किरात धर्मगुरु लिङदेनको ६५ औं जन्मोत्सव भव्य रुपमा मनाईयो (फोटोफिचर सहित)

‘माङसेबुङ प्रदेश सरकारको उच्च प्राथमिकतामा’: मुख्यमन्त्री राई

  राम योङहाङ  1066 पटक हेरिएको

इलामको माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको ६५ औं जन्मोत्सवको आवसरमा आयोजित कार्यक्रमबीच दिप प्रज्वोलन गरेर उद्घाटन गर्दै प्रदेश १ का मूख्यमन्त्री शेरधन राई ।

इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको माङसेबुङ क्षेत्रलाई नेपालको एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री राईले पृथक विशेषताको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थल बनाउन संघीय र प्रदेश सरकार लागिपरेको बताए ।

धार्मिक पर्यटकीय क्षेत्र बनाउन सबै क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले गुरुयोजना निर्माण गरी योजनाको माग आए कार्यान्वयनका लागि सरकार तयार रहेको प्रतिवद्धता जनाए । ‘यस क्षेत्रको मुख्य समस्या दमक रवि सडक हो । त्यसका लागि आगामी ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी संघीय सरकारबाट २ अर्ब ३० करोड रकमको व्यवस्था भईसकेको छ’ मुख्यमन्त्री राईले भने, ‘किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई समृद्ध बनाउन बजेट व्यवस्थापनका लागि प्रदेश सरकार तयार छ ।’

सम्बोधनका क्रममा मुख्यमन्त्री राईले राष्टिय विभूति महागुर फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनको लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां समेत गरे । ‘किरातीहरुको सुधारका लागि महागुरु र वर्तमान गुरुहरुको योगदान अतुलनीय छ’ मुख्य मन्त्री राईले भने, ‘उहाँहरुले देखाउनुभएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हनेछ ।’

मुख्यमन्त्री राईले सबै भाषा, सबै धर्म र सबै सम्प्रदायको उचित सम्मान र संरक्षण गर्न सकेमात्र समृद्ध नेपाल निर्माण हुने बताउँदै सरकारको तर्फबाट धार्मिक आधारमा कसैलाई विभेद नगरिने स्पष्ट पारेका थिए ।

कार्यक्रमलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम), नेपाली कांग्रेसका मुख्य सचेतक कोदार कार्की, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोलगायतले सम्बोधन गर्दै समृद्ध राष्ट निर्माणका लागि सबै धर्मावलम्बीहरु एक भएर अगाडि बढ्न सुझाव दिका थिए ।

कार्यक्रममा जन्मोत्सवको अवसरमा संचालित खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री राईद्वारा पुरस्कार वितरणसँगै विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा आत्मानन्द लिङदेन ‘सेइङ’ बट आर्शीवचन प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण), रामबहादुर मगरसहित विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिभिहरुको सहभागिता थियो । जन्मोत्सवमा सहभागि हुन भारत, भुटान, अमेरीका, बर्मा, बेलायतबाट समेत ठूलो संख्यामा किरात धर्मालम्वीका साथी अन्य धर्मका अनुयायी पनि उपस्थित भएका थिए ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा  अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने संचालन महासचवि काकीराम लावती (आन्छुमे नसान) र सचिव समिता थेवेले गरेको थिए ।

जन्मोत्सवको अवसरमा १९ गते साहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । यसैगरी मंसीर २० गते माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन हुनेछ ।

माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।

धर्मगुरुकै पहलमा धुम्रपान मध्यपान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउ“पालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागु औषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा गरिएको छ । यस क्षेत्रमा पशु बध पनि निषेध छ ।

इलाम सदरमुकामबाट ५० किलोमिटर पश्चिम दक्षिणमा रहेको माङसेबुङमा गुरुको आश्रयमा हजारौं बसेका छन् । २०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यहा“ पुगेस“गै राष्ट्रका विशिष्ट व्यक्ति आउने क्रम सुरु भएको हो ।

करिव ११ हजार जनसंख्या भएको त्यस क्षेत्रमा सडक, शिक्षा, संचार, स्वास्थ्य जस्ता अत्यावश्यक पुर्वाधार निर्माण हुन नसक्दा जनजीवन अझै कष्टकर छ । २०३४ देखि लिङदेन लारुम्बामा बसोबास गर्दै आएका हुन् । २०५० पछि विभिन्न क्षेत्रवाट धर्मालम्बीहरु स्थायीरुपमा आउने क्रम बढेको हो ।

धर्मको नाममा गरिने वलीप्रथा, सूर्तीजन्य र माधक पदार्थको सेवन निषेध हुनु पर्ने गुरुको मान्यता अनुसार यस धर्मका अनुयायी पनि वढ्दै गएका छन् । धर्मगुरुको प्रयासकै कारण किरा“त भाषा, साहित्य, सस्कृति र लिपी संरक्षणको यात्राले गति लिएको अनुयायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार