प्रधानमन्त्री देउवा झापा आउँदै

0
105

नयाँ बुलन्द

झापा : नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा झापा क्षेत्र नं. ५ मा आउने भएका छन् ।

प्रधानमन्त्री देउवाले मंसीर ११ गते सोमबार यस क्षेत्रको गौरादहमा हुने विशाल चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवासहितका शीर्ष नेताहरु यस क्षेत्रमा आउन लागेका हुन् । कांग्रेस क्षेत्रीय समितिले शुक्रबार दमकमा पत्रकार भेटघाट कार्यक्रम गरि पार्टी सभापति देउवा आउने बारे जानकारी दिएको हो ।

आमसभा तयारी समितिका संयोजक सुरेस सुब्बाले आमसभा भव्य र बिशाल बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको बताए । गौरादह बजारमा हुने आमसभामा ५० हजार बढी सर्वसाधारण उर्ताने संयोजक सुब्बाले बताए ।

महासमिति सदस्य समेत रहेका सुब्बाका अनुसार आमसभामा पार्टी सभापति देउवासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेलगायतका नेताहरुले सम्बोधन गर्नेछ । सो पत्रकार सम्मेलनमा कांग्रेस नेता पूर्णानन्द शर्मा, निर्वतमान सांसद तथा समानुपातिक उम्मेदवार महेन्द्रकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महिला संघकी क्षेत्रीय सभापति रेगीना भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

चुनावी सक्रियता बढ्दो

झापा क्षेत्र नं. ५ को चुनावलाई देशभरमै चासोका साथ हेरिएको छ । आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओली आफै खटिन थालेपछि कांग्रेसले पनि आफ्नो पक्षमा माहोल तताउन लागेको हो । ओली कार्तिक अन्तिम साता ५ दिनसम्म बसेर आफ्नो क्षेत्रका चुनावी सभाहरुमा सहभागी भएका थिए ।

विगतमा एमालेको आधार क्षेत्र जस्तो देखिएको झापा क्षेत्र नं. ५ मा यो पटकको चुनावका लागि भने त्यो अवस्था छैन । ओलीले कार्तिक अन्तिम साता झापा बसाईका क्रममा अधिकांश कार्यक्रमहरु क्षेत्र नं. ५ को तल्लो भेगमा गरे । साविक ६ र ७ नम्बर क्षेत्र जोडेर क्षेत्र नं. ५ बनाएपछि एमालेलाई यस पटक सहजै चुनाव जित्न कठिन भएको छ । पछिल्लो समय जिल्लामै झापा ५ मा आफ्नो पक्षमा जनमत बढ्दै गएको कांग्रेसको दाबी छ ।

यस क्षेत्रमा विगतमा कमजोर रहेको कांग्रेस असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने निकै बलियो नतिजा ल्याएको थियो । एमालेले सहजै जित्ने दाबी गरिएको कमल गाउँपालिका र गौरादह नगरपालिकामा कांग्रेस हाबी भयो । गौरादहमा नगर प्रमुख नै कांग्रेसले जितेको छ । कमलमा पनि कांग्रेस गोला प्रथामा मात्र हार्न बाध्य भयो । गौरीगञ्ज गाउँपालिकामा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी रहदै गाउँपालिकाभित्र बहुमत सदस्य जित्न सफल भयो ।

कांग्रेसले यस अवस्थालाई मध्यनजर गर्दै पार्टी सभापति, वरिष्ठ नेतासहितको आम सभा यस क्षेत्रमा राख्न लागेको जनाएको छ । स्थानीय तहको जनमतलाई स्थिर राख्न सके यस क्षेत्रमा दोस्रो पटक कांग्रेसले झण्डा गाड्न सक्ने उसको विश्लेषण छ । यसअघि ओलीले ०५६ सालमा जितेर पनि क्षेत्र त्यागेपछि भएको उपनिर्वाचनमा कांग्रेसका डा.गोपाल कोइराला निर्वाचित भएका थिए । त्यसबेला एमालेका देबेन्द्र दाहाल पराजित भएका थिए ।

ओली पनि आफनै क्षेत्रमा केन्द्रीत

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आफनो निर्वाचन क्षेत्रका विभिन्न चुनावी कार्यक्रहरुमा सहभागी हुन गृह क्षेत्र आउदै छन् । मंसिर १३ गते देखि १६ गते सम्म ओलीले यस क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको क्षेत्रीय निर्वाचन परिचालन कमिटीले जनाएकोछ ।

बामगठबन्धनका तर्फबाट झापाको क्षेत्र नम्वर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली मंसिर १३ गते , १५ गते र १६ गते निर्वाचन क्षेत्रका मतदाता ,खेलाडी र महिलाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ ।.१३ गते दमकका खेलाडी र महिलाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले १५ गते दमक– ३ स्थित आमचोक , वडानम्वर ९ को चियादोकान ,वडानम्वर १० को संगम चोकमा मतदातासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यता १६ गते लखनपुर र दमक– ६को नमुनामार्गमा कोणसभालाई ओलीले सम्बोधन गर्ने छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here