संघीय समाजवादी फोरमको महाधिवेशन वैशाख अन्तिम साता मात्रै !

शनिबार केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं :  सङ्घीय समाजवादी फोरम, नेपालको महाधिवेशन तीन महिनापछि धकेलिने भएको छ । यसअघि छैटौं केन्द्रीय समितिको बैठकले माघ २७, २८ र २९ गतेका लागि तोकेको महाधिवेशन आगामी वर्षको वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरिएको छ ।

काठमाडौं तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको ससफो नेपाल राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८ र २९ गतेका लागि प्रस्ताव गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेशन वैशाखमा गर्नका लागि प्रस्ताव राखेका थिए । महाधिवेशनका साथै अन्य राजनीतिक विषयहरूमा निर्णय गर्न राजनीतिक समितिले मंसिरको २२ गते ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनका साथै सरकारमा पार्टीको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण लगायतका एजेण्डा राजनीतिक समितिले तय गरेको ससफो नेपाल स्रोतले जनाएको छ ।

राजनीतिक समितिको बैठकमा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार