अलबिदा स्मारिका

  गोपाल निरौला  418 पटक हेरिएको

फेसबुकमा एउटा म्यासेज आयो । हेल्लो । अपरिचित मान्छेबाट आएको म्यासेज देखेपछि उसको प्रोफाइल हेंरे । सुन्दर युवती रहेछिन् । लिभ्स इन काठमान्डौ, उसलाई करीब ५००० ले फलो गरेका रहेछन् । अलमलमा परे, यो केटीले मलाई कसरी म्यासेज गरी । अक्सर केटीले नचिनेको केटालाई म्यासेज गर्दैनन । जिन्स पेन्ट, रातो टिसर्ट अनि टाउकोमा रातो चस्मा लाएको प्रोफाइल पिक्चर । मनमनै कतै फेक आइडीबाट कसैले मेरो दिमाग चाट्न खोज्दैछकी भन्ने नलागेको पनि हैन । म्यासेजको रिप्लाई नगरी फ्रेन्ड रिक्वेष्ट पठाए । तीनघण्टा पछि रिक्वेष्ट एक्सेप्ट भयो । पुन ः प्रोफाइल हेरे स्मारिका क्षेत्री । रिलेसनसिप सिंङ्गल । बायो जीवनमा केही गर्नु छ । अनगिन्ती फोटा, हेर्दै जादा मानौ उ कुनै फिल्मकी हिरोइन हो । कुनै फोटामा उ पोखरामा छे । कुनै फोटामा मुस्ताङ । प्राय सबै फोटा सिंङगल छन । प्रत्येक फोटामा सयौं केटाका कमेन्ट थिए । मन मनै सोचे कति धेरै केटा साथी,फेरी अर्को मनले भन्यो यती राम्री छे, केटाहरु त हुन् कमेन्ट गरी हाल्छन् नि । उसको हाइ म्यासेजमा मैले थपेर पठाए हाइ,चिन्न सकिएन नि ? केही मिनेटको अन्तरालमा उसको रिप्लाई आयो । ए ठिकै छ त । अब चिनजान भइहाल्छ नि । अब के म्यासेज गर्ने म थोरै सोच्न वाध्य भए । फेरी उस्को म्यासेज आयो ,तपाइको घर इलाम है ?

हो त कसरी थाहा भयो ? खासमा उसले केकी अधिकारीको फोटोमा गरेको कमेन्ट देखेर म्यासेज गरेकी रहेछ । तपाईं इलामको मलाई इलाम कत्ती धेरै मन पर्छ । मैले भने ठिकै छ त कुनै दिन समयले पुरयाउला नि । हाँस्दै उसले भनी खै हेरम् ! उ सँग मेरो दिनहुँ कुराकानी हुन थाल्यो । खासमा उ १२ बर्ष पहिले बुटबलबाट काठमाण्डौ आएकी रहिछिन् । बुटवलको गाउँमा उसको घर । घरमा बाबुले रक्सी खाएर दिनहुँ आमालाई पिट्दा रहेछन । बाबुलाई छाडेर आमाले २ छोरा र १ छोरीलाई काखमा च्यापेर काठमाण्डौ ल्याएकी रहेछिन । उसले भन्थी ‘बुवाको रक्सी पिउने नशाले आमाले हामीलाई सानैमा काठमाण्डौ लिएर आउनुभयो । इटा भट्टीमा काम गरेर हामीलाई पढाउनु भयो ।अहिले २ दाई जब गर्छन् ।म पढ्दै छु ।

’स्मारिकाको स्थानिय कलेजमा प्लस टु अध्ययन ।बिहान कलेज जाने दिउसो घर मै रहने ।प्राय उ अनलाइन मै हुन्थी ।उसका सुखका स्टाटस हुन्थे ।हाम्रो कुराकानी फेसबुकमा मात्र सिमित भएन ।हामी बिच मोबाएल नम्बर एक आपसमा सेयर भयो ।केटिले आफ्नु मोबाएल नम्बर सजिलै केटालाई दिदैनन ।उसले मलाई नम्बर दिनमा कुनै कन्जुस्याइ गरिन ।मन मनै सोचे कस्ती केटी हो यो ।केही नभनी सरक्कै नम्बर दिने ।काठमाण्डौमा हुर्किएकी केटी नम्बर दिनु कुन ठुलो कुरा भयो र,मेरो सोचाइ नै साघुरो पो होकी एक दिन उसले सोधी – इमो छैन ? तत्कालै इमो डाउनलोड गरें । त्यसपछी हामी इमोमा जोडीयौ । भिडियो कल सुरु भयो हामी बिचमा । फोटोमा भन्दा सुन्दर देखिन्थी । हल्का गाजल, रातो लिपिस्टिक, कर्ली कपाल । उसलाई देख्ने बितिकै मेरो ढुकुढुकी एकाएक बढ्यो । अब के बोल्ने भनेर । मैले भन्दा पनि उसले धेरै प्रश्न गरी रहन्थी ।धेरै प्रश्न बिच एउटा प्रश्न थियो उनको । तिम्रो गर्ल फ्रेन्ड छ ? मैले छैन भन्न नपाउदै उसले भनी–हामी बिवाह गर्न सक्छौ ?

म गाउँमा हुर्केको,उ शहरमा हुर्किएकी ।उसको बोलाई,फेसबुकका हरेक क्रियाकलाप देख्दा लाग्थ्यो उसमा कत्ती पनि दुःखको अनुभव छैन । उसको प्रस्ताबले म अलमलमा परे । तर पनि म उसलाई नजिकबाट बुझ्ने प्रयास गर्दै थिए । कसैले भनेको सुनेको थिँए, एक ब्यबहारीक पुरुषको लागि अनेक दुःख सुख बुझ्न सक्ने श्रीमती करोडौको सम्पत्ती हो । बिवाहको प्रस्ताब जति सहज थियो उत्तर दिन गाह्रो थियो । मलाई यो पनि थाहा नभएको हैन कि,फेसबुकमा देखेकै भरमा जिन्दगी सोचे जस्तो कहाँ हुन्छ र ? उसले भनेको एउटा कुरा चै मनमा सधैं सम्झिरहन्थे । आमाले हामीलाई हुर्काउन धेरै दुस्ख गर्नुभयो । उहाँको लागि मैले केही गर्नु छ । उ प्लस टु सकेर जापान जान चाहान्थि । सगैँका साथी जापान पुगेर पैसा कमाएको सुनाउथि । काठमाण्डौमा एउटा घर बनाउनु उसको सपना थियो । महिना मर्ने बित्तीकै पैसा ढिला हुँदा घर बेटीले गरेको बैजतले उसमा इख थियो । हामी बीच बाक्लै कुराकानी हुँदै थियो । उनको प्रस्ताबको उत्तर भने दिन सकिरहेको थिइन । केही दिनको अन्तरालमा उ फेसबुकबाट एकाएक हराइ ्, प्राय १२ घण्टा अनलाइनमै हुन्थी । फोन अफ थियो । उसको प्रोफाइलमा गएर पटक पटक हेर्थे, कतै फेसबुक खोली कि भनेर, अह ःउ छैन । सातदिन पछि उ अनलाइनमा आइ । मेरो म्यासेज पेन्डिङ मै छ, कुनै रिप्लाई दिएकी छैन । मैले पुन ः हाई गरे । बल्ल एउटा म्यासेज आयो । केछ खबर ? मत अब विवाह गर्न लागे है साथी । मलाई विश्वाश लागेन । तैपनी सोधें–साच्ची?अनी कैले ? तर उसको रिप्लाई आएन । केही बेर पर्खे तर आएन । रिस उठ्यो, फेसबुक लग आउट गर्दिए । भोलीपल्ट फेरी फेसबुक खोले अनी सिधै स्मारिक लेखेर सर्च गरे । कतै म्यासेज गरी कि भनेर । ३ घण्टा अघि एउटा फोटो अप्लोड गरिएको रैछ इन्गेजमेन्टको । लेखिएको थियो ‘माई डियर’ । करीब ११ सय साथीले शुभकामना दिएका थिए, मैले पनि शुभकामना नलेखी बस्न सकिन । सधैं कमेन्टमा रिप्लाई गर्थी तर यसपटक उसले रिप्लाई त के लाइक पनि गरिन । कता कता खल्लो लाग्यो । १५ दिनपछि उसको विवाह भयो । फेसबुकमा राखेको तस्बीर देख्दा यस्तो लाग्थ्यो,उसको कुनै राजखान्दानको केटासँग विवाह हुँदै छ । बेहुला बेहुलीको लागि प्राडो थियो । दौरा सुरुवालमा सजिएको बेहुला आफैले प्राडो हाँकेको तस्बीरमा देख्न सकिन्थ्यो । स्मारिका गरगहनाले धपक्कै बलेकी देखिन्थी । सम्झिए कती भाग्यमानी, खानदानी केटो पाइ । म सँग बिवाह गरेकी भए दुख मात्र पाउथी ।

समय बित्तै गयो । उसँगको म्यासेज, कुराकानी सपना झै लाग्थ्यो । आक्कल झुक्कल अनलाइन आउथी । मैले गरेका म्यासेज पेन्डिङ मै थिए । उसले देखेर या नदेखेर । म सँग उ जसरी एकाएक नजिक भई, त्यसरी नै उ एकाएक टाढा भई । बेला बेलामा फोटो पोस्ट गर्दै रहन्थी । बुढाबुढी कहिले लुम्बिनी, कहिले पोखरा पुगेका हुन्थे । तस्बिर देख्दा यस्तो लाग्थ्यो दुबै जना एक अर्काको मायामा डुबेका छन । ६महिना पछि स्मारिकाले एउटा स्टाटस पोस्ट गरी । सोचे जस्तो हुन्न जीवन । मैले खासै वास्ता गरिन । उसँग मेरो बोलचाल करीब बन्द भईसकेको थियो । एकदिन साँझपख फेसबुक चलाउदै थिए । स्मारिकको वालमा एकाएक एउटा पोस्ट देखें । जहाँ एक केटीले अलबिदा स्मारिका, वि मिस यु लेखेकी थिइन् । म छागाँबाट खसे झै भए । स्मारिकाको तस्बिरमा हजारौको मुस्कान प्रस्टै देख्न सकिन्थ्यो । तर उस्को मृत्यु मेरा लागि पत्यार थिएन । उस्को प्रोफाइल हेरे जहाँ सयौको श्रद्धाञ्जली मात्र थिए । कयौ पटक सोचे कसरी स्मारिकाको मृत्यु भयो । उ सँगको कुराकानी, उसका हरेक स्टाटस, फोटा, मेरा आँखामा झलझली नाचिरहेका थिए । केही दिनपछी थाहा पाए स्मारिकाले आत्महत्या गरिछे । आफ्नै घरको कोठामा झुन्डिएर । किन स्मारिकाले सुसाइड गरी ? बुझ्दै जादा थाहा भयो श्रीमानको टर्चर सहन नसकेर उ सदाको लागि यो संसारबाट बिदा भई । खासमा आयुष खान्दानी परिवारको केटा । स्मारिकाको हरेक कुरालाई शंकाले हेर्ने । स्मारिकाको फेसबुकमा गरिएका कमेन्टमा समेत आयुषले बिबाद गर्दथ्यो । मोबाइमा आउने कलमा समेत आयुषको निगरानी हुन्थ्यो । स्मारिकाले सुसाइट नोटमा लेखेकी थिइ पलपल मरेर बाँच्नु भन्दा सदाको लागि मर्नु नै बेश । बिवाह गर्दा स्मारिका केवल २० बर्षकी थिइ । उ चराझै खुल्ला आकाशमा उडेर रम्ने प्रबित्तिकी थिइ । पैसा कमाएर आमाको लागि केही गर्न चाहन्थी । बिवाह पछी उसको जिन्दगी एकाएक एउटा घरको कोठामा बन्देज हुन पुग्यो । खान्दानी परिवार, पैसावाल केटो तर स्मारिकाको लागि त्यो सबै बेकार साबित भयो । र अन्तत ः उसले मृत्युको बाटोलाई अँगाली । स्मारिका मरेर गइ । उसको एउटा सपना सपनामै सिमित भयो । उसले पटक पटक भन्ने गर्थी आमाको लागि केही गर्नु छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार