९ लाख बढीको सहायक सामाग्री वितरण तथा सम्मान

  सुजता सुनुवार
0 Shares

इलाम : शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ९ लाख भन्दा बढी मूल्य बराबरको सहायक सामाग्री वितरण गर्नुका साथै सम्मान समेत गरिएको छ ।

मंगलबार इलाममा ‘मलाई गणना गर, समावेश गर’ भन्ने मूल नाराका साथ २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा उनीहरुलाई सम्मान गर्दै सहायक सामाग्री समेत वितरण गरिएको हो । दिवशको सन्दर्भ पारेर जिल्लाका ४३ जना अपाङ्गता भएका व्यक्तिलाई नौ लाख ३४ हजार आठ सय मूल्य बराबरको सामाग्री वितरण गर्नुका साथै सम्मान समेत गरिएको करुणा फाउण्डेसन इलामका प्रदिप अधिकारीले बताए ।

जसमा ४० जनालाई सामाग्री वितरण गरिएको छ भने अन्य तीन जनालाई सफल उद्यमीका रुपमा सम्मान गरिएको छ । अपाङ्गता भएर पनि सफल उद्यमी बनेर सम्मानित हुनेहरुमा इलामनगरपालिका वडा नम्बर १० का कमल राई, सोही नगर वडा नम्बर ९ का भक्तबहादुर राई र इलामनगरपालिकाकै वडा नम्बर ३ का दिपेन्द्र खत्रीलाई उत्कृष्ट उद्यमीका रुपमा नगद ३÷३ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

अपाङ्गताका क्षेत्रमा काम गरिरहेको सस्था करुणा फाउण्डेशन इलामका अनुसार आठ लाख रुपैंयाँ बराबरको ह्विल चेयर १० जनालाई वितरण गरिएको छ । त्यस्तै ९६ हजार मूल्य बराबरको हेयरीङ्ग एड १२ जनालाई, १२ हजार रुपैंयाँ बराबरको ट्वाइलेट चेयर चार जनालाई वितरण गरिएको छ भने एक हजार छ सयको एक जनालाई सेतो छडी र एक हजार दुई सयको एक जनालाई वैशाखी दिइएको छ ।

यसैगरी अमर मावि बरबोटेमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको र इलामनगरपालिकाले वडा नम्बर ७ स्थित बालमन्दिरमा रहेका दृष्टिविहिन १२ जना विद्यार्थीलाई १५ हजार मूल्य बराबरको ब्रेल पेपर समेत उपलब्ध गराएको छ । इलामनगरपालिकाको आयोजना तथा करुणा फाउण्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गरी फाउण्डेशन र नगरको साझेदारीमा सामाग्री वितरण साथै सम्मान समेत गरिएको हो ।

जिल्लामा चार हजार पाँच सयको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउण्डेशनको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार