिन्छन् ।

‘अमेरिका पुगेपछि केके गर्छु जस्तो लाग्थ्यो, तर त्यहा पुगेपछि भिड मै हराएँ,’ प्रकाशले भने । अमेरिका जाँदा काडेको सहित उनको काँधमा १५ लाख रुपैयाँ ऋण छ । बिमारले दिनहुँ गाँजिरहेको छ ।

कमाउन गएको छोरा रोग लिएर फर्केपछि आमालाई चिन्ता

प्रकाशकी आमालाई छोरो सरकारी जागिरे भएको हेर्ने मन थियो । तर प्रकाशको अमेरिका जाने रहरको अघि उनको केही लागेन । अहिले छोराले इच्छाएको कामले स्वास्थ्य छोरालाई बिमार बनाएपछि आमा देऊमाया अधिकारीलाई चिन्ता थपिएको छ । ‘अलिअलि काम गर्यो कि बिरामी भैहाल्छ, के गरेर खाला यसले मलाई साह्रै चिन्ता छ यसको,’ देऊमायाले भनन् ि।

प्रकाशलाई निको भएपछि कमाएर ऋण तिरौंला भन्ने आत्माविश्वास अझै मरेको छैन । उनले काठमाडौं र इलामका अस्पताल धाइरहेका छन् । तर उनको रोग अलिकति पनि कम भएको छैन । साथमा पैसा नहुँदा भनेजस्तो अस्पताल पनि जान सकेका छैनन् । १५ लाख रुपैयाँको ब्याज प्रकाशको बाबुले तिरिरहेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here