याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा थेगीम निर्वाचित

0
280

पाँच बुँदे इलाम घोषणापत्र जारी

नयाँ बुलन्द

इलाम : किरात याक्थुङ चुम्लुङ इलामको सातौं जिल्ला अधिवेशनबाट गायत्री थेगिम अध्यक्षमा निर्वाचित भएकी छिन् । शुक्रबार इलाम सदरमुकाममा सम्पन्न अधिवेशनले तीन वर्षका लागि थेगिमकोे अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा नरबीर योङहाङ (एनबी), सचिवमा राम योङहाङ, सहसचिवमा याम माबोहाङ र कोषाध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएका छन् ।

सदस्यहरुमा रुद्र थेवे, देवकुमारी इधिङ्गो, पुष्पा लिम्बू, पदम ताम्लिङ लिम्बू, प्रेमराज जवेगू लिम्बू, कृष्ण येक्तेन, मनप्रसाद लिम्बू, नारायणकुमार लिम्बू र अमृतप्रसाद केरुङ निर्वाचित भएका छन् । पाँच महिला र दुई खुला तर्फको सदस्यमा नयाँ कार्यसमितिमा प्रतिनिधित्व हुन नसकेका स्थानीय तहबाट पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष थेगीमले जानकारी दिइन् ।

त्यस्तै अधिवेशनले तीन केन्द्रीय पार्षद समेत निर्वाचित गरेको छ । पार्षदमा निर्वाचित हुनेहरुमा निवर्तमान अध्यक्ष चक्र येक्तेन (अभिषेक), निवर्तमान उपाध्यक्ष कुलबहादुर थेगिम र निवर्तमान सचिव सन्तोष नेम्बाङ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थेगिमले नयाँ समितिले स्वायत्त लिम्बुवान प्रदेश प्राप्तिको आन्दोलन पहिलो प्रथामिकतामा राखेर अघि बढ्ने प्रतिक्रिया दिइन् । आफूलगायत आफ्नो टिम राजनीतिक अधिकार र पहिचानसहितको चुम्लुङले उठाएका विभिन्न मुद्धाहरुमा प्रतिवद्ध रहने बताइन् ।

‘लिम्बुवान जातीय स्वायत्तता हाम्रो प्रतिवद्धता’ भन्ने मुला नाराका साथ अधिवेशन बिहीबार सुरु भएको थियो । अधिवेशनमा विभिन्न नगर र गाउँ शाखाका ९५ बढी प्रतिनीधि पर्यवेक्षकको सहभागिता रहेको थियो ।

पाँच बुँदे घोषणापत्र जारी

यसैबीच अधिवेशनले समसामयिक विभिन्न प्रस्तावहरु पारित गरी पाँच बुँदे इलाम घोषणापत्र जारी गरेको छ । अधिवेशनले लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कृति तथा इतिहासको सम्मान र संरक्षण गर्दै लिम्बू जातिको उत्थान, साँस्कृतिक पुर्नजारगरण, सामाजिक, आर्थिक, शैक्षिक, भाषिक विकासका लागि विभिन्न अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ ।

घोषणापत्रमा अरुण पूर्वको नौ जिल्लालाई पहिचान सहितको लिम्बुवान स्वायत्त प्रदेश निर्माणका लागि संघर्ष गर्नका साथै लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, लिम्बू जातिको समाधिस्थल, पुरातात्विक स्थल आदिमा राज्य र विभिन्न समूहबाट भएको अतिक्रमणलाई रोक्ने उल्लेख छ ।

त्यस्तै लिम्बू भाषामा राखिएका ऐतिहासिक स्थानहरुको नाम क्रमशः अपभ्रशं हुँदै खस नेपालीकरण भएकोमा पुनः लिम्बू भाषामा नै नामाङ्करण गर्ने अभियान सञ्चालन गर्ने, जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका बोर्डहरुमा किरात श्रीजंगा लिपिमा समेत कार्यालयको नाम उल्लेख गन पहल गर्र्ने र लिम्बू समुदायको बाहुल्यता रहेको विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउँदै मातृभाषा शिक्षक दरबन्दीका लागि माग गर्ने प्रस्ताव पारित गरेको छ ।

चार जनप्रतिनिधि सम्मानित

यसैबीच अधिवेशनको उद्घाटनमा किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न चार जना जनप्रतिनिधि र एक उत्कृष्ठ गाउँ शाखालाई सम्मान गरेका छ ।

गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वार भई विजयी भनेका लिम्बू जनप्रतिनिधिलाई चुम्लुङले सम्मान गरेको हो । स्थानीय तहको निर्वाचनबाट निर्वाचित माई नगरपालिकाका प्रमुख दीपक थेवे, इलाम नगरपालिकाका उपप्रमुख शुशीला नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र माङसेबुङ गाउँपालिकाकै उपाध्यक्ष सुनिता योङहाङलाई चुम्लुङले सम्मान गरेको हो ।

उनीहरुलाई प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिसा याक्थुम्बाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए । सम्मानितमध्ये थेवे, नेम्बाङ र योङहाङ नेकपा एमाले र इधिङ्गो नेपाली कांग्रेसबाट उम्मेद्वार भई विजयी बनेका थिए ।

त्यसैगरी किरात याक्थुङ चुम्लुङ इलामले कार्यसम्पादनका आधारमा सबैभन्दा क्रियाशील शाखामध्ये साविकको लक्ष्मीपुर गाउँ शाखालाई सम्मान गरेको छ ।

अधिवेशन उद्घाटन अघि साँस्कृतिक झाँकीसहितको र्याली आयोजना गरिएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here