दसैं कसैलाई दसा नबनोस्

0
153
नरेन इलामेली, माईजोगमाई-१, नयाँ बजार इलाम

दसैं नेपालीहरुको महान् चाड हो । दसैं नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । दसैंलाई विजया दशमी, नवरात्र तथा दशहराका नामले समेत चिनिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुन्छ ।  पहिलो दिन अर्थात आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ ।

दसैं घटस्थापनाबाट कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनसम्म मनाइने भए पनि सुरुका नौ दिनलाई नवरात्री र दसौं दिनलाई दसैं भन्ने गरिन्छ । घटस्थापनाको अघिल्लो दिन औंसी तिथि पर्छ । जसलाई जमारे औंसी समेत भन्ने गरिन्छ । तर विशेषतः जमरा घटस्थापनाकै दिन राख्ने प्रचलन रहेको छ । घटस्थापनाका दिन विशेष पूजापाठ गरि घरघरमा धान, मकै, जौ जस्ता अन्नहरुको जमरा राखिन्छ र नवरात्र भर हरेक दिन विभिन्न भगवतीहरुको पूजा गरिन्छ । यसरी अन्नहरुबाट उमारिएको कलिलो अंकुरणलाई दशमीका दिन अर्थात दसैंका दिन रातो अक्षतासँग नवदुर्गा भगवतीको प्रसादका रुपमा लगाइन्छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फुलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजया दशमी र कोजाग्रत पूर्णिमा दसैंका प्रमुख तिथिहरु मानिन्छन् ।

दसैं परापूर्वकालदेखि चलिआएको एउटा महत्वपूर्ण चाड हो । परापूर्वकालमा दानवहरुले मानव जातिलाई अत्यन्तै दुःख कष्ट दिएकाले दुर्गामाताले दश दिन लामो युद्ध गरी दानवहरुको वध गरी दशमीका दिन दानवहरुमाथि विजय प्राप्त गरेकाले दसैंलाई विजया दशमी भनिएको र उक्त असत्यमाथि सत्यको जित भएको दिनको सम्झनामा विजय उत्सवका रुपमा दसैं मनाउन थालिएको भन्ने कथन रहेको पाइन्छ । यस चाडलाई खुसी, मेलमिलाप र सामाजिक एकताको पर्यायका रुपमा पनि लिइन्छ ।

विजया दशमीका दिन आफू भन्दा ठूला मान्यजनको हातबाट टीका र जमरा लगाउनुका साथै आशिर्वाद लिने गरिन्छ ।  आफ्ना आफन्तजन, छरछिमेकी, नाता कुटुम्बलाई पनि सहज होस भनेर यो कार्य कोजाग्रत पूर्णिमासम्म‌ गरिन्छ । आफ्ना नातेदार, कुटुम्ब, मान्यजनको हातबाट टीका तथा जमरा लगाउने, आशिर्वाद लिने, नयाँ लुगा लगाउने, आफ्नो क्षमता अनुसार मीठो मसिनो खाने, खुवाउने जस्ता काम यस चाडमा उत्साहका साथ गरिन्छ ।

तर पछिल्लो समय नेपाली चाडपर्वहरु विदेशी संस्कृतिबाट नराम्रो गरी गाँजिदै गएका छन् । चाडपर्वहरु परम्परागत पहिचानयुक्त भन्दा पनि आधुनिकतातर्फ ढल्किँदै छन् । चाडपर्वका नाममा गलत प्रतिस्पर्धा बढ्दै गएको छ । समाजमा रहेको वर्गीय असमानताका कारण हुने खाने र हुँदा खाने वर्ग बीचको खाडल प्रष्टै देखिन थालेको छ । कसले कस्तो खाने, कस्तो लगाउने र कति खर्च गर्ने भन्ने कुरामा समेत प्रतिस्पर्धा हुन थालेको छ । भगवान् र देवीदेवताका नाममा पशुवली दिनेहरुको बजारै लाग्न थालेको छ । नेपाली समाजमा रहेको देखासिखी र पछौटेपनका कारण हरेक वर्ष नेपाली समुदायलाई व्ययभार थप्दै लगिरहेको छ । सबैको खुसीयाली बोकेर आउनुपर्ने चाड दसैं कसैलाई दसैं त कसैलाई दसा बन्दै गएको छ ।

जब चाडपर्वहरु नजकिन्छन् तब बजारमा कृत्रिम अभाव कालोबजारी र अखाद्य पदार्थको मिसावट भएका बस्तुहरु छ्यापछ्याप्ति देखा पर्छन् । तर बजार नियन्त्रण गर्ने सम्बन्धित निकायहरु मौन छन् । जसका कारण हजारौं नागरिकको अकालमा मृत्यु भइरहेको छ । हरेक जस्तो चाडपर्वहरु गरीब र मध्यम वर्गीय परिवारका लागि बोझ बन्दै गएको छ । अरु सरह हुन खोज्दा वर्सेनि ऋणभार बढ्दै गएको छ । उच्‍च वर्गीय र समपन्‍न परिवारलाई हँसाउने र निम्‍न तथा मध्यम वर्गीय परिवारलाई रुवाउने पर्वका रुपमा चिनिंदै छ दसैं ।

आजभोलि चाडपर्वहरु परम्परागत भन्दा आधुनिकतातर्फ लम्किँदै छन् । महंगा बन्‍न थालेको छन् । निम्‍न वर्गका लागि बोझ बन्‍न थालेको छ । कतिको त उठीबासको कारण समेत बन्‍न थालेको छ । गाउँघरमा रोटे पिङ, लिङ्गे पिङ र चङ्गाहरु लोप हुन थालेका छन् । बरु जुवातास र डाइसले प्राथमिकता पाउन थालेको छ । जसका कारण धेरैलाई घरबार बिहिन समेत बनाइरहेको छ । दसैंको मौलिक खाना दही, चिउरा र केराको सट्टा जाँड, रक्सी र महंगा मादक पदार्थले प्रश्रय पाइरहेको छ । जसले दीर्घ रोग र भयानक दुर्घटना निम्त्याइरहेको छ ।

दसैंलाई दसैंको रुपमा मनाऊँ, दसाको रुपमा होइन । मौलिकतामा रमाऊँ, आधुनिकतामा होइन । आफुसँग जे छ बाँढेर खाऊँ, बाँढेर लगाऊँ । हेलाहोचो र अपहेलना होइन । सकिन्छ सबैलाई हँसाऊँ, सकिँदैन कसैलाई नरुवाऊँ । अरु घोडा चढे भनेर आफू धुरी चढ्ने काम नगरौं । आफूसँग जे छ त्यसैमा रमाऊँ । देखासिखी र तडकभडकमा चाडपर्व नमनाऊँ ताकि ऋणको बोझ बोक्नु नपरोस् । “घाँटी हेरी हाड निल्नु” भने झैं क्षमता अनुसार चाडपर्व मनाऊँ । दसैं कसैलाई पनि दसा नबनोस् । देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा वडा दसैंको हार्दिक शुभकामना ।

(लेखक नयाँ बुलन्द डटकमका माईजोगमाई सहकर्मी हुन् ।)

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here