इलामको सुरक्षा व्यवस्था कडा बनाईदैं

0
142

राम योङहाङ

इलाम : आसन्न २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी इलाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु संलग्न निर्वाचन सुरक्षा कमाण्ड गठन गरी जिल्लाको शान्ति सुरक्षा मजबुत बनाईएको उनले बताए ।

विभिन्न राजनीतिक दलका कार्यक्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन चेकजाँचमा कडाइ गरिएको छ । देशका विभिन्न स्थानहरुमा दलका उम्मेद्वारमाथि आक्रमण भईरहेका अवस्थामा इलाममा भने त्यस्तो अवस्था नभएको प्रजिअ पोखरेलको दावी छ । विभिन्न सुरक्षा संयन्त्र मार्फत निर्वाचन विथोल्नेका विरुद्ध आफूहरु सतर्क रहेको बताउँदै निर्धक्क भएर मतदानमा सहभागी हुन इलामबासी नागरिकलाई आग्रह समेत गरेका छन् ।

प्रजिअ पोखरेलका अनुसार सुरक्षा संवेदनशीलता अध्ययन गरी सुरक्षा रणनीति बनाइएको छ । मतदानस्थल तोकिएका एक सय ४४ ठाउँलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण सुरक्षा रणनीति तय गरिएको छ । भौगोलिक बनोट र अवस्थिती, दुरी र पहुँच, दलहरुको प्रतिष्पर्धा, आपराधिक गतिविधि र विगतका घटना लगायतलाई आधार मानी सुरक्षा योजना बनाइएको प्रजिअ पोखरेलले जानकारी दिए । जिल्लाका मतदानस्थलमध्ये २५ वटा अतिसंवेदनशील, ३५ संवेदनशील र अन्य सामान्य गरी वर्गीकरण गरेको छ ।

निर्वाचनलाई केन्द्रित गरेर पूर्वतयारी, निर्वाचन समयको तयारी र निर्वाचनपछिको तयारी योजना, कार्यनीति र रणनीति तयार गरी अहिले पूर्वतयारीको काम भइरहेको प्रजिअ पोखरेलले बताए ।

उनका अनुसार एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाको काम अगाडि बढाइएको छ । निर्वाचन स्थललाई सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा रहेर नेपाली सेनाले सुरक्षा दिनेछ । त्यसका लागि आठ सय १७ नेपाल प्रहरी, एक हजार दुई सय २५ म्यादी प्रहरी, तीन सय सशस्त्र प्रहरी र पाँच कम्पनी नेपाली सेना खटाउने तयारी भईरहेको छ । साथै आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी पनि रहनेछन् ।

१० स्थानीय तह रहेको इलाममा निर्वाचनका लागि एक सय ४४ मतदान स्थलमा दुई सय ६६ वटा मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र रहेको इलाममा छ पदका लागि ५१ उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here