संयौको संख्यामा संघीय समाजवादी फोरममा प्रवेश

0
404

नयाँ बुलन्द

इलाम : आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै दलहरुमा चुनावी सरगर्मी बढेको छ । शहर भन्दा गाउँमा चुनावी गतिविधिहरु बढेका छन् । उम्मेद्वारहरु किसानका खेत र बारीमा पुगेर भोट माग्न व्यस्त छन् । चुनावी घरदैलो, आन्तरिक प्रशिक्षण, कार्यकर्ता भेटघाट, चुनावी सभा र पार्टी प्रवेशका गतिविधिहरु दिनहुँ हुन थालेका छन् ।

यसै क्रममा पछिल्लो समय देशैभर संघीय समाजवादी फोरम नेपालमा पार्टी प्रवेशको लहर बढेको छ । चुनावी गतिविधिलाई तीब्रता दिएको संघीय फोरमले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा भित्र्याउने अभियान सञ्‍चालन गरिरहेको छ । मधेस, पहाड तथा हिमालका समेत विभिन्न जिल्लाहरुमा दैनिक रुपमा पार्टी प्रवेशको कार्यक्रम भइरहेको छ । कुनै ठाउँमा सिङगो पार्टी कमिटि तथा कुनैमा समूह र व्यक्तिगत प्रवेशको लहर चलेको छ । केन्द्रीय नेताहरुलाई पार्टी प्रवेशमा जान भ्याइ नभ्याइ रहेको सो पार्टीले जनाएको छ ।

यसैबीच सोमबार इलाम र पाँचथरमा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । इलामको फाकफोकथुम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको संगम घुर्विसे पञ्‍चमीमा आयोजित चुनावी सभामा दुई जिल्लाका एक सय बढीले पार्टी प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेमा सबैभन्दा बढी नेकपा एमालेबाट आएका छन् । त्यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान मञ्‍च परित्याग गरी संघीय समाजवादी फोरम प्रवेश गरेका हुन् ।

उत्पीडित जनताको पक्षमा लड्ने एकमात्र पार्टी संघीय समाजवादी फोरम नै रहेको भन्दै उनीहरु आफ्नो पुरानो पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रविण नेम्बाङ, राजनीतिक समिति सदस्य तथा लिम्बुवान प्रदेश समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य मुकुम नेम्बाङ, केन्द्रीय सदस्य मित्रलाल चापागाई लगायत दर्जन बढी केन्द्रीय र जिल्ला स्तरका नेताहरुले टीका र फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा उनीहरुले नेपालको बैकल्पिक राजनीतिक शक्ति संघीय समाजवादी फोरम मात्र रहेको जिकिर गर्दै यसैमा गोलबन्द हुन अपिल समेत गरेका थिए ।

यसअघि शनिबार पाँचथरको मिक्लाजोङस्थित रवि बजारमा आयोजित चुनावी सभामा समेत कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायत पार्टी परित्याग गरी ७९ जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here