किरात धर्मगुरु लिङदेनको जन्मोत्सवमा उपप्रधानमन्त्री यादव माङसेबुङ आउँदै

इलाम  : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव १८ मंसीरमा इलामको माङसेबुङ आउने भएका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६५ औं जन्मोत्सवमा यादव माङसेबुङ आउने भएका हुन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादव धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन पहिलोपटक माङसेबुङ आउन लागेका हुन् ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ । कार्यक्रमको तयारी तीब्र पारिएको प्रचारप्रसार उपसमितिका संयोजक सुमन लावतीले जानकरी दिए । माङसेबुङमा पत्रकार सम्मेलन आयोजना गरी उपसमितिले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जन्मोत्सवका अवसरमा मंसीरमा १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द रनिङ गोल्डकपको फाइनल संचालन, १८ गते आत्मानन्द लिङदेन ‘सेइङ’ को ६५ औं शुभजन्मोत्सव समारोह–२०७५ उद्घाटन, खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

त्यस्तै मंसीर १९ गते आत्मानन्द लिङदेन ‘सेइङ’ बाट आर्शीवचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । यसैगरी मंसीर २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको उपसमिति संयोजक लावतीले जानकारी दिए ।

माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी लगायत माङसेबुङ आइसकेका छन् ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमास्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार