गन्धर्वहरुको मोह बजार क्षेत्रमा

0
183

युद्धबहादुर बोहोरा

इलाम :  जातीय पेशाका रूपमा गन्धर्व जातिले सारङ्गी बजाउने चलन पहिल्यैदेखि नेपालमा चलिआएको छ । उनीहरुका मार्मिक सारङ्गीको धुनसँगै वास्ताविक घटनालाई गीत बनाएका भाकाहरु कर्णप्रिय छन् ।

अल्पसंख्यकमा पर्ने यी जातिहरुको सारङ्गी ज्यालादारीको प्रमुख साधन हो । घुमेर जम्मा गरेको रकम नै उनीहरुको मुख्य आयश्रोत हो । त्यसैबाट पारिवारिक खर्च चलाउने गर्दछन् । आधुनिक बाजाले आफ्नो पेशा ओझेल पर्न थालेको छ । पुर्खौली पेशाको अस्तित्व धराप भएको गुनासो पोख्छ्न् पूर्वाञ्चल गन्धर्व साँस्कृतिक उत्थान समाजका सल्लाहकार डम्बर गन्धर्व ।

पहिला गाउँ घरका कुनाकुनामा गन्धर्व घुम्ने गर्थे तर आजकाल धेरै शहर मुखी भएका छन् । तिहारमा देउसी भैलो खेल्न टाढा टाढाबाट गन्धर्व अर्थात गाइनेहरु आउँदा खुबै रमाइलो हुने गरेको बताउँछन् इलाम, फाकफोकथुम-१ का ७८ वर्षिय भिम प्रसादभट्टराई । २०३२ सालमा भोजपुर जरायोटारबाट बसाइँ सरी झापा कचनकवल गाउँपालिका-२ मा आएका गन्धर्वमध्ये भुपाल र डम्बर गन्धर्व ११ वर्षको उमेरदेखि आफ्ना हजुरबा सुरेश गन्धर्वसँग सारङ्गी बजाउँदै हिंडेको अनुभव सुनाउँछन् ।

‘पहिला हामीलाई धेरै ठाँउमा सत्कार र सम्मान हुन्थ्यो तर आजभोलि त्यस्तो कमै पाइन्छ  ।’  पातलो बस्तीमा घुमफिर गर्दा आफ्नो दैनिक ज्याला नउठ्ने हुँदा आफुहरु बाध्यताले बाक्लो बस्ती र बजार क्षेत्रमा भित्रनु परेको गन्धर्वहरुको भनाइ छ । मौसम राम्रो हुँदा १५ देखि २० हजारसम्म मासिक कमाइ हुने उनीहरु बताउँछन् ।

 काठमाडौं, पोखरा र नेपालका सिमाना नजिकै भारतको सिक्किम, दार्जिलिङ र सिलिगुडी समेत डुल्ने गरेको बताउँछन्। उनीहरु अहिले दशैं खर्च जुटाउन इलाम र पाँचथरका घुर्बिसे पन्चमी, राँके, रवि बजार साथै यासोक, चिसापानी,फिदिम नगरपालिका लगायतका क्षेत्र तिर घुम्ने क्रममा छन् ।

धेरै जसो बजारबाट सन्तोषजनक रकम पाएकोमा खुशी व्यक्त गर्दछ्न् । जम्मा भएको केही रकम गन्धर्व साँस्कृतिक उत्थान समाजमा राखिने उनीहरुको भनाइ छ । बजारमा डुल्न अहिले भ्याइनभ्याई छ । दशै तिहारमा झनै चटारो हुने बताउँछन् । आफ्नो मौलिक संस्कृतीलाइ जोगाउन कम्मर कस्‍ने यस्ता कला र सीपका पारखीलाई सम्बन्धित पक्ष र आम नागरिकले संरक्षण र सहयोग गर्न जरुरी देखिन्छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here