अझै टुकीको धिपधिप

0
85
तस्विर : गुगल

विप्लव भट्टराई

इलाम : माङसेवुङ ३ को वडा कार्यालय चतुरे पुग्दा कर्मचारी पुष्कर कार्की सेवाग्राहीको काममा व्यस्त थिए । उनलाई सघाउँदै भेटिएका वडाध्यक्ष मैतराज राईलाई पनि वडाका योजनाहरूको काममा भ्याइनभ्याइ थियो ।

हुस्सुले धपक्कै छोपेको चतुरेमा भाडामा लिएको कोठामा कार्यालय सञ्चालन गर्न र सेवाग्राहीको बाक्लो भीड थेग्न यसै कठिन थियो । त्यसमाथि पटकपटक कम्प्युटर र प्रिन्टर अफ गर्नुपर्ने भएपछि उनीहरूको तनाव थप चुलिएको प्रस्ट हुन्थ्यो ।

मुलुक नयाँ संरचनामा गएपछि नयाँ बनेको यो वडामा कार्य सम्पादनमा सबैभन्दा झन्झटको कारण थियो विद्युत् अभाव । केन्द्रीय प्रसारण लाइन नभएको यस क्षेत्रमा सौर्य ऊर्जाका भरमा काम चलाउनुपर्छ । तर निरन्तर हुस्सु लाग्ने भएपछि व्याट्री जार्च नभएकाले नियमित काम गर्न नै कठिन छ ।

‘कम्प्युटर सिस्टमबाट काम नगरी सम्भव छैन,’ कार्कीले भने, ‘तर सोलरको भर मात्र पर्दा साँच्चै कठिन छ ।’ लारूम्बा हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरणको तयारी अन्तिम चरणमा पुगे पनि प्रयोगमा आउन सकेको छैन । जसका कारण यो पटकको चटारो सौर्य ऊर्जाकै प्रयोगबाट टार्नुको विकल्प त्यहाँ थिएन ।

दिन खुलेको अवस्थामा जसोतसो सोलारबाट टेलिभिजनसम्म हेर्ने गरेका स्थानीय हुस्सु लागेको मौसममा त्यो पनि पाउँदैनन् । ‘विद्युतीकरणका लागि पोल गाडेर तार पनि टाँगिएपछि आशा गर्नै पर्‍यो,’ स्थानीय डेभिड सुनुवारले भने, ‘तर महिनौंदेखि बलिहाल्छ भनेर आश्वासन बाँडियो तर बलेन ।’ चतुरे क्षेत्रमा विद्युतीकरणको प्रयास भइरहे पनि गाउँपालिकाका सवै क्षेत्रमा विद्युत् पुग्न अझै कठिन छ ।

अन्यत्र इमेल इन्टरनेटबाट बाहिरी दुनियाँसँग सम्पर्क बढाउने होडबाजी हुँदा यहाँ भने टुकीको विकल्प भेटिएको छैन । जिल्लाकै विकट मानिएको यो गाउँपालिकाका धेरै क्षेत्रमा अझै पनि विद्युतीकरण भएको छैन ।सौर्य ऊर्जाको भरमा अत्यावश्यक काम चलाइए पनि ठूलो काम गर्न कठिन छ । गाउँपालिकाका वडा कार्यालयसमेत सवैतिर व्यवस्थित नभएको अवस्थामा विद्युत् अभावले अझै समस्या भएको हो । ६ वटा वडा भएको गाउँपालिकाको ६, ४, ३ र २ नम्बर वडाका धेरै घरमा विद्युत् सुविधा पुगेको छैन ।

दमक रवि सडकलाई लक्षित गरेर चतुरेमा रेस्टुरेन्ट खोलेका रोशन राईले विद्युत् अभावमा हैरानी त खेप्नु परेको छ नै खर्च पनि उत्तिकै गर्नु परेको छ । करिब ३ सय मिटर तलबाट पानी तान्नुपर्ने भएपछि उनले दैनिक जेनेटर चलाएर पानीको जाहो गर्नुपर्छ ।अचेल यातायातका साधन खासै नचलेर आगन्तुक कम भए पनि घरायशी प्रयोजन र आक्कलझुक्कल आउने ग्राहकका लागि पनि जेनेटर चलाउनुको विकल्प छैन । घरमाथि पानीको स्रोत नभएकाले उनले केही तलबाट मोटरले तान्ने गरेका हुन् । ‘विद्युत् बल्छ भन्ने आशामा वाइरिङसमेत सकेर पटकपटक माग गर्दा पनि मिटर बक्स पाउन सकिएको छैन,’ उनले भने, ‘कार्यालयमा जाँदा मिटर बक्स नभएको भन्ने जवाफ मात्र पाइन्छ ।’

माङसेवुङ गाउँपालिकाको बजेटमार्फत यहाँ विद्युत् विस्तार गर्ने प्रयास गरिएको हो । विद्युत् प्राधिकरणले भने ट्रान्सफरमरको अर्जिनल टेस्ट रिपोर्ट नआएको र मिटर बक्सको समेत अभाव भएकाले ढिलाइ भएको जनाएको छ । चतुरे क्षेत्रका १ सय ८५ घरमा विद्युतीकरणका लागि गाउँपालिकाले २८ लाख ५० हजार खर्चेको छ । जसमा स्थानीयले ४ लाख १८ हजारको श्रमदान पनि गरेका छन् । गाउँपालिकाले सडकसँगै विद्युत् विस्तारलाई प्राथमिकता दिएको बताउँदै केही वर्षभित्र सवै क्षेत्रमा विद्युत् विस्तार गरिसक्ने प्रमुख डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

टेलिफोन सेवा पनि उस्तै 
कालोपत्रे सडकले समेत नछोएर विकट मानिएको यो गाउँपालिकामा मोबाइल फोनको सुविधा पाउन पनि उत्तिकै कठिन छ । गाउँपालिकाका सवै क्षेत्रमा मोबाइलको नेटवर्क टिप्दैन । अत्यावश्यक कामका लागि मोबाइलको उपभोग गर्न नपाउँदा स्थानीय दिक्क छन् । चतुरेमा रहेको एनसिएलको टावरले बर्खायाममा सवै समय सेवा दिन सक्दैन ।

सौर्य ऊर्जाको भरमा सञ्चालन भएकाले हुस्सु लागिरहने यस क्षेत्रका बासिन्दाले राम्रो सेवा नपाएको स्थानीय एलिशा राईले बताए । लारुम्बा धार्मिक क्षेत्रमा रहेको टावर पनि सौर्य ऊर्जाकै भरमा सञ्चालन भएकाले उति प्रभावकारी छैन । भौगोलिक विकटताका कारण समस्यामा रहेको यो क्षेत्रमा सञ्चारसेवा प्रभावकारी भए मात्र पनि धेरै सुविधा पाइने स्थानीयको भनाइ छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here