आर्मी फाइनलमा प्रवेश

0
88

नयाँ बुलन्द

झापा : नेपाल आर्मीको त्रिभुवन क्लव काठमाण्डौ झापाको झिलझिलेमा जारी दोस्रो टुवोर्ग सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले झापा ११ लाई शून्यका विरुद्ध तीन गोल गरेर फाइनल यात्रा तय गरेको हो  ।

आर्मीले खेलको १३ औं मिनेटमा राष्ट्रिय स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । झापाका कप्तान योगेश गुरुङ्गले डिबक्स नजिकै आर्मीका सन्तोष तामाङ्गलाई फल गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । तामाङ्गले गरेको फ्रिकिकलाई झापाका गोलकिपर किशोर गिरी अनमार्क रहेको बेला नवयुगले गोल गरेका थिए ।

त्यसपछि ३६ औं मिनेटमा नवयुगले दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए । उनले जर्ज प्रिन्स कार्कीको पासमा जाली चुमाएका थिए । त्यस्तै ७८ औं मिनेटमा आर्मीका सब्सिच्यूट खेलाडी दीप लामाले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

खेलको दोस्रो मिनेटमै डिबक्सभित्रबाट नवयुगले गरेको प्रहार पोष्टको क्रसबार नजिकैबाट बाहिरिएको थियो । त्यस्तै १४ औं मिनेटमा जर्ज प्रिन्सको प्रहार बार नजिकैबार बाहिरियो । ३७ औं मिनेटमा झापाका विशाल राईको कडा प्रहार आर्मी गोलरक्षक विकेश कुथुले पञ्ज गर्दै जोगाएका थिए । ७१ औं मिनेटमा नवयुगको प्रहार झापाका गोलरक्षक किशोरले पञ्च गरेर गोल हुनबाट जोगाएका थिए । ८८ मिनेटमा डिबक्स भित्रबाट झापाका पुजन उपरकोटीेले गरेको कडा प्रहार आर्मीका गोलरक्षक कुथुले फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद १० हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा मंगलबार अन्तिम सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here