हिलिहाङ दरबार र विकासको सम्भावना

0
194

पृष्ठभूमी र भौगोलिक अवस्थिति

सन्तोष नेम्बाङ

पाँचथर जिल्लाको उत्तरपश्चिम क्षेत्र हिलिहाङ गाँउपालिका, पञ्चमी अमरपुर र नागी साविक गाविसको सिमानाको संगमस्थल  थुम्कोमा पुरानो भग्नावशेषको रुपमा हिलेहाङ राजाको दरबार भनी चिनिएको यो स्थान रहेको छ । पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग हुँदै करिब १ घण्टा ३० मिनेटको हल्का सवारी साधनको यात्रा पछि गोपेटार बजार पुगेर २ किलोमिटर अगाडि भएर राजमार्ग छाडी कच्ची बाटो ३.५ कि.मि. पश्चिमतर्फ साना सवारी साधनबाटै यस स्थानमा पुग्न सकिन्छ । यसको अवस्थिति २७º १५’ उत्तरी अक्षांश, ८७º४६’ पूर्वी देशान्तर र समुद्र सहतबाट उचाई ६००० फिट रहेको छ ।

यस क्षेत्रको वनमा लालीगुराँस, उत्तिस, सल्ला,कटुस जस्ता रुखहरु पाइन्छ भने कालिज,वनकुखुरा लगायतका पंक्षिहरुको वासस्थान रहेको छ भने मृग, स्याल जस्ता आदि जनावर पाइन्छन् । यस दरबार क्षेत्रको उत्तरतर्फबाट काबेली नदी, पाथिभरा मन्दिरको डाँडा, कु्म्भकर्ण र कञ्चनजंघा हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । दरबार क्षेत्रको भौगोलिक बनावट मनमोहक एवं रमणीय छ ।

यस क्षेत्रको ऐतिहासिक महत्व

नेपाल एकीकरण अघि पल्लो किराँत भनिने यस क्षेत्रमा थुप्रै स–साना राजा रजौटा रहेको पाइन्छ । इतिहासविद नारायण संग्रौलाका अनुसार तीमध्ये मङवटकका राजा हिलिहाङ ज्यादै शक्तिशाली थिए । नेपाल एकीकरणको क्रममा यी राजा र गोर्खाली सेनाबीच १७ पटकसम्म युद्ध भएको इतिहासका पानामा पढ्न पाइन्छ । पृथ्वीनारायण शाहको अन्तिम कालखण्ड र त्यसपछिका १० वर्षमा शाह र हिलिहाङ राजाहरु बीच पटक–पटक सन्धी सम्झौता भएको पाइन्छ । यसैक्रममा वि.सं. १८४२ मा मुसेन हाङ योङहाङ लिम्बुवानका राजा भए । यी राजाले भोटे गढीका लेप्चा राजालाई जिती सिक्किमतर्फ खेदाए पछि लिम्बुवानले गोरखा राजालाई केन्द्रीय राज्य मान्ने गरी ठूलो जिम्मेवारी सहितको स्थानीय अधिकार प्राप्त गरे ।

इतिहासको अनुसन्धान यस अध्ययनको कार्यक्षेत्रभित्र नपर्ने भएकोले उल्लेखित घटनाक्रमको आधारमा यस क्षेत्रको ऐतिहासिक महत्व पर्याप्त मात्रामा प्रकाशित भएको छ । इतिहास अनुसन्धानकर्ताहरुको लागि यहाँ ठूलो अवसर रहेको अनुमान गर्न सकिन्छ ।

हिलिहाङ दरकारको कैदी राख्‍ने खोर ।

पुरातात्विक महत्व

यस क्षेत्रमा प्रवेश गर्ने बित्तिकै यसको पुरानो सभ्यताको आभाष हुन्छ ।

  • १‍‍‍. पश्चिमतर्फ दरबार प्रवेशको शुरुमा नै करिब ८ मीटर चौडाई १५ मिटर लम्बाई भएको चौतारा रहेको छ । सुख्खा ढुंगाको गाह«ो लगाएको यस चौतारामा बसी राजाले प्रजाको बिन्ती सुन्ने एवं कसुरदारलाई सजाय फैसला गर्ने गर्दथे भन्ने जनश्रुति छ ।
  • २. दरबारको २० मिटर पूर्वतर्फ चौताराकै आकारको सानो पोखरी जस्तो खाल्डो रहेको छ । यो खाल्डोलाई ढुंगाको सुख्खा गाह«ोले नै घेरिएको छ । डाँडामा रहेको उक्त खाल्टोमा दरबारको चौतारामा सजाय तोकिएका अपराधीहरुलाई थुन्ने गरी खाल्डोमा राखिन्थ्यो र कायल भएपछि भर्याङ लगाई निकालिन्थ्यो  ।
  • ३. हिलिहाङ दरबारको उत्तरपूर्व करीब १५ मिटरमा एउटा ठूलो ढुंगा छ । जसमाथि ५ वटा ओखल आकारका प्वालहरु रहेका छन् । उक्त ओखलमा याङरुप थुमका रैतिहरुले जम्मा गरेको अन्न कुट्ने गरिन्थ्यो । उक्त ओखलको फेदीमा चार जनासम्म अटिने गुफा रहेको छ । जहाँ टाँड परेको ठाउँलाई ठाडा ढुंगाहरुले घेरी राखिएको छ  । उक्त गुफा जस्तो कोठामा जघन्य अपराधीलाई थुन्ने गरिन्थ्यो ।
  • ४. यो एक प्रकारको ओखलढुंगाको छेउमा केही दशक अघि बनेको एउटा घर छ । यो घर साधारण १ कोठे माटोको जोडाइमा ढुंगाले बनेको छ । यो घर पुरानो ढुंगाको अवशेष माथि बनेको छ । यसभित्र करिब १’×१’×५’’ साइजको ढुंगामा देवनागरी लिपिमा ‘संवत १८९४ फागुन महिना ….बनाएको’ भनी पढ्न सकिने शिलालेख रहेको छ ।
  • ५.  यस घरको दक्षिणतर्फ पुरानो खालको नपोलेको इटाको थुप्रो देखिन्छ । हाल चलनचल्तीको भन्दा भिन्न साइजको यस भग्नावशेषमा पातला,े बांगोटिंगो (लहर आकारको) इटा पनि पाइन्छ । मल्ल कालमा भक्तपुरतिर बन्ने खालको इँटा देखिएकोले शाह राजासँग हिलिहाङ राजाको सम्बन्ध सुदृढ भएको बेला काठमाडौं उपत्यकाबाट खटिएका मिस्त्रीहरुले यहाँ निर्माण कार्य गरेका थिए कि भन्ने अनुमान गर्न सकिन्छ । दरबार क्षेत्रको मध्य भागको दक्षिणतर्फको पटाङगिनीमा राजा हिलिहाङका सेनाहरु बस्ने गर्दथे । दरबारको सबैभन्दा पूर्व ढुंगाको पर्खालभित्र सानो मन्दिर देखिन्छ । यो प्राचीन मन्दिरमा एउटा सम्बत् १८९३ अंकित तरबार हाल सालपनि रहेको यथावत नै रहेको छ ।  यो तरबार अलपत्र अवस्थामा रहेको छ । यो जहिले पनि हराउन सक्ने सम्भावना भने उक्तिकै छ । पुरातात्विक महत्व यो स्थानलाई  उत्खनन थप अध्ययन अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
हिलीहाङ दरबारमा रहेको तरबार ।

पर्यटकीय महत्व

मेचीको पर्यटकीय दृष्टिकोणले धेरै सम्भावनायुक्त क्षेत्र हो । झापाको किचकबध, अर्जुनधारा, इलामको सानो पाथिभरा, कन्याम, अन्तु, सन्दकपुर, माईपोखरी,छिन्तापु, माङमालुङ, फुङसेन,सेहोनाम्लाङ, पाँचथरको सिलौटी, जोरपोखरी, गोपेटार, ताप्लेजुङको पाथिभरा, कञ्चनजंघा पदमार्ग आदि प्रसिद्ध छन् । यिनीहरुलाई विभिन्न संयोजनमा समावेश गरी पर्यटन सर्किटहरु बनाउन सकिन्छ ।हिलिहाङ दरबार क्षेत्र पाँचथर र ताप्लेजुङ जिल्लाको सदरमुकामहरुको बीच भागमा रमणीय उच्च पहाडी थुम्कोमा अवस्थित छ ।

गोपेटारबाट ५ कि.मि. र राजमार्गबाट ३ कि.मि. मोटरबाटोबाट पुग्न सकिने भएकोले यसको पर्यटकीय सम्भावना बढेको हो । त्यसका अतिरिक्त नजिकैको जोरपोखरी र दरबारको संयोजनले पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न सक्दछ । यसको लागि नजिकमा बजार तथा बस्तीहरुमा पर्यटकीय पूर्वाधारको विकास गरी स्थानिय समुदायका आर्थिक क्षेत्रमा थप सहयोग पुग्ने सम्भावना उत्तिकै छ । हिलिहाङ दरबार पुरातात्विक दृष्टिकोणले संवेदनशिल भएकोले यस पर्यटकीय विकास गर्दा पर्याप्त सावधानी अपनाउन आवश्यक देखिन्छ । दरबारको थप विकासको लागि यी क्षेत्रहरु विभाजन निम्नानुसार गर्नुपर्ने देखिन्छ ।

हिलीहाङ दरबारको शिलिलेख ।

१. ऐतिहासिक, पुरातात्विक क्षेत्र

दरबारको क्षेत्रका बाटाहरुले घेरिएको क्षेत्रलाई ऐतिहासिक,, पुरातात्विक क्षेत्र मानी केवल संरक्षण गर्ने, उत्खनन आदि गरी सम्पदाको रुपमा विकास गर्न सकिन्छ ।

२. दरबार विकास क्षेत्र

पुरातात्विक क्षेत्र भन्दा बाहिर अमरपुर जाने बाटो हस्तपुर गाउँ जाने बाटोको चोकदेखि पश्चिम दरबारको चौतारीसम्म र सोको दाँयाबाँया ५०/५० मिटरको क्षेत्रलाई विकास क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यहाँ माथि उल्लेखित दोबाटोसम्म गाडी प्रवेश गर्न दिने, सबै प्रकारको सवारीसाधन यही पार्किङ गर्ने र यहाँबाट दरबारसम्मका सबै बाटो सुख्खा ढुंगा छापी सिढीको रुपमा विकास गर्न  सकिन्छ  । मनोरञ्जन क्षेत्रमा टेवा पर्खाल लगाउने, वनभोजको लागि टहरा निर्माण, खानेपानी, शौचालयको व्यवस्था गर्न पनि आवश्यक छ ।

३. मनोरञ्जन क्षेत्र

दरबार क्षेत्रबाट पूर्व र पश्चिमको थुम्कीहरु विशेष रुपले रमणीय छन् । यहाँबाट प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । वनभोजका लागि साधारण टहराहरु निर्माण गर्न सकिन्छ । धरातलीय क्षेत्र भिरालो भएकोले दक्षिणतिर ठाउँ ठाउँमा न्यूनतम डिलहरु कटिङ गरी मिलाउनु पर्ने देखिन्छ भने पश्चिमी क्षेत्रको उत्तरी पाटो ज्यादै भिरालो (भीर) भएकोले बार लगाउनु आवश्यक देखिन्छ । नजिकको थर्पु बजारइलाकालाई संरक्षण तथा विकास गरी हिलिहाङ दरबार पर्यटन क्षेत्रको परिपूरकको रुपमा विकास गर्न सकिन्छ ।

sanilam82@gmail.com

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here