झोलादेखि उद्योगसम्म : उषा निरौलाको संघर्ष

  सृजना श्रेष्ठ  151 पटक हेरिएको

इलाम : दिउँसोेको ३ बजिसकेको थियो । म हतार गदै थिए एक जना त्यस्तो महिलालाई भेट्न जानु थियो । जो धेरै महिलाहरुको आत्मानिर्भर, स्वरोजकार बन्नुको कारण मात्र नभएर एउटा त्यस्तो व्यक्ति जस्ले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । तर पढेलेखेका व्यक्तिले सरकारी जागिर नै खानुपर्छ भन्ने कुरालाई कहिले विश्वास गरिनन् । विस्तारै गन्तव्यतिर लागियो ।

इलाम बजारबाट करिब १५ मिनेटको पैदल यात्रापछि पुगियो इलामको धोवीधारामा रहेको इलाम अदुवा प्रसोधन उद्योगमा । अनि त्यहाँ भेटिन् हँसिली उषादेवी निरौलालाई । देख्नेवित्तिकै नमस्कारको साथमा मैले आफ्नो परिचय दिएँ र भने ‘विहान फोन गरेको थिए नि भेट्नु छ भनेर’ यति भनिसक्दा उषाले ओठमा मुस्कानको साथ भनिन् ‘हजुर एकैछिन है थोरै काम छ । त्यसपछि बसेर कुरा गरौला ।’ मैले पनि मौन स्वीकृति दिएँ र यताउति नजर घुमाउन थाले त्यहाँ मैले ठूलाठूला केही मेसिन देखेँ । केही पानीको ट्याङकी पनि । मनमा प्रश्न उठिरहेको थियो तर एकैछिनमा मैले मेरो प्रश्नको उत्तर पाउनेछु भनेर ढुक्क पनि थिए ।

केही समयको पर्खाइ पछि काम लगभग सकियो । उहाँको उद्योगमा काम गर्नुहुने ३ जना महिला विदा लिन लाग्दा मैले एकछिन भनेर रोके र उहाँहरुसँग उद्योग, काम अनि उषाको बारेमा सोधेँ । तीमध्ये बन्दना सुवेदी (सन्दकपुर गाउँपालिका ३) र टिका दाहाल (देउमाई नगरपालिका ६) इलामको महेन्द« रत्न बहुमुखी क्यापसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत रहेछन् ।

विहान क्याम्पस अनि दिउँसो अदुवा प्रसोधनमा काम । मैले सोधे ‘यसले पढाइमा असर गदैन ?’ उनीहरुले एकै स्वरमा भने ‘विहान क्याम्पास, दिउँसो काम अनि बेलुका पढाइ । काम गर्न थालेपछि पढाइमा थप सहयोग मिलेको, मन लागेको खाना, लाउन अनि मन लागेको ठाउँ जान कसैको मुख ताक्नु परेको छैन ।’ त्यस्तै भूमिका गौतम (देउमाइ नगरपालिका ६) आफू ८ महिनादेखि काम गरिरहेको विहान बच्चालाई स्कूल पठाएपछिको फुर्सदको समयमा गफ पनि हुने काम पनि हुने अनि आफूले चाहेको गर्न र बच्चालाइ खाजा र स्कूलको फि तिर्न पनि सहयोग पुगेको बताइन् ।

अब भने उषा अनि मेरो गफ शुरु भयो । मैले साधेँ ‘स्नातकोत्तर गरेको मान्छे, सामाजिक जिम्मेवारी बोकीरहेको मान्छे, किनारा पसल चलाईरहको मान्छे । हैन कसरी अदुवाको प्रसोधन उद्योग खोल्ने विचार आयो ?’ मेरो प्रश्न सकिन नपाउँदै भनिन्, ‘समाचारमा भारतको बजारमा निर्भर इलामको कृषकको अदुवा बारम्बार भाउ नआएको कारण अदुवाहरु कुहिएको, बिग्रिएको सुन्दा, देख्दा अदुवा किसान दाजुभाई दिदिबहिनीको लागि त्यस्तो केही गर्न इच्छा जागेको, अदुवाको पाना धेरै दिन नरहेपनि यसको अन्य सामग्री बनाए अलिक समय रहन्थ्यो र यसले कृषकहरुलाई केही राहत हुनेथियो भन्ने सोच मनमा आइरहेको बेला संयोग पनि मिलेको थियो ।’

उहीबेला नै उद्योग वाणिज्य संघ इलामले (२०६७) मा दिएको ७ दिने अदुवाको क्याण्डी तथा अचार बनाउने तालिम लिएपछि उषाले पछाडी फर्केर हेर्नु परेन् । तर त्यति सजिलो पनि थिएन । विस्तारै आफूले सिकेको सीप उपयोग गर्न सबै सामाजिक जिम्मेवारीबाट टाढा रहँदै आफूसँग भएको किनारा पसल ५० हजारमा बेचेर अब भने उषाले अर्जुन दृष्टि लगाइन् अदुवाको विभिन्न सामग्री बनाउन । उनी भन्दै गइन म सुन्दै गएँ । बीचबीचमा मेरो प्रश्न त थिँदै थियो । फेरी मैले प्रश्न गरे, शुरुवातमा कसरी आफुले उत्पादन गरेको सामग्री बजारमा पुराउनुहुन्थो ? विगतलाई सम्झिन्दा थोरै भावुक हुँदै भनिन् ‘कतै कार्यक्रममा जाँदा आफूसँगै झोलामा ७÷८ वटा पोका लिएर जान्थे । समय मिल्नसाथ चखाउन अघि सर्थे ।’

त्यतिखेर अदुवाको प्रसोधन उद्योग दर्ता गर्न लागेको बताउँदा धेरैले उनको खिल्ली उडाए, लगानी नउठ्ने कुरा गरे, अहिले उद्योग दर्ता नगर्न पनि उनलाई सुझाव दिए । उनलाई यी कुराहरुले कुनै प्रभाव पारेन । तर एक जनाको भनाई भने उषा आज पनि सम्झिन्छिन् । महेन्द« रत्न बहुमुखी क्याम्पस इलामको सहप्राध्यापक डाक्टर निरसिंह खत्री जसलाई उनले एउटा कार्यक्रमको निमन्त्रणा गर्ने क्रममा आफूले अदुवा प्रसोधन उद्योग खोल्न लागेको बताउँदा ‘तपाई पहिलो हो सधैं पहिलो नै रहनुहुनेछ । अगाडी बढ्नु सफलता प्राप्त हुनेछ ।’ यो कुराले आज पनि प्रेरणा दिने उषाले बताइन् । अन्तत उनले २०७० मा उद्योग दर्ता गरिन् घरेलु तथा साना उद्योग विकास समितिमा ।
तर यतिमा उनको संर्घष सकिएको थिएन । बेच्ने कसरी ? कुनै कार्यक्रममा जाँदा झोलामा केही पोका बोकेर जान्थिन् तर त्यतिले मात्र उनको व्यवसाय अघि बढेन कार्यक्रममा चखाकाहरुले कतै खोज्छन् कि भनेर केही इलामका कोसेली घरमा केही पोका दिइन् तर केही समयपछि त्यो पोका जस्ताको त्यस्तै पुनः उषाको मा नै आउँथ्यो । करिब ८ महिना झोलामा लगेर सितैमा चखाएपछि नबिके फिर्ता लाने शर्तमा विभिन्न पसलमा राखिदिन आग्रह गरिन् । अब भने विस्तारै उषाको हातको जादु फैलन सुरु भयो पहिले झोलामा लगेर बाडेको अदुवाको क्याण्डी, तितौराको माग बढ्न थाल्यो । अनि सुरु भयो उषाको झोलाबाट उद्योगसम्मको यात्रा ।

संर्घषले उनलाई कहिले छोडेन । उनले पनि हाँसीहाँसी संर्घषको सामाना गरिरहिन् । अन्तत संर्घषले पनि उषाको अगाडी शिर झुकायो अनि बनायो उषालाई इलाम जिल्ला कै पहिलो अदुवा प्रसोधन उद्योगकी सञ्चालिका । उद्योग सञ्चालन गरेको ५ वर्ष बित्न लाग्दा उनले धेरै सम्मान पनि पाइसकेकी छन् । त्यो भन्दा बढि सबैको स्वादमा बसेकी छिन् । ५० हजारबाट शुरु गरेको व्यवसाय अहिले ६० लाखको भएको छ ।

अहिले महिनाको ४ लाख ५० हजार आम्दानी हुन्छ । त्यसमा १ लाख खुद नाफा हुने उनले बताइन् । अहिले अर्गानिक अदुवाको क्याण्डी, तितौरा, अचार मात्र नभएर मुरबा, इस्क्वास, वेलको जुस, आरुचाको जाम, तामाको अचार, कागतीको अचार, अकबरेको अचार, अकबरे पेस्ट, तथा अमला र लप्सीको परिकारहरु उत्पादन गर्ने र इलाम, झापा, विराटनगर तथा काठमाडांैमा निर्यात गरिरहेको बताइन् । उनी एक सुरमा आफ्रनो संर्घष र उपलब्धि सुनाउँदै थिइन् । म भने उनको कुरा नतमस्तक भएर सुनीरहेको थिए ।

एक चोटी स्वाद लिइसकेको मान्छे दोहोराएर आउने गरको बताउँदै उषाले बजारमा माग भएको करिब ८० प्रतिशत पुरा गर्न सफल भएको बताउँदै कहिलेकाही मौसमको खराबीले गर्दा शतप्रतिशत माग पुरा गर्न नसक्ने चुनौती रहेको बताइन् । यसपालि भने धेरै किसानको अदुवाको विउ मरेको कारण उत्पादनमा कमी आउन सक्ने साथै आवश्यक अदुवा इलामबाहिरबाट ल्यानुपर्ने हुन सक्ने कुरा बताउँदा उनको अनुहारमा चिन्ता प्रस्ट देख्न सकिन्थो । तर फेरी उनले उही हँसिलो अनुहार लिएर भनिन्, ‘फेरी राम्रो खालको विउ लिएर किसान समक्ष जानेछु ।’ उनको उद्योगमा महिनामा २ हजार केजी अदुवा प्रसोधन हुन्छ । जुन उनी साविक ईलाम नगरपालिका भित्र, सोयाङ, नामसालिङका कृषकबाट अदुवा लिने गर्छिन् ।

अहिले उषाको उद्योगमा ४ जना महिलाले रोजगार पाएका छन् । साथै उन्नति परियोजनाको सहयोगमा उनको उद्योगमा १८ लाखको मेशिनरी सामान छ । जस्मा अदुवा तास्ने, धुने, टुक्रा बनाउने, भण्डारण गर्ने अनि सुख्खा बनाउने रहेको छ । जसमा उन्नतिको ९ लाख र उषाको ९ लाख लगानी रहेको छ ।

भाडाँको कोठाबाट सुरु भएको उनको उद्योग अहिले जमिन लिजमा (भाडा) र भौतिक पूर्वाधार आफ्नो छ । अहिले भएको ठाँउ पनि साँघुरो भएको महसुुस गदै उषाले चाडै नै उद्योग विस्तार गर्ने सोच रहको पनि बताइन् । म भने मन मनै सोचिरहेको थिए, ‘उषाको अदुवा प्रसोधन उद्योग जस्तो केही उद्योग ञ्चालन गर्न सके यसले धेरै कृषकलाई फाइनदा पुराउने थियो जस्को प्रत्यक्ष फाइदा सम्पूर्ण इलामबासीलाई हुने थियो ।’ यही कुरा सम्झिदँै उषाको हातले बनाएको रातो चिया पछि कठाङग्रिने साँझको जाडो छल्दै घरतर्फ लागे । तर बाटैभरी झोलाबाट सुरु भएको उषाको उद्योग सम्मको यात्रा मानसपटलमा बारम्बार छाइरयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार