‘लिम्बुवान-खम्बुवान’ बन्दले पूर्वको जनजीवन प्रभावित

0
235
जनमुक्ति पार्टी सहित ४ दलले मंगलबार आह्वान गरेको ‘लिम्बुवान-खम्बुवान’ बन्दका कारण सुनसान रहेको इलाम बजार । तस्विर : राम योङहाङ

राम योङहाङ

इलाम : १ नम्बर प्रदेशको नाम ‘लिम्बुवान-खम्बुवान’ प्रदेश सुनिश्चितताको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी सहित विभिन्न ४ दलले मंगलबार आह्वान गरेको ‘लिम्बुवान-खम्बुवान’ बन्दले इलाम सहित पूर्वको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण मंगलबार विहानैदेखि इलामसहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा, तेह्रथुम लगायत १ नम्बर प्रदेशको जनजीवन प्रभावित बनेको छ ।

इलामबाट नियमित सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चलेका छैनन् । शैक्षिक संस्थाहरु बन्द छन् । बजार तथा पसलहरु भने आंशिक रुपमा खोलिएका छन् । बन्दकर्ताहरु भने देखिएका छैनन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चाले गरेको बन्दमा एम्बुलेन्स, जन्तीको गाडी, मलामीको गाडी, कुटनीतिक नियोग र प्रेसको गाडीलाई भने चल्न दिइएको छ ।

सो बन्दलाई विभिन्न ७ रजानैतिक दलहरुले समेत ऐक्यवद्धता जनाएका छन् । बन्दलाई लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्वुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यबद्धता जनाएका छन् ।

वि.स. १८३१ साल साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई राष्ट्रिय जनमुक्ति पार्टीले विगत १० वर्षदेखि ‘कालो दिन’ को रुपमा मनाउँदै आएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले २०६६ सालदेखि साउन २२ लाई ‘कालो दिन’ मान्दै लम्बुवान क्षेत्र बन्द गर्दै आएको छ ।

विगतका वर्षमा अरुण पूर्वको नौ जिल्लालाई ‘लिम्बुवान’ प्रदेश सुनिश्चितताको माग गर्दै ‘लिम्बुवान’ बन्दको आह्वान गरेको सो पार्टीले यसवर्ष भने ‘लिम्बुवान-खम्बुवान’ प्रदेशको माग गर्दै बन्द आह्वान गरेको हो । 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here